काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक आएको छ । आइतबार करिब ५५ अंकले घटेको बजार एकदिनमै लयमा फर्किएको हो ।
सूचकमा उच्च अंकको सुधारआए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम २ अर्बले घटेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ३७.७० अंकले बढेर २४०८.२४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०३ कम्पनीको ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार ५२९ रुपैयाँ बराबरको १ करोड ३३ लाख ११ हजार ९४२ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये माइक्रोफाइनान्स र म्युचुअल फण्ड बाहेक अन्य सबै समूहको परिसूचकमा हरियाली आएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ३७९.११ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूह २७.८१ अंकले घटेको छ ।
कारोबारमा आएका २०३ कम्पनीमध्ये जम्मा १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ४३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ५८ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल लाइफ इन्स्योरेन्स २९ करोड र नेपाल लाइफ इन्स्योरेन्स २९ करोड सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज आधादर्जन बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेञ्चुरी कमर्शियल बैंक, प्रोग्रेसिभ फाइनान्सको प्रमोटर सेयर, पोखरा फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, सोल्टी होटल, तारागाउँ होटल, वेस्ट फाइनान्स र सिन्धु विकास बैंकका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा आज कालिका माइक्रो फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ७.२४ प्रतिशत गुमाएका छन् ।