जुम्लाको मार्सी चामल ‘ब्रान्ड’मा बेच्दै खाद्य कम्पनी, प्रतिकिलो कति ?

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ ।

 

कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्राण्ड गरी गत बिहीबारदेखि काठमाडौँमा विक्री वितरण शुरु गरिसकेको छ । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्यकाका ५ विक्री काउन्टरबाट विक्रीवितरण शुरु गरेको हो ।

 

मार्सी चामल तीन दिन अर्थात् आइतबारसम्म २६८ किलो विक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए। उनका अनुसार बिहीबार ९३ किलो, शुक्रबार १४४ किलो र आइतबार १३१ किलो चामल विक्री भएको छ ।

 

उनले कम्पनीले यसअघि विक्रीवितरण गर्दै आएको अन्य चामल जस्तै मार्सीको चामल विक्री हुने अपेक्षा गरिएको बताए ।खाद्य कम्पनीका काठमाडौँ उपत्यकाका ५ विक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा सो चामल राखिएको छ ।

 

यसैगरी बन्दाबन्दीका समयबाट शुरु गरिएको अनलाइनमा समेत उक्त चामल राखिएको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकिलो मार्सी चामल २२५ मा विक्री गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको कार्यक्रमभित्र रहेको जुम्लाको मार्सी धान खरीदको प्रक्रिया शुरु गरेको छ ।

 

धान खरीद प्राथमिक समितिले जुम्लाको मार्सी धान खरीद गर्न प्रतिकिलो १०२.५० रुपैयाँ तथा चामल प्रतिकिलो १६२.५० रुपैयाँ निर्धारण गरेको छ ।

 

धानको मूल्य निर्धारणका लागि कम्पनीले प्रत्येक वर्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीका संयोजकत्वमा कृषिज्ञान केन्द्र, स्थानीय कृषक समन्वय समितिका प्रतिनिधिलगायतको समिति बनाएको छ ।

 

कम्पनीले हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल बिक्री काउन्टर तथा अनलाइनमार्फत विक्रीवितरण गर्दै आएको छ ।

कर्णालीका ५ स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै Read Previous

कर्णालीका ५ स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै

बीमा र लघुवित्तमा उछाल आउँदा नेप्सेले बनायो नयाँ कीर्तिमान, १ दर्जन कम्पनीमा पोजेटिभ सर्किट Read Next

बीमा र लघुवित्तमा उछाल आउँदा नेप्सेले बनायो नयाँ कीर्तिमान, १ दर्जन कम्पनीमा पोजेटिभ सर्किट