उधारोमा बन्दै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, निर्माण सामग्री किनेको सवा ९ करोड तिर्न बाँकी

चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ ।

 

हालसम्म ९ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो ।

 

रङ्गशाला निर्माण गरिरहेको धुर्मस–सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म ४१ करोड ८८ लाख ४ हजार ९३६ रुपैयाँ खर्च भइसकेको छ । सोमध्ये सोमबारसम्म प्राप्त बिलअनुसार ९ करोड २५ लाख भुक्तान गर्न बाँकी छ ।

 

हरेक महिनाको अन्त्यमा निर्माण सामग्री र रेडिमिक्सको बिल आउने भएकाले माघ मसान्तसम्म उधारो थपिने उनको भनाइ छ । उहाँका अनुसार माघ मसान्तसम्म १० करोडभन्दा बढी उधारो हुनेछ ।

 

हालसम्म रङ्गशाला निर्माणका लागि ३१ करोड ८३ लाख ८३ हजार आम्दानी भएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकाले ८ करोड, वाग्मती प्रदेश सरकारले ३ करोड सहयोग गरेका छन् । महायज्ञमा बोलकबोल ६९ करोड ४५ लाख ५६ हजार भएकामा जम्मा रु नौ करोड ११ लाख ६५ हजारमात्रै प्राप्त भएको तिमिल्सिनाले जानकारी दिए ।

 

महायज्ञमा १ करोडभन्दा बढी आठवटा संस्थाले कबोल गरेका थिए । वाग्मती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख, वामदेव गौलीले १ करोड १२ लाख बराबरको जग्गा, नेपाल एलपी ग्यास उद्योगले १ करोड, गैँडाकोट नगरपालिकाले १ करोड बराबरको काठ, नेपाल पोल्ट्री महासङ्घले १ करोड र ग्लोबल आइएमई बैंकले १ करोड बोलकबोल गरेका थिए ।

 

ग्लोबल आईएमई बैंकले पूरै र पोल्ट्री महासङ्घले ३० लाखबाहेक अन्यले कबोलको रकम भुक्तान नगरेको तिमिल्सिनाले जानकारी दिए ।

महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुके कोभिड–१९ का कारण रकम उठ्न ढिलाइ भएको भए पनि दाताहरुको नदिने नियत नभएकाले रकम क्रमशः उठ्दै जाने बताउँछन् । रकम उठाउनका लागि समितिका तर्फबाट टीकाराम लामिछानेलाई जिम्मेवारी दिइएको र सम्पूर्ण हिसाबकिताब फाउण्डेशनलाई बुझाइएको उनले जानकारी दिए।

 

वाग्मती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले आव २०७७/७८ को विनियोजित रकमबाट सहयोग गरे पनि महायज्ञमा कबोल गरेको रकम भुक्तानी गरी नसकेको तिमिल्सिनाले जानकारी दिए ।

 

जिल्लाका अन्य केही पालिकाले कबोलको रकम पठाएको भए पनि केहीको बाँकी छ । महायज्ञमा सहयोग रकम बोल्ने सांसददेखि व्यापारीसम्मले रकम भुक्तानी गरेका छैनन् ।

 

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले बजेट अभाव हुँदा सोचे जसरी कामलाई अघि बढाउन नसकेको बताए । उनले भने, ‘रकमको जोहो हुने निश्चित स्रोत छैन, बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटिफिटी परेका छौँ ।’ उधारो नतिर्दासम्म आपूर्तिकर्ताले थप सामान नदिने अवस्था रहेको उनको भनाइ छ । कोभिडका कारण दाताहरुबाट अपेक्षाकृत सहयोग प्राप्त हुन नसकेको उनको गुनासो छ ।

 

निर्माण सामग्री खरिद गर्ने एउटै फार्मसँग ठूलो रकम हुँदा आफूहरुलाई पनि थप सामान ल्याउन समस्या हुने गरेको कट्टेलले बताए । महायज्ञको रकम सबै उठेमा पनि तत्काललाई समस्या समाधान हुने उनको भनाइ छ । उधारोमै सामान ल्याएर भए पनि काम नरोकेको कट्टेल बताउँछन् ।

 

रकम अभावकै कारण रङ्गशाला निर्माणमा खटिने कामदारको सङ्ख्या समेत घटाइएको छ । पहिले ३१३ जनासम्म कामदारले काम गर्दै आएकामा पछिल्लो समय घटाएर १३५ जना मात्रैले काम गरिरहेका छन् । रकम अभाव भए पनि चाडपर्वदेखि कोभिडको समयमा समेत कामलाई भने निरन्तरता दिइएको छ ।

 

रङ्गशाला निर्माण सम्पन्न गर्न करिब ३ अर्ब लाग्ने अनुमान गरिएको छ । हाल रङ्गशालाको मैदान र प्यारापिटको काम भइरहेको छ । गत साउन १ गतेदेखि संरचनाको काम शुरु गरिएको रङ्गशाला एक वर्ष छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

उनले भने, ‘महायज्ञको बोलकबोल र घोषित रकम प्राप्त भएमा लक्ष्यअनुसार काम हुने थियो ।’ महायज्ञबाहेक रङ्गशाला निर्माणका क्रममा विभिन्न व्यक्ति र संस्थाले सहयोग घोषणा गरेको रकम ४ करोड हाराहारी उठ्न बाँकी छ ।

 

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गा रङ्गशाला निर्माणका लागि उपलब्ध गराइएको हो । भरतपुर महानगरपालिका–१५ मा रङ्गशाला निर्माण भइरहेको छ । जग्गा दिलाउन र यहाँ रङ्गशाला निर्माणका लागि महानगरपालिकाले अगुवाइ गरेको थियो । महानगरपालिकाकै आग्रहमा फाउण्डेशनले रङ्गशाला निर्माण थालेको हो । रासस

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्नु उपयुक्त ? Read Previous

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्नु उपयुक्त ?

मध्यपहाडी राजमार्गमा धमाधम काम हुँदै, कोभिडले पुर्‍याएको क्षति पूर्ति गर्ने लक्ष्य Read Next

मध्यपहाडी राजमार्गमा धमाधम काम हुँदै, कोभिडले पुर्‍याएको क्षति पूर्ति गर्ने लक्ष्य