काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार भित्रको पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवन निर्माण पनि सुस्त भएको छ । समयमै निर्माण सम्पन्न नहुने रोगबाट ग्रसित अन्य विकासमा ठूला आयोजनाको जस्तै यसको पनि काम सुस्त भएको हो ।
३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजदेखि निर्माण शुरु गरिएको भनव काम थालिएको भएको १४ महिना बिते पनि अपेक्षित गति लिन सकेको छैन । विशेष भवन निर्माण आयोजना समन्वयन कार्यालय प्रमुख दिलिपशेखर श्रेष्ठका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति २० प्रतिशत सम्पन्न भएको छ ।
पुतली बगैँचाको १७३ रोपनी जग्गामा प्रतिनिधिसभाका लागि ९०० र राष्ट्रिय सभामा ६०० सीट क्षमताका दुई वटा भवन निर्माण भइरहेका छन् । उनका अनुसार हालसम्म सो क्षेत्रमा भवन निर्माणका लागि काम भइरहेको छ । विगतमा कोभिड १९ का कारण गति लिन नसकेको सो निर्माणले पछिल्लो समय गति लिएको उनले बताए ।
‘अहिले धमाधम काम भइरहेको छ, अघिल्लो समय कोभिडले रोकिएको थियो जनशक्ति पनि त्यति थिएन तर, अब केही नरोकी तीव्र गतिमा काम भइरहेको छ,’ श्रेष्ठले भने ‘संघीय भवन निर्माण समयमै सकिने छ ।’
कुल ७ अर्ब लागतमा बन्ने उक्त भवन पनिर्माणका लागि चालू आर्थिक वर्षमा २ अर्ब बजेट विनियोजन गरिएको छ । सोमध्ये हालसम्म करिब १७ प्रतिशत हाराहारीम खर्च भएको जनाइएको छ ।
संसद भवन परिसरभित्र ११ वटा भवन तथा पूर्वाधार बन्ने
संसद भवन परिसरभित्र ११ वटा विभिन्न प्रकारका भवन तथा पूर्वाधार रहनेगरी डिजाइन गरिएको छ । संसद भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, कमन लबी, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, पुस्तकालय, सङ्ग्राहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस तथा छपाइ भवन र ७०० वटा सवारी साधन पार्किङ र सुरक्षाकर्मीको भवन रहने छन् ।

भवनको दायाँ भागमा राष्ट्रिय सभा र बायाँ भागमा प्रतिनिधि सभाको भवन रहनेछ भने दक्षिणतर्फ मूल ढोका रहने छ । सहसचिव दवाडीका अनुसार संसद् भवन निर्माणको गुरुयोजनालाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी ४ भागमा बाँडिएको छ ।
पुतली बगँैचाको १७३ रोपनीको २७ प्रतिशत भाग भवनले, ४५ प्रतिशत खुल्ला हरियाली क्षेत्र र बाँकी सडक पूर्वाधार र पानीको फोहोरा सजावटले लिने उनले बताए ।
संसद भवनमा सांसदहरुको प्रवेशका लागि उत्तरतर्फ ढोका बनाइने, दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेश गर्ने गेट रहने छ । संसद भवन भित्र छिर्नु अगाडि आधुनिक सुरक्षा प्रविधिबाट जाँच गरिने व्यवस्था हुने छ ।
१५०० सीट क्षमताका दुईटा हल बन्ने
नयाँ बन्ने संसद् भवनमा प्रतिनिधि सभा हल र राष्ट्रिय सभा हल गरी २ वटा हलमा १ हजार ५०० जना क्षमता रहने छ । प्रतिनिधि सभामा ४०० जना संसादहरु अट्ने भुइँतलामा ठूलो हलमा ५०० जना अट्ने जनाइएको छ । जसमा सो हलमा थप दर्शक, पत्रकार र आगन्तुक पाहुना ३०० जना अट्ने बाल्कोनी हल र २०० जना अट्ने सुरक्षा हल बनाइने छ ।
साथै संसदमा सभामुख कक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट अधिकारी बस्ने कक्ष र प्राविधिक कक्ष बनाइने छ । मुख्य संसद् भवनको दायाँतिर ३ तल्लाको संसद् सचिवालयको भवनमा बैठक कक्ष, तालिम हलका साथै प्राविधिक कक्ष रहनेछन् ।
यस्तै, राष्ट्रिय सभामा १०० जना सांसद अट्ने ठूलो हल, २०० जना अट्ने बाल्कोनी हल, ३०० जना अट्ने सुरक्षाकर्मीको हलका साथै स्टुडियो, भिडियो कन्ट्रोल लगायतका प्राविधिक कक्ष, राष्ट्रिसभाका अध्यक्षको कक्ष लगायतका संरचना बनाइने छ ।
अतिविशिष्ट व्यक्तिहरुका लागि राष्ट्रिय सभा भवनको उत्तरतिर ४ तल्लाको भवन निर्माण गरिने छ । सो भवनमा प्रधानमन्त्रीको कार्यकक्ष, राष्ट्रिय सभाको सभाकक्ष र उपाध्यक्षको कार्यकक्ष तथा बैठक हलको व्यवस्था गरिने छ ।
यसैगरी, संसद् भवनको बायाँतर्फ उत्तरकुनामा राजनीतिक दलका संसदीय दलको कार्यालयका लागि ५ तल्ले भवन बनाइने छ । भवनमा पार्टी कार्यालयका लागि चाहिने विभिन्न कक्षहरुका साथै बैठक कक्ष, शिशु स्याहार केन्द्र समेत रहनेछ ।
एकै पटक ७५० सवारीसाधन पार्किङ गर्न सकिने छुट्टै पार्किङ भवनको समेत व्यवस्था गरिने दवाडीले जानकारी दिए । सुरुमा अन्डरग्राउन्ड पार्किङको डिजाइन गरिए पनि सुरक्षाको कारण देखाउँदै त्यसलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ ।
संसद्को आफ्नै भवन नहुँदा सरकारले वार्षिक १५ करोड रुपैयाँ खर्चँदै आएको छ । सरकारले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक १५ करोड भाडा बुझाएर प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन गरिरहेको छ ।
सहरी विकास तथा भवन निर्माण विभागले संसद् भवन निर्माणका १७ वटा बोलपत्रको प्राविधिक मूल्याङ्कन गरिरहेको छ । मूल्यांकन अन्तिम चरणमा पुगेको दवाडीले जानकारी दिए ।