डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिकस्थल खप्तड घुम्न जानेहरुका लागि पाँचदिने ‘हेली टुर प्याकेज’ शुरु भएपछि खप्तड पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् ।
खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ आयोजना तथा माउण्टेन हेलिकप्टोरको सहकार्यमा उक्त ‘हेली टुर प्याकेज’ शुरु गरिएको हो ।
खप्तड पुग्नका लागि दिपायलबाट प्रतिव्यक्ति १० हजार, झिंग्रानाबाट ८ हजार, अछामको साफेगर र बझाङको चैनपुरबाट १२ हजार तथा कैलालीबाट ३० हजार रुपैयाँ लाग्ने सो आयोजनाका अधिकारीले जनाएका छन् ।
‘हेलि टुर प्याकेज’ शुरु भएसँगै अहिले खप्तड घुम्न आउने आन्तरिक पर्यटक बढेका र यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरिएको खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताए।
उनले भने ‘कोरोनाका कारण खप्तडमा पर्यटक आउन सकेका थिएनन्, अहिले कोरोनाको सङ्क्रमण कम छ र हामीले ‘हेलि टुर’ प्याकेज पनि शुरु गरेपछि पर्यटकहरु आउन थालेका छन्, यहाँको वातावरण नै रमाइलो देखिएको छ ।’
यस प्याकेजअन्तर्गत खप्तड पुग्नका लागि दिपायलबाट प्रतिव्यक्ति १० हजार, झिंग्रानाबाट ८ हजार, अछामको साफेगर र बझाङको चैनपुरबाट १२ हजार तथा कैलालीबाट ३० हजार रुपैयाँ लाग्ने सो आयोजनाका अधिकारीले जनाएका छन् ।
यस आयोजनाको बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् ।त्यस अवसरमाा मुख्यमन्त्री भट्टले खप्तड क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश सरकारले ठोस योजना बनाई अगाडि बढेको बताए ।
प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थलसमेत रहेको खप्तड घुम्न ‘हेली टुर’ शुरु भएपछि स्थानीयबासीमा खुसियाली छाएको छ । प्याकेज शुरु भएको पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहित २० जना खप्तड पुगेका थिए ।
हिउँदे यामको दृश्य कैद गर्न इच्छुक पर्यटकहरूका लागि अहिले खप्तड क्षेत्र निकै मनमोहक भएको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए । उनले भने, ‘खप्तड आफैमा सुन्दर क्षेत्र हो, अहिलेको याम (पुस देखि जेठ सम्म) निकै मनमोहक हुन्छ, त्यसमा पनि ‘हेली टुर’ प्याकेज शुरु भएकाले पर्यटकलाई झनै राम्रो भएको छ ।’
हेलिकोप्टरमार्फत् खप्तड घुम्नका लागि ५ किसिमका प्याकेज रहेको बताइएको छ । कैलाली, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड पुग्न र घुम्न छुट्टाछुट्टै प्याकेज ल्याइएको छ ।
मनोरम दृश्य अवलोकनसहितको आनन्ददायी यात्रा रहेकोले पर्यटक बढ्ने आयोजकको दाबी रहेको छ । सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय चिनारी रहेको खप्तडको जगेर्ना र प्रचार प्रसार गर्न सके प्रदेशको गरिमा बढ्ने र आयआर्जनको वातावरण सिर्जना हुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताए । उनले भने, ‘हामीले खप्तडको मात्रै विकास गर्न सके यहाँको आयआर्जनमा उलेख्य विकास हुनेछ, हामी खप्तडको विकासमा लागि परेका छौँ ।’
खप्तड राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सौन्दर्यताको खानी मानिन्छ । यतिमात्र नभइ खप्तडलाई धर्तीको स्वर्गको उपमा पनि दिइएको छ । सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घाँसे मैदान अर्थात् पाटन रहेका छन् ।
सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि ५३ वटा थुम्का छन्, जसलाई स्थानीय भाषामा झोती भन्ने गरिएको खप्तडसँग सीमा जोडिएको डोटीको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटील बताए ।
सुदूरपश्चिमका नौवटै जिल्लासहित देशभर तथा छिमेकी मुलुक भारतबाट पनि यहाँ भक्तजनको भिड लाग्ने गर्दछ । खप्तड क्षेत्रको बीचमा उभिएको १२ हजार फिट अग्लो खप्तड लेक पर्दछ । खप्तड बाबाको कुटी, त्रिवेणी नदी खापर दह, शिव मन्दिर सहस्रलिंग गणेश मन्दिर, नागढुंगा, केदारढुंगा जस्ता धार्मिकस्थल निकै प्रख्यात छन् । सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन् । त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन् ।
किंवदन्तीअनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट खप्तडका थुम्का बनेको भनिन्छ । यो समयमा यहाँ निकै चिसो छ । वर्षामा घाँसे मैदानले रमणीय देखिने खप्तडका पाटनहरु अहिले हिउँ नपर्दा खुला देखिएका छन् ।रासस