देशभरका २३ साना विमानस्थल स्तरोन्नतिले गति लिँदै, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले साना आन्तरिक विमानस्थलहरू स्तरोन्नती तथा निर्माण कार्य गरिरहेको छ । कोभिड १९ का कारण बीचमा सुस्त भएको विमानस्थलहरूको स्तरोन्नतिले पछिल्लो ६ महिना यता गति लिएको हो ।

 

सरकारले देशभरका विमानस्थल निर्माणका लागि ५ वर्षे योजना बनाएको छ । जस अन्तर्गत देशभरका ३१ विमानस्थहरू स्तरोन्नति र आधुनिकीकरण गर्न लागिएको हो ।

 

ठूला आन्तरिक विमानस्थल अन्तर्गत चन्द्रागढी, भरतपुर, विराटनगर, राजविराज, नेपालगञ्ज तथा धनगढी विमानस्थल विस्तार र स्तरोन्नतिका लागि गुरु योजना बनाइएको छ ।

 

यसैगरी, देशभरका २१ साना विमानस्थलको स्तरोन्नतिको काम धमाधम भइरहेको छ भने २ विमानस्थलमा निर्माण सम्पन्न गरी सञ्चालनमा समेत ल्याइसकिएको छ ।

 

अहिले जोमसोम विमानस्थल, रारा विमानस्थल, साँफे विमानस्थल, रामेछाप विमानस्थल, लामिडाँडा विमानस्थल, खिजि–चन्द्रेस्वरी विमानस्थल, इलाम विमानस्थल, गुल्मी विमानस्थल, बैतडी विमानस्थल, बजाङ विमानस्थल, रुम्जाटार विमानस्थल, डोटी विमानस्थल, फाप्लु विमानस्थल, डोल्पा विमानस्थल, खानीडाँडा विमानस्थल, थमखर्क विमानस्थल, कालिकोट विमानस्थल, महेन्द्रनगर विमानस्थल लगायतका विमानस्थलको स्तरोन्नतिको काम भइरहेको छ ।

 

क्यानका अनुसार हाल देशभर ५४ विमानस्थलमध्ये ३२ विमानस्थल सञ्चालनमा छन् । यी विमानस्थलमध्ये ३५ विमानस्थलको धावनमार्ग पक्की रहेको छ । अहिले मुलुकमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ ।

 

यस्तो छ देशभरका साना विमानस्थलको पछिल्लो अवस्था

 

सिमीकोट विमानस्थल

 

हुम्लाको सिमिकोट विमानस्थलमा एप्रोन तथा हेलिप्याड निर्माण कार्य माटोको काम सम्पन्न भएको छ । निर्माणका क्रममा बेस कुटने कार्य जारी छ । धावनमार्ग, ट्याक्सीवे, ऐप्रोन ओभरले एंव फेन्सिङ कार्य धावनमार्गको ओभरले एवम् मार्किङ कार्य सम्पन्न भइ फेन्सिङ कार्य जारी छ ।

विमानस्थलमा टर्मिन भवन निर्माणको काम सम्पन्न भएको छ । धावनमार्ग निर्माणको काम भइरहेको छ । विमानस्थलमा ३ डिएचसी–६ जस्ता विमानहरू पार्क गर्न सक्ने गरी पार्किङ स्थल निर्माण गरिने भएको छ । यसका लागि कुल २० करोड लागत अनुमान गरिएको छ ।

 

ताप्लेजुङ विमानस्थल

 

ताप्लेजुंङ विमानस्थलमा धावनमार्ग विस्तार तथा विमानस्थल सुदृढीकरण आयोजनाको जमिन कटान को काम ६० प्रतिशत सम्पन्न भइसकेको छ । रनवे विस्तारका क्रममा १५० मिटरमा कालोपत्र गर्ने कामको शुरूवात गर्ने तयारी भइरहेको छ ।

 

ताप्लेजुङ विमानस्थलमा हाल ७मिटरको रनवे रहेको छ । यसलाई ८५० मिटरमा स्तरोन्नति गर्न लागिएको हो । यसका लागि ८ करोड लागत अनुमान गरिएको छ । रनवे स्तरोन्नति पछि यस विमानस्थलमा एटीआर–४२ जस्ता विमानहरू सञ्चालन गर्न सकिने छ ।

 

रामेछाप विमानस्थल

 

रामेछाप विमानस्थलमा चालू आवबाट धावनमार्ग विस्तार कार्यको ठेक्का सम्झौता भई निर्माण कार्य शुरू भएको छ । यस विमानस्थलमा रिभर ट्रेनिङ, रिटेनिङ स्ट्रक्चर तथा ड्रेनेज निर्माण कार्यको रिभर ट्रेनिङको कार्य सम्पन्न भएको छ ।

 

रामेछाप विमानस्थलमा नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर निर्माण कार्य डिजाइन, ड्रइंग, तयार गरिँदै छ । हाल ५३० मिटर लामो रनवे रहेकोमा मास्टर प्लान अनुसार यसलाई विस्तार गरेर १ हजार मिटरमा स्तरोन्नति गरिने छ । रनवेको स्तरोन्नति पछि यस विमानस्थलमा एटीआर ४२ विमान समेत उडान गर्न सक्नेछन् ।

 

विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्नुका साथै कन्ट्रोल टावर निर्माण गरिने योजना रहेको छ । विमानस्थल स्तरोन्नतिका लागि २१ बिघा जमिन अधिग्रहण गर्नुपर्ने भएको छ । यस विमानस्थलको स्तरोन्नतिका लागि ७० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

 

लुक्ला विमानस्थल

 

लुक्ला विमानस्थलमा हेलिपोर्ट निर्माण कार्यका लागि चेनलेन फेन्सिङ, ड्रेनेग र टर्मिनल विल्डिङ निर्माणको काम सम्पन्न भइसकेको छ । साथै हेलिप्याडको एप्रोनमा बेस हाल्ने काम हुँदैछ । लुक्ला विमानस्थल स्तरोन्नतिका क्रममा त्यहाँ हेलिकप्टर पार्किङ स्थल बनाइन लागिएको छ । विमानस्थलमा ६ वटासम्म हेलिकप्टर अट्ने छ । हेलिकप्टरका लागि छुट्टै टर्मिनल भवन निर्माण गरिने भएको छ । विमानस्थलमा ५२७ मिटर रनवे बनाइने छ ।

 

गुल्मी विमानस्थल

 

गुल्मीको रेसुंगा विमानस्थलमा धावनमार्ग ट्याक्सीवे एप्रोन कालोपत्र, ड्रेनेज तथा अन्य निर्माण कार्यको ड्रेनको काम ५० प्रतिशत सकिएको छ । विमानस्थलमा चेनलिङ्क फेन्सिङ निर्माण कार्यको साईट किलियर गरी पर्खाल र ग्याबिन लागाउने काम जारी छ । टर्मिनल भवन र कर्मचारी आवास गृह निर्माण कार्य पिल्थ लेबल सम्मको काम सकिएको छ ।

 

डोल्पाका जुफाल र मसिनेचौर विमानस्थल

 

डोल्पाका २ विमानस्थलमा धमाधम काम भइरहेको छ । जुफाल विमानस्थलमा चेनलिङ्क फेन्सीङ निर्माण कार्य चेनलिङ्क फेन्सीङ निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

 

यस्तै, मसिनेचौर विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन कालोपत्र तथा ड्रेनेज निर्माण कार्य अन्तिम चरणमा रहेको छ । विमानस्थलमा टर्मिनल भवन निर्माण कार्यको रंगरोगन गर्ने कार्य हुँदैछ ।

 

जोमसोम विमानस्थल

 

जोमसोम विमानस्थलमा विमानस्थल विस्तारको लागि परामर्श दाक्ता नियुक्त गरी सर्भे गर्ने काम सम्पन्न भएको छ । जोमसोम विमानस्थलमा नदी नियन्त्रण तथा विमानस्थल सुदृढीकरण कार्यको लागि डिजाइन, द्रइङ तथा लागत अनुमानको तयार हुँदै छ ।

 

जोमसोम विमानस्थलमा ८१५ मिटरको रनवे कालोपत्र गर्ने काम पूरा भएको छ । जोमसोमका लागि एटीआर–४२ विमान सञ्चालन गर्ने योजना बनाइएको छ । अबको साढे २ वर्षमा जोमसोमको रनवेलाई ३०० मिटर थप गरिने योजना रहेको छ । यसका लागि अध्ययन भइरहेको क्यानले जनाएको छ ।

 

रारा विमानस्थल

 

राराको मुगु विमानस्थलमा एप्रोन तथा धावनमार्गको पूर्व पट्टी पहिरो नियन्त्रण कार्य वहुवर्षिय आयोजना अन्तर्गत भइरहेको छ । माइक्रो पिलिङको काम भने सम्पन्न भइसकेको छ ।

यस विमानस्थलमा टर्मिनल टावर भवन निर्माण कार्यको ड्याम्प प्रुफ कोर्स (डीपीसी) गर्ने काम सम्पन्न भई टर्मिनल भवन र कन्ट्रोल टावर निर्माण गरिँदै छ । रनवे विस्तारका लागि भने सम्भावना नभएकाले त्यसमा केही भएको छैन । यसमा हाल बन्ने भौतिक निर्माणका लागि १४ करोड लागत अनुमान गरिएको छ ।

 

तुम्लिङटार विमानस्थल

 

तुम्लिङटार विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण अन्तर्गत एक तल्ले भवन को पूरै स्ल्याब ढलान भइसकेको, ढुंगामाटो तथा ढलानको कम भइरहेको छ । विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन ओभरले तथा ड्रेनेज सुधारका क्रममा फायर एक्सेस रोड निर्माणका लागि सब ग्रेड बनाउने तयारी भइसकेको छ । साथै गिट्टी ढुंगा संकलन भइरहेको छ ।

 

सिमरा विमानस्थल

 

यस विमानस्थलमा पेरिफेरि रोड तथा एक्सेस रोड निर्माण कार्य तथा धावनमार्ग, ट्याक्सीवे ओभरले कार्यका टेण्डर आवहान भएको छ । यस विमानस्थलमा कन्ट्रोल टावर तथा अफिस भवन निर्माण निर्माण कार्य जारी रहेको छ ।

 

साँफेबगर विमानस्थल

 

यस विमानस्थलमा टावर, टर्मिनल भवन निर्माण कार्यको ठेक्का सम्झौता भई निर्माण कार्य शुरू भएको प्राधिकरणले जनाएको छ । विमानस्थलमा चेनलिंक फेन्सिङ निर्माण कार्यको पोल फिटिङ र नेट लेइङको काम हुँदै छ ।

 

अन्य विमानस्थलहरू

 

यस्तै कालीकोट विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन कालोपत्र तथा ड्रेनेज निर्माण कार्यका लागि वाल कन्स्ट्रक्सन, बेस कोर्स लेइङ र नेट लेइङको काम भइरहेको छ । विमानस्थलमा चेनलिङ्क फेन्सीङ, पोल फिटिङको काम हुँदै छ ।

 

बाजुरा विमानस्थलमा एक्सेस सडक, फेन्सिङ तथा टेवा पर्खाल निर्माण कार्यको रिटेन्डिङ वाल हाल्ने काम भइरहेको छ ।बाग्लुङ वलेवा विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन, कालोपत्र तथा फेन्सिङ ड्रेनेज तथा अन्य निर्माण कार्यको माटोको कार्य हुँदैछ ।

 

पालुङटार विमानस्थलमा धावनमार्ग ट्याक्सीवे, एप्रोन, ड्रेनेज, एक्सेस रोड, पेरिफेरी रोड निर्माण कार्यको विमानस्थलमा आवश्यक पर्ने फलामको पोस्टहरू, बारबेड वायर अर्डर भइसकेको छ ।

 

महेन्द्रनगर विमानस्थल सुदृढीकरण कार्य लागत अनुमान तयार गर्ने कार्य सम्पन्न भएको छ । इलाम विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन कालोपत्र, ड्रेनेज, फेन्सिङ तथा अन्य कार्यको अर्थवर्क, सब बेस, बेस, ड्रेनेज लगायत कार्य सम्पन्न भइसकेको र कालो पत्र गर्ने तयारी हुँदैछ ।यस्तै, स्याङबोचे विमानस्थलमा धावनमार्ग, ट्याक्सीवे, एप्रोन, ड्रेनेज निर्माण कार्य गर्नको लागि सर्भेको काम सम्पन्न भएको छ ।

 

सञ्चालनमा आएका विमानस्थल

 

बझाङ विमानस्थलमा रनवे, ट्याक्सीवे तथा एप्रोन कालोपत्र तथा टेवा पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ । २०७७ असोज १७ मा परिक्षण उडान गरी सो विमानस्थल सञ्चालनमा आइसकेको छ ।

 

बैतडी विमानस्थल तथा डोटी विमानस्थलमा समेत यही असोज १७ मा परिक्षण उडान गरि विमानस्थल सञ्चालनमा आइसकेको हो ।

कुमारी बैंकको नाफामा छलाङ, वितरण योग्य नाफा कति ? Read Previous

कुमारी बैंकको नाफामा छलाङ, वितरण योग्य नाफा कति ?

माघ १४ देखि कोरोना खोप अभियान शुरू हुँदै, ४ लाख ३० हजारलाई लगाइने Read Next

माघ १४ देखि कोरोना खोप अभियान शुरू हुँदै, ४ लाख ३० हजारलाई लगाइने