काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीलाई उछिन्दै नबिल बैंक बजार पूँजीकरणका आधारमा नेपाली सेयर बजारको तेस्रो ठूलो कम्पनी बनेको छ ।
यससाता नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँले बढेसँगै पूँजीकरणका आधारमा पुनर्बीमलाई पछि पारेको हो ।
नेप्सेका अनुसार नबिल बैंको बजार पूँजीकरण १ खर्ब ५४ अर्ब ३४ करोड रुपैयाँ छ । यो चौथो स्थानको पुनर्बीमाको भन्दा करिब २ अर्ब रुपैयाँले बढी हो ।
पुनर्बीमाको बजार पूँजीकरण १ खर्ब ५२ अर्ब ३० करोड रुपैयाँ छ । पछिल्ला दिनमा सेयर मूल्य घटेपछि पुनर्बीमा कम्पनी तेस्रो स्थानबाट झरेर चौथो स्थानमा पुगेको हो ।

नेप्सेका अनुसार सेयर बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । टेलिकमको बजार पूँजीकरण २ खर्ब २अर्ब २० करोड रुपैयाँ छ ।
यस्तै, नेपाल लाइफ इन्स्योरेन्स १ खर्ब ६९ अर्ब १२ करोड पूँजीकरण सहित दोस्रो ठूलो कम्पनीको रुपमा रहेको छ । आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ३१ प्रतिशत बोनस सेयर दिएसँगै नेपाल लाइफको पूँजीकरण बढेर दोस्रो स्थानमा पुगेको हो ।
यस्तै, बजार पूँजीकरणका आधारमा नागरिक लगानी कोष १ खर्ब २४ अर्ब पाँचौं ठूलो कम्पनी बनेको छ भने एनआइसी एशिया बैंक १ खर्ब १ अर्बसहित छैटौं स्थानमा रहेको छ ।
दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाएको ग्लोबल आइएमई बैंक ७३ अर्ब ७६ करोड सातौं, ७३ अर्ब ४९ करोडसहित प्राइम कमर्शियल बैंक आठौं, ७३ अर्ब ४२ करोड पूँजीकरण रहेको नेपाल इन्भेष्टमेन्ट बैंक नवौं र ७० अर्ब ४० करोड रुपैयाँ पूँजीकरणभएको शिवम सिमेन्ट दशौं ठूलो कम्पनीको रुपमा रहेको छ ।
नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण ३२ खर्ब ६६ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।