नेप्सेमा दोहोरो अंकको करेक्शन आउँदा पनि यी ४ कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्शन आएको छ । सोमबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको बजारमा आज करिब १८ अंकको करेक्शन आएको हो ।

 

सोमबार नेप्सेले अहिलेसम्मकै उच्च विन्दु २४४० विन्दु चुम्दै इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको थियो ।

 

आज सेयर बजार मापक सूचक नेप्से १७.७९ अंकले घटेर २४२३.०९ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ८ अर्ब २७ करोड ९६ लाख ९४ हजार ७४७ रुपैयाँ बराबरको १ करोड ९६ लाख ६ हजार ५४५ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये होटल र फाइनान्स बाहेका अन्य सबै समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूहको परिसूचक सबैभन्दा धेरै ५४.०५ अंकले बढेको छ भने निर्जीवन बीमा समूह ९८.५७ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०७ कम्पनीमध्ये ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । आव २०७५/७६ को नाफाबाट घोषणा गरेको ५१ प्रतिशत लाभां सुरक्षित गर्ने अन्तिम दिन हुँदा लगानीकर्ता यसको सेयरमा झुम्मिएका हुन् । आज सबैभन्दा धेरै यसको मात्रै १ अर्ब ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

 

कारोबार रकमकै आधारमा नेपाल बैंक ५२ करोड र शिखर इन्स्योरेन्स २३ करोड सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले घटेको आज बजारमा ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गुराँस लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, युनाइटेड फाइनान्स र एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज शिव श्री हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ४.९५ प्रतिशत गुमाएका छन् ।

ओलीको सर्वसत्तावाद र कांग्रेसको अबको भूमिका Read Previous

ओलीको सर्वसत्तावाद र कांग्रेसको अबको भूमिका

अब इञ्जिनीयर बन्न लाइसेन्स परीक्षा पास गर्नु पर्ने Read Next

अब इञ्जिनीयर बन्न लाइसेन्स परीक्षा पास गर्नु पर्ने