कृषि बैंकद्वारा किसान क्रेडिट कार्ड वितरण शुरू, मन्त्रालय भने बल्ल कृषक सूचीकरणमा जुट्दै

काठमाडौं । कृषि विकास बैंकले किसान क्रेडिट कार्ड वितरण शुरू गरेको ९ दिइ भइसकेको छ । कृषि विकास बैंकले माघ ७ गते बुधबारदेखि किसान क्रेडिट कार्ड वितरण शुरू गरेको थियो ।

 

कृषि विकास बैंकले माघ ७ गते आफ्नो ५४ औं वार्षिकोत्सवको अवसर पारेर किसान क्रेडिट कार्ड वितरण गरेको थियो । बैंकले पहिलो दिन १८ जना किसानलाई क्रेडिट कार्ड वितरण गरेको थियो ।

 

बैंकले ७ वटै प्रदेशका ६० वटा शाखामार्फत क्रेडिट कार्ड वितरण गर्ने योजना बनाएको छ । बैंकले पहिलो चरणमा १० हजार क्रेडिट कार्ड वितरण गर्ने लक्ष्य राखेको छ ।

 

बैंकले क्रेडिट कार्ड वितरण शुरू गरे पनि यता मन्त्रालयले भने कृषक सूचीकरणको काम नै गरेको छैन । मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले हाल कृषक सूचीकरणको तयारी भइरहेको बताए । उनले  कृषक सूचीकरण पछि मात्र किसान क्रेडिट कार्ड बाँड्न शुरू गरिने  बताए ।

 

‘कृषक सूचीकरण नगरी किसान क्रेडिट कार्ड वितरण शुरू गर्न सकिँदैन, पहिला किसान पहिचान गर्नु पर्यो अनि सूचीकरण गरे अनुसार क्रेडिट कार्ड वितरण गर्न सकिन्छ,’ घिमिरेले चाणक्य पोष्टसँग भने ‘कृषक सूचीकरणको अन्तिम तयारीमा छौं, सूचीकरण शुरू गरेपछि त्यसै अनुसार क्रेडिट कार्ड वितरण गर्ने छौँ ।’

 

उनले हाल कृषक सूचीकरणका लागि तालिम भइरहेको बताए । विभिन्न वडा, गाउँपालिका, नगरपालिका र प्रदेशहरूमा कृषक सूचीकरणका लागि तालिम भइरहेको उनले बताए ।

 

बैंकले कार्ड वितरण शुरू गरिसक्दा समेत मन्त्रालयले कृषको सूचीकरण गर्न नसक्दा यसमा अन्योलता देखिएको छ । देशभरका किसानको विवरण तयार गर्नु पर्ने मन्त्रालयले नै सो काम पूरा नगर्दा क्रेडिट कार्ड वितरणमा ढिलाइ हुने देखिएको छ ।

 

बैंकले पहिलो दिन १८ जना किसानलाई क्रेडिट कार्ड वितरण गरे पनि  त्यस यता थप कार्ड वितरण गरेको छैन । कृषि विकास बैंकका अजयकुमार रिमालका अनुसार १८ किसानहरूलाई हाल क्रेडिट कार्डको प्रयोग तथा उपयोगको विषयमा तालिम दिने काम भइरहेको छ ।

 

उनले ७ वटै प्रदेशका ६० वैंकहरूका शाखाबाट क्रेडिट कार्ड वितरण गरिने योजना रहेको बताए । बैंकले पहिलो चरणमा १० हजार क्रेडिट कार्ड वितरण गर्ने लक्ष्य राखेको छ ।

 

भिसा कार्डकै आकारमा हुने सो कार्डले कृषि सामग्री, मल खाद्य लगायतका वस्तुको रकम भुक्तानी गर्न सकिने छ । कार्डमा क्युआर कोड रहेको छ भने जसलाई स्क्यान गरेर किसानहरूले भुक्तानी दिन लिन सक्छन् ।

 

कृषि विकास बैंकले कार्डको पहुँच हुने मोबाइल एप्लिकेशनको विकास गरेको छ । सो एपमार्फत स्क्यान गरेर भुक्तानी हुने व्यवस्था गरिएको छ । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड हुन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ ।

 

यो विशेष गरी किसानले पाउने ऋण र अनुदानसँग सम्बन्धित छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा कृषि विकास बैंकमार्फत किसान क्रेडिट कार्ड जारी गरिने उल्लेख थियो । सोही बमोजिम किसान ब्रेडिट कार्ड कार्यान्वयनमा ल्याइएको हो ।

 

फागुन पहिलो सातादेखि कृषक सूचीकरण शुरू हुँदै

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषक सूचीकरण फागुन पहिलो साताबाट शुरू गर्ने भएको छ । अन्तिम चरणमा रहेको कृषक सूचीकरणको काम यही फागुनबाट शुरू गरिने मन्त्रालयका कृषि सचिव योगेन्द्र कुमार कार्कीका बताएका हुन् ।

 

उनले तयरी पूरा भइसकेको भन्दै फागुन पहिलो हप्ताबाट सूचीकरण गर्न शुरू गर्ने बताएका हुन् । ‘यही फागुन पहिलो साताबाट सूचीकरणको काम शुरू गरिने छ, हामी अन्तिम तयारीमा छौँ,’ कार्कीले भने ।

कृषि आधुनिकीकरण परियोजना धनुषाद्धारा ३ दिने कृषि अभिकर्ता तालिम सम्पन्न Read Previous

कृषि आधुनिकीकरण परियोजना धनुषाद्धारा ३ दिने कृषि अभिकर्ता तालिम सम्पन्न

कालीगण्डकी करिडोर धमाधम कालोपत्र हुँदै, बेनी-जोमसोम सडक कालोपत्र गर्न ठेक्का Read Next

कालीगण्डकी करिडोर धमाधम कालोपत्र हुँदै, बेनी-जोमसोम सडक कालोपत्र गर्न ठेक्का