काठमाडौं । सिभिल बैंकले धितो अनुगमन र लगतको लागि नयाँ प्रविधिको विकास गरेको छ । ‘सीएसभीआर’ र ‘बीएसभीआर’को प्रक्रियालाइ व्यवस्थित गर्नका लागि बैंकले यो नयाँ प्रविधिको विकास गरेको जनाएको छ । सीएसभीआर भनेको ऋणको लागि धितो राखिएको जग्गाको कोल्याटरल साइट भिजिट । बीएसभीआर भनेको बिजनेश साइट भिजिट हो ।
अहिले नेपालको बैंकिङ क्षेत्रमा धितो मूल्याङ्कन र अनुगमन प्रक्रिया चुस्त दुरुस्त नहुँदा गम्भीर समस्याहरू देखिने गरेको छ । ऋण फाइलमा उच्च अधिकारीहरूले समेत हस्ताक्षर गर्नुपर्ने तर उनीहरू व्यक्तिगत रुपमै सबै ठाउँमा साइट भिजिटमा जान नसक्ने हुनाले उनीहरू समेत गम्भीर जोखिममा पर्दै आएका छन् । बैंक अफ काठमाडौंका पूर्व सीईओ यस्तो समस्याका कारण प्रहरीको फन्दामा समेत परेका थिए ।
धितो साइटको लोकेशन, बैंकको शाखा कार्यालयबाट साइटको दूरी लगायत सबै तथ्याङ्क सबै उच्च अधिकारीहरूको समेत सहज पहुँचमा हुन्छ । र, यसो हुँदा भौतिक रूपमा साइटमा नगइ ऋणको फाइलमा हस्ताक्षर गर्नेको लागि पनि जोखिम कम हुन्छ ।
‘यस्ता खाले जोखिमको न्यूनीकरण होस्, बैंकको काम कारबाही चुस्त होस् र धितो मूल्याङ्कन र अनुमकन सम्बन्धी राष्ट्र बैंकको गाइडलाइन्सहरूको समेत प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकियोस् भनेर यो प्रविधिको प्रयोग शुरू गरिएको हो । यो नेपालको बैंकिङ क्षेत्रमा पहिलो प्रयोग हो’, सिभिल बैंकका नायब कार्यकारी प्रमुख सुनिल पोखरेलले चाणक्य पोष्टसँग भने ।
अहिलेको अवस्थामा बैंकहरूले साइटहरूमा जाने, फोटो खिच्न, म्याप बनाउने र त्यसको लगत भौतिक रुपमै राख्ने गरेका छन् । यो प्रक्रियालाई सिभिल बैंकले डिजिटलाइज गरेको हो ।
‘सिभिल बैंकले यो प्रक्रियालाई ट्रन्सफर्म गरेको छ, डिजिटल पोर्टल बनाएर । वेब बेस्ड एप र मोबाइल एप बनाइएको छ । यो बैंकको आन्तरिक प्रयोजनका लागि हो,’ पोखरेलले भने ।
यो प्रक्रिया अन्र्तगत धितो राखिएको साइटमा गएर मोबाइल एप खोलिन्छ, फोटो खिचिन्छ र अपलोड गरिन्छ । मानवीय रूपमा मात्र यस्ता काम गर्दा गलत ठाउँमा पुग्न सकिने धितो मूल्याङ्कनकर्ताले गलत ठाउँमा लैजान सक्ने वा जाने मानिसको नियत ठीक छैन भने यो प्रक्रिया तलमाथि पर्न सक्ने हुन्थ्यो । यसैककारण बैंकिङ कसुरका विषयहरू बाहिर आइरहेका पनि छन् ।
यसै सन्र्दभमा एक विकास बैंकका कार्यकारी प्रमुखले भनेका थिए, ‘धितो मूल्याङ्कन र अनुगमन गर्न आफैं जान सकिँदैन । काम गर्नै गाह्रो भयो । अब त मैले यसका लागि स्क्वाड नै कनाउने निधो गरेको छु । के गर्ने टाउको त जोगाउनुप्यो !’
यस्ता खाले समस्या धेरै हदसम्म समाधान हुने सिभिल बैंकले विश्वास लिएको छ । प्रणाली गुगल म्यापसँग इन्ट्रिगेटेड छ । एपमा एकखाले फम्र्याट हुन्छ । त्यसमा भर्नुपर्ने कुराहरू भरिन्छ । त्यसपछि नियमित रूपमा गएर धितो मूल्याङ्कन गरेको गतिविधि, मूल्याङ्कनकर्ताको नाम इत्यादी सबै तथ्याङ्कहरू त्यस एपमा रेकर्ड भएर बस्छ ।
धितो साइटको लोकेशन, बैंकको शाखा कार्यालयबाट साइटको दूरी लगायत सबै तथ्याङ्क सबै उच्च अधिकारीहरूको समेत सहज पहुँचमा हुन्छ । र, यसो हुँदा भौतिक रूपमा साइटमा नगइ ऋणको फाइलमा हस्ताक्षर गर्नेको लागि पनि जोखिम कम हुन्छ ।
‘यसले मूल रूपमा बैंकको अप्रेशन सहज हुन्छ । राष्ट्र बैंकको धितो अनुगमन सम्बन्धी कम्प्लायन्सहरूको पालना गर्न सहज हुन्छ । र, बैंक सार्वजनिक संस्था भएका कारण निक्षेपकर्ता, ऋणी, सेयरधनी लगायत समग्र समाजकै जोखिम कम हुन्छ,’ पोखरेलले भने ।