नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताएका छन् ।
शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक स्रोत र साधनहरू हुँदाहुँदै पनि देश विकास र सम्मृद्धिको यात्रामा पछाडि परेको बताएका हुन् ।
‘हामीसँग प्रसस्त मात्रामा प्राकृतिक स्रोत र साधनहरू छन् । यसलाई हामीले सही रुपमा सदुपयोग गर्न सकिरहेका छैनौ । यी उपलब्ध स्रोत तथा साधनको सहीरुपमा सदुपयोग गर्न सकियो भने हामीले चाहेको विकास र सम्मृद्धि असम्भव छैन । यसका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य पनि जरुरी हुन्छ,’ उनले भने ।
कार्यक्रममा ढकालले निर्वाचनका समयमा गरिएका वाचाहरू पूरा गर्न आफू तत्पर रहेको र त्यसअनुसार काम गर्ने बताए ।
‘हुन त स्थानीय समस्याहरू समाधान गर्न तपाईहरू स्थानीय नेतृत्व नै पूर्ण सक्षम हुनुहुन्छ । तर हामीले निर्वाचनका समयमा गरेका वाचाहरू पूरा गनेर्छौं । तपाईहरूलाई भोगेका समस्याहरूको समाधानकालागि पहल गर्नेछौंँ र ती समस्या समाधान गर्नेछौंँ,’ उनले भने ।
निजी क्षेत्रलाई राज्य तथा यसका निकायहरूबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले भने, ‘निजी क्षेत्र व्यवसायिकमात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिँदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने छ । तर, यस नगरपालिकामा मैले त्यो नितान्त भिन्न पाएको छु । निजी क्षेत्रलाई सरकारको विकासको साझेदारको रुपमा हेर्ने उहाँको यस दृष्टिकोणले हामीलाई हौसला मिलेको छ । साच्चिकै उत्साहित बनाएको छ ।’
यसरी निजी क्षेत्रलाई विकासको साझेदारको रुपमा हेर्ने हो भने हामीले धेरै भन्दा धेरै रोजगारी सृजना गर्ने, राजश्व संकलन गर्ने र पूर्वाधार विकासमा साझेदारको रुपमा काम गर्न सकिन्छ । सबै स्थानीय तह, प्रदेश तथा केन्द्रको यस प्रकारको व्यवहार हामी निजी क्षेत्रले अपेक्षा गरेका छौं । यसले मात्र हामीलाई विकास र सम्मृद्धिको बाटोमा सहकार्य गरेर अगाडि बढ्न सहयोग पुग्ने आफूले विश्वास लिएको बताए ।
उनले तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा अधिवेशनसहितको साधारणसभा भएको हुनाले यस सभाले सक्षम नेतृत्व चयन गर्न सकोस् भन्ने कामना गरे । साथै उनले नेपाल उद्योग वाणिज्य महासंघको भर्खरै सम्पन्न ५४औँ वार्षिक साधारणसभामा आफूलाई विजयी गराउन भूमिका खेल्ने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गरे ।