काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारमा बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर लगायत भन्दा उत्पादनमूलक, व्यापार तथा सेवामूलक क्षेत्रको कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ । जसले यस्ता क्षेत्रका कम्पनीको सेयर मूल्य समेत महँगो बन्दै गएको छ ।
बजार बुल रनमा भएको बेलामा प्रायः सबै क्षेको कम्पनीको सेयर मूल्य बढ्ने भए पनि पछिल्लो समय सामान्य कम्पनीको तुलनामा अलि फरक खाले कम्पनीको सेयर मूल्य भने छुनै नसक्ने गरी बढेको छ ।
पछिल्लो समय सेयर बजारमा सेयर संख्या कम भएका र अलि फरक क्षेत्रका कम्पनीको सेयरमा तीव्र चलखेल (कर्नरिङ) हुँदै आएको देखिन्छ । सेयर संख्या कम भएकाले यो कम्पनीमा पनि त्यस्तो नहोला भन्न सकिन्न । तर, सेयर बजारमा हुने अस्वस्थ चलखेल रोक्न नियामकले आवश्यक कदम चाल्न जरुरत छ ।
उदाहरणको लागि नेपाली सेयर बजारमा सूचीकृत एकमात्र सिमेन्ट कम्पनी शिवम् सिमेन्टको सेयर मूल्यमा उछाल आइरहेको छ । २ वर्ष अघि प्रिमियम मूल्यसहित ३०० रुपैयाँमा सर्वसाधारणमा जारी गरिएको यो सेयर अहिले प्रतिकित्ता १ हजार ६०० रुपैयाँ माथि पुगिसकेको छ ।
यसैगरी हिमालयन डिस्ट्रीलरीको सेयर पनि केही महिना अघि १२०० रुपैयाँ प्रति कित्ता हाराहारी थियो । अहिले उक्त कम्पनीको सेयर प्रतिकित्ता ५ हजार नजिक पुगेको छ ।
यस्तै, अहिले साल्ट ट्रेडिङ, बोटलर्स नेपाल, पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, विशाल बजार लगायत कम्पनीको सेयर मूल्य अन्य क्षेत्रका कम्पनीको तुलनामा निकै महँगो रहेको छ ।
आन्तरिक ‘कम्पलायन्स’ राम्रो भएका र लगानीकर्तालाई निरन्तर लाभांश वितरण गर्दै आएका र गर्ने क्षमता भएका कम्पनी मात्र नभएर अहिलेको वास्तविक अवस्था कस्तो छ भनेर थाहै नभएका विशाल बजार जस्ता कम्पनीको समेत सेयर मूल्यमा उछाल आएको छ ।
समग्रमा भन्दा सूचीकृत सेयर संख्या कम रहेको, राम्रो लाभांश दिने क्षमता भएको र बजारका सामान्य कम्पनीभन्दा अलि फरक खाले कम्पनीको सेयर मूल्य तुलनात्मक रूपमा उच्च रहने र बजार बढ्दा पनि तुलनात्मक रूपमा धेरै बढ्ने देखिएको छ ।
लगानीकर्तालाई लोभ्याउन सक्ने सम्भावना भएको कम्पनीको ‘इन्ट्री’
त्यस्तै अहिले अन्य क्षेत्रका कम्पनीभन्दा अलि फरक खालको एउटा कम्पनीको सेयर बजारमा ‘इन्ट्री’ भएको छ । मुख्य रूपमा केबलकार सञ्चालन गरिरहेको र सहायक व्यवसायका रुपमा होटल व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरिरहेको चन्द्रागिरी हिल्स कम्पनी सेयर बजारमा सूचीकृत भएको छ भने सम्भवत आजदेखि दोस्रो बजारमा कारोकारमा आउँदै छ ।
कम्पनीले पहिलो चरणामा मंसिर १७ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता र दोस्रो चरणामा पुस २४ गतेदेखि सर्वसाधारणका लागि कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता सेयर जारी गरेको थियो ।
काठमाडौंबाट केन्द्रबाट केही किलोमिटर मात्र टाढा रहेको र समुद्री सतहबाट २५ सय ५१ मिटर उचाइमा रहेको यो केबलकार कम्पनी घुम्न जानेका लागि चर्चित गन्तव्य बनिसकेको छ । यहाँबाट विभिन्न हिमश्रृंखलाहरूको अवलोकन गर्न सकिन्छ ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
कुल अधिकृत पूँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । जसमा संस्थापक सेयरधनी (प्रमोटर सेयर होल्डर)को हिस्सा ८८ प्रतिशत रहेको छ भने सर्वसाधरणको हिस्सा १२ प्रतिशत रहेको छ ।
कम्पनीले संस्थापक सेयरधनीबाट १ अर्ब ३५ करोड रुपैयाँ बराबरको पूँजी जुटाइसकेको छ भने सर्वसाधरणमा सेयर जारी गरी १८ करोड ४० लाख ९१ हजार रुपैयाँ उठाएर चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ ।
वित्तीय विवरण अनुसार कम्पनीको नेटवर्थ आर्थिक वर्ष २०७३/७४, ०७४/७५, ७५/७६ र ७६/७७ मा क्रमश ९४.५२, ९६.६३, ९६.६९ र ८४.८८ रहेको छ । यसैगरी चालू आर्थिक वर्षमा नेटवर्थ ९०.६९ र आगामी २ आर्थिक वर्षमा १०९.२४ र १२२.०७ पुग्ने प्रक्षेपण कम्पनीले गरको छ ।
यसैगरी, चालू आर्थिक वर्षमा ४ रुपैयाँ प्रतिसेयर आम्दानी पुग्ने प्रक्षेपण गरेको यो कम्पनीले त्यसपछिका आगामी २ आर्थिक वर्षमा २३.५४ रुपैयाँ र ३२.८४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।
यस्तै हालसम्म सञ्चित मुनाफा ऋणात्मक रहेको यो कम्पनीले आर्थिक वर्ष ०७८/७९ मा १४ करोड १७ लाख रुपैयाँ र त्यसपछिको आर्थिक वर्षमा ३३ करोड ८३ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ ।
कम्पनीले चालू आर्थिक वर्षमा ६ करोड १३ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ भने आगामी २ आर्थिक वर्षमा क्रमशः ३६ करोड ११ लाख र ५० करोड ३७ लाख रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ ।
को–को छन् प्रमोटर सेयर होल्डर ?
कम्पनीमा प्रमोटर सेयर होल्डरको संख्या १४ रहेको छ । जसमा १२ जना व्यक्ति रहेका छन् भने २ वटा कम्पनी छन् । कम्पनीमा प्रमोटर सेयर होल्डरको हिस्सा ८८ प्रतिशत रहेको छ ।
कम्पनीको मुख्य सेयर होल्डरको रुपमा व्यवसायी चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल रहेका छन् । यी दुवैको समान २९ लाख ४३ हजार ३३७ कित्ता सेयर अर्थात् १९.१८ प्रतिशत हिस्सा रहेको छ ।
यस्तै, हाथवे इन्भेष्टमेन्टका संचालक समेत रहेका उत्तम नेपालको १९ लाख ६२ हजार २२५ कित्ता (१२.७९ प्रतिशत) सेयर स्वामित्व रहेको छ हाइवे इन्भेष्टमेन्ट कम्पनी र भाटभटेनी सुपरमार्केट पनि कम्पनीको संस्थागत सेयरधनीको रुपमा रहेका छन् । यी दुई कम्पनीले चन्द्रागिरीमा १२ करोड ५१ लाख ११२ रुपैयाँ लगानी गरेका छन् । यो कुल सेयरको हिस्सा ८.१५ प्रतिशत हो ।
यस्तै, कम्पनीमा अम्विकाप्रसाद पौडेल ९ लाख ३ हजार १५० कित्ता, कल्याण गुरुङ ८ लाख ४६ हजार ८१३, मीनबहादुर गुरुङ, नवराज नेपाल, सावित्री गुरुङको समान ६ लाख ५४ हजार ७५ कित्ता सेयर रहेको छ । अन्य ५ जनाको ६ लाख ६५ हजार कित्ता सेयर रहेको छ ।
सेयर मूल्य बढ्ने सम्भावना कस्तो छ त ?
यो कम्पनी पनि माथि उल्लेख गरिएजस्तै बजारमा सूचीकृत अन्य कम्पनी भन्दा फरक खाले कम्पनी हो । सूचीकृत हुने सेयर संख्याको कुरा गर्ने हो भने पनि चुक्ता पूँजीको जम्मा १२ प्रतिशत अर्थात १८ लाख हाराहारी कित्ता मात्र बजारमा कारोबार लागि उपलब्ध हुनेछ ।
पछिल्लो समय सेयर बजारमा सेयर संख्या कम भएका र अलि फरक क्षेत्रका कम्पनीको सेयरमा कर्नरिङ समेत हुँदै आएको छ ।सेयर संख्या कम भएका कारण यो कम्पनीमा पनि चलखेल नहोला भन्न सकिन्न । तर, सेयर बजारमा हुने कर्नरिङ र अस्वस्थ चलखेल रोक्न नियामक निकायले आवश्यक कदम चाल्न जरुरत छ ।
यो कम्पनीको सेयर मूल्यले पनि माथि उल्लेख गरिएका कम्पनीले झैं शिखर चुम्ला त ? यो त भविष्यले नै बताउने कुरा भयो । लगानीकर्ताको मानेविज्ञान यो कम्पनीको सेयरका सन्दर्भमा कसरी विकसित हुँदै जाला भन्ने कुराले पनि फरक पार्ला । वा, ‘खेलाडी’ भनिने केही स्वार्थ समूहको कब्जामा पर्ला वा नपर्ला भन्ने विषय पनि महत्वपूर्ण छ । कम्पनीले व्यवसायलाई कसरी विस्तार गर्दै लैजान्छ र लगानीकर्तालाई कस्तो लाभांश दिन्छ भन्ने विषय पनि महत्वपूर्ण हुन्छ ।
कोरोना महामारीले कम्पनीलाई यो वर्ष धेरैै असर पारेको देखिन्छ । यो असरबाट निस्कन कम्पनीलाई एकाध वर्ष लाग्ने देखिन्छ । त्यसपछि भने कम्पनीको भविष्य राम्रै देखिन्छ ।काठमाडौंबाट नजिक रहेको र नेपालीहरू माझ घुम्न निस्कने संस्कृति बढ्दै जानु कम्पनीका प्रतिस्पर्धात्मक क्षमता हुन् ।
अत्यन्तै थोरै सेयर सर्वसाधारणलाई जारी गर्ने भएका कारण आपूर्तिको तुलनामा अत्याधिक माग हुने भएकाले कम्पनीको सेयर मूल्यले आकाश छोला वा अन्य सामान्य कम्पनी झैं कारोबार होला भन्ने त भविष्यले नै बताउला ।