काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यसअघि कायम अधिकांश व्यवस्था यथावत राखेको छ ।
राष्ट्र बैंकले अहिले पनि कोरोना प्रभाव कायमै रहेकाले नीतिमा परिवर्तन गर्दा आर्थिक क्षेत्रमा असर पर्ने भन्दै अधिकांश व्यवस्था तथा नीतिमा परिवर्तन नगरेको हो ।
राष्ट्र बैंकले सेयर धितो कर्जा, घरजग्गा, अटोलोन लगायतका कर्जाको सीमामा कुनै परिवर्तन गरेको छैन । कारोना पछि सेयर बजार र घरजग्गा नीति परिवर्तन गर्दा असर पर्ने भन्दै राष्ट्र बैंकले त्यस्तो कर्जामा तत्काल कुनै हेरफेर नगरिएको जनाएको छ ।
अर्थतन्त्र सकारात्मक दिशामा केन्द्रित भए पनि कोरोनाको असर हट्न अझै केही समय लाग्ने केन्द्रीय बैंकको ठहर छ ।
यस्ता छन् राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेका ९ व्यवस्था
१. ऋणको पुनर्तालिकीकरण : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ऋण पुनर्तालिकीकरण गर्ने सुविधा आगामी असार मसान्तसम्म थप गरेको छ ।
उद्योग व्यवसायमा कोरोनाको असर अझै कायम रहेकाले एक पटकका लागि ऋणीलाई ऋण पुनर्तालिकीकरण गर्ने सुविधा दिइएको र समयावधि विस्तार गरेर २०७८ असार मसान्तसम्म कायम गरिएको उनले बताए ।
गत पुस मसान्तसम्म सक्रिय वर्गमा रहेकालाई ५ प्रतिशत मात्रै ब्याज असुल गरी २०७८ साल असार मसान्तसम्मका लागि पुनः एक पटकका लागि ऋण पुनर्तालिकीकरण गर्ने सुविधा गरेको छ ।
२.साना जलविद्युत् आयोजनालाई विशेष कर्जा : लामो समयदेखि ऊर्जा उद्यमीले माग गर्दै आएको विशेष पुनर्कर्जाको मागलाई नेपाल राष्ट्र बैंकले सम्बोधन गरेको छ । राष्ट्र बैंकले कुल १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाले अब विशेष पुनर्कर्जा पाउने भएका छन् ।
साना जलविद्युत् आयोजनाले पुनर्कर्जा नपाएको तथा कतिपय आयोजना समस्यामा समेत परेका थिए । यसले साना जलविद्युत् आयोजनालाई विशेष सहुलियत हुने विश्वास लिइएको छ ।
३.नगद , तरलता अनुपात र बैंकदर आवश्यक परे मात्रै परिमार्जन : मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र बैंकदरलाई यथावत् राखिएको छ । कोभिड–१९ ले सिर्जना गरेको असहज परिस्थितिको समयमा यी दरहरूमा गरिएको समायोजनलाई आर्थिक क्रियाकलाप सामान्य हुदै गएसँगै पुनरावलोकन गर्ने व्यवस्था गरिने छ ।
४.आर्थिक क्रियाकलाप सहज भए मात्रै धितो मूल्य पुनरावलोकन : विभिन्न प्रयोजनका लागि ऋण धितो मूल्य अनुपात तोकी प्रवाह भएका कर्जामा कोभिडले सिर्जना गरेको असहज परिस्थितिको समयमा चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको नियामकीय सहजीकरणलाई यथावत् राखिएको छ । आर्थिक क्रियाकलाप सामान्य हुदै गएसँगै ऋण धितो मूल्य अनुपात सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने व्यवस्था गरिने छ ।
५. तोकिएका क्षेत्र र वर्गमा कर्जा प्रवाह नगर्नेलाई कारबाही : प्रवाह गर्नुपर्ने कर्जा बैंक तथा वित्तीय संस्थाले तोकिएका क्षेत्र र वर्गमा प्रवाह गर्नुपर्ने कर्जा लक्षित क्षेत्र र वर्गले प्राप्त गरे नगरेको सम्बन्धमा विशेष अनुगमन गरी उक्त ऋण दुरुपयोग गरेको पाइएमा सम्बन्धितलाई गरिने कारबाहीलाई थप प्रभावकारी बनाइने छ ।
६.विद्युतीय भुक्तानीलाई प्रोत्साहित : विद्युतीय भुक्तानी कारोबार प्रोत्साहित गर्न कारोबारको सीमामा समयानुकूल पुनरावलोकन गरिने छ ।
७. क्यूआर कोडको प्रवद्र्धन गर्न नीतिगत व्यवस्था :क्यूआर कोड लगायतका विद्युतीय कारोबारको प्रवद्र्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गरिने छ ।
८.सीएसआरको रकम वित्तीय साक्षरतामा खर्च गर्न सकिने : विद्युतीय कारोबारको प्रवद्र्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गणना गर्न सकिने व्यवस्था गरिने छ ।
९. विदेशी मुद्रा सटहीको विद्यमान सीमा परमार्जन गरिने : Documents Against Payment (DAP) / Documents Against Acceptance (DAA) सम्बन्धी व्यवस्था बमोजिम आयात गर्दा प्रदान गरिने विदेशी मुद्रा सटहीको विद्यमान सीमामा आवश्यकतानुसार पुनरावलोकन गरिने छ ।
चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्णपाठ :