पोखरा महानगरले ३.२ किमी अन्तर्राष्ट्रिस्तरको नमूना सडक बनाउने

सांकेतिक तस्वीर

पोखरा । विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको नमूना सडक निर्माण गरिने भएको छ ।

 

पोखरा महानगरपालिका–२७ तालचोकदेखि पर्यटकीय गन्तव्य बेगनास तालसम्मको ३ किमी २८० मिटर सडक १ अर्ब ६० करोड ५० लाख लागतमा स्तरोन्नति गरी विश्व बैंकको मापदण्डअनुसारको नमूना बनाउन लागिएको हो । हालको सडक स्तरोन्नति गरी मेडियनसहित ३० मिटर फराकिलो बनाउने योजना छ ।

 

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको शहरी सुशासन तथा पूर्वाधार परियोजनाले बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का बारेमा छलफल आयोजना गरेर डीपीआर तयार भएकाले अब निर्माणका प्रक्रियामा अघि बढ्ने जनाएको छ । सो सडकको दायाँबायाँ साइकल ट्रयाक, पैदलमार्ग, व्यवस्थित नाली, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राखिने सो सडक परियोजनाका इञ्जिनीयर नवराज बोहोराले जानकारी दिए ।

 

उनका अनुसार सडकमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर अन्तर्राष्ट्रियस्तरको बनाइने छ । महानगरका वरिष्ठ इञ्जिनीयर शारदामोहन काफ्लेले प्रति किमी लागतका हिसाबले सो सडक यहाँ बनेका सडकमध्येमा सबैभन्दा महँगोे रहेको बताए । आगामी दुई महिनाभित्रमा बोलपत्र आह्वानलगायतका सबै प्रक्रिया शुरु गरेर यसै आर्थिक वर्षभित्र निर्माण शुरु गर्ने योजना रहेको इञ्जिीनियर काफ्लेले जानकारी दिए ।

 

आगामी दुई वर्षभित्रमा सडक निर्माण गरिसक्ने योजना छ । विश्व बैंकको मापदण्डअनुसार रहेकाले लागत बढी भएको बताइन्छ ।

 

सडक विस्तार गर्ने क्रममा खानेपानी, विद्युत् र टेलिफोन स्थान्तरणको कार्यमा सम्बन्धित कार्यालयले महानगरको सरसल्लाहमा मात्र गर्नुपर्ने महानगर प्रमुख मानबहादुर जिसीले बताए ।

 

महानगरपालिकाले सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगर, प्रदेश सरकार तथा डिभिजन सडक कार्यालयको संयुक्त लगानीमा अहिले पोखराको २५ किमी शहरी सडक ‘अस्फाल्ट’ कोलोपत्रको काम भइरहेको छ ।

इतिहासकै ठूलो आइपीओ जारी गरेको इन्फ्रास्ट्रक्चर बैंकको नाफा १२.५४% घट्यो Read Previous

इतिहासकै ठूलो आइपीओ जारी गरेको इन्फ्रास्ट्रक्चर बैंकको नाफा १२.५४% घट्यो

५३६ मेगावाटको सुनकोशी-तेस्रोको अध्ययन अन्तिम चरणमा Read Next

५३६ मेगावाटको सुनकोशी-तेस्रोको अध्ययन अन्तिम चरणमा