काठमाडौं । पछिल्लो समय सेयर बजारमा प्राथमिक साधरण सेयरको बाढी लागेको छ । चालू आर्थिक वर्षमा करिब १ दर्जक कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने डेढ दर्जन बढी कम्पनी पाइपलाइनमा छन् ।
कम्पनीहरुले थप पूँजी जुटाउन धमाधम आइपीओ जारी गर्न थालेका हुन् । यसै, क्रममा यही माघ महिना भित्रै दुई कम्पनीले आइपीओ जारी गर्ने भएका छन् । ग्रीन लाइफ हाइड्रोपावर र महिला लघुवित्तले यस महिनाभित्रै आइपीओ जारी गर्ने भएका हुन् ।
कुन कम्पनीको कहिले आउँदै छ ?
ग्रीन लाइफ हाइड्रोपावर
यस कम्पनीले माघ २३ गते (शुक्रबार) देखि ३५ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ जारी गर्न लागेको हो ।
सोमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा २०७५ फागुनमा आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको थियो ।
सोमध्ये १ लाख ३ हजार ६०० कित्ता मात्र विक्री भएको थियो । बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्तासहित ३४ लाख ९६ हजार ४०० आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीको आइपीओमा माघ २७ गतेसम्ममा आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै आइपीओ नबिकेमा ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन पाइनेछ । सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस ९आइएस०’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न अवस्था औसतभन्दा कम रहेको जनाउँदछ। कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेड रहेको छ ।
महिला लघुवित्त वित्तीय संस्था
यस लघुवित्तले माघ २८ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।
निष्काशन हुने कुल ४ लाख कित्तामध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (२० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।
लघुवित्तको आइपीओमा लगानीकर्ताले फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङ रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
लघुवित्तको जारी पूँजी १० करोड रुपैयाँ रहेको छ । हाल ६ करोड चुक्ता पूँजी रहेको लघुवित्तको ४ करोडको आइपीओ जारीपछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा प्रमोटरसेयर होल्डरको हिस्सा ६० प्रतिशत र सर्वसाधरणको ४० प्रतिशत रहनेछ ।
लघुवित्तले चालू आवको दोस्रो त्रैमासमा ५ करोड ४३ लाख खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५९.४६ प्रतिशत बढी हो ।