काठमाडौं । चन्द्रागिरी हिल्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका आज भएको बाँडफाँट अनुसार भाग्यमानी १ लाख ३९ हजार ६०२ जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । तीमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात ११/११ कित्ता सेयर पाएका छन् ।
कम्पनीको आइपीओमा कुल १२ लाख ११ हजार ११५ जनाले आवेदन दिएका थिए । सोमध्ये १० लाख ७१ हजार ५१३ आवेदकको भने हात रित्तो भएको छ ।
कम्पनीले पुस २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको थियो ।
यसमध्ये ४ प्रतिशत (६१ हजार ३६४ कित्ता) कर्मचारी, ५ प्रतिशत (७६ हजार ७०५ कित्ता) सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधरणका लागि खुला गरिएको थियो ।