काठमाडौं । चन्द्रागिरी हिल्सको प्राथमिक साधरण सेयर (आइपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार प्रि अलोटमेन्ट सकिएसँगै शुक्रबार आइपीओ बाँडफाँट गर्न लागिएको हो ।
कम्पनीको आइपीओमा आवेदन दिएका साढे ४५ हजार बढी आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा परेको कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदनमध्ये १२ लाख ११ हजार ११५ आवेदन मात्रै प्रक्रिया पूरा भएका छन् ।
बाँकी ४५ हजार ६३१ आवेदन प्रक्रिया पूरा नभएकाले रद्द भएको क्यापिटलले जनाएको छ । बैंक खातामा रकम नभएका, दोहोरो आवेदन परेका लगायत कारण ती आवेदन रद्द भएका हुन् ।
१२ लाख ११ हजार आवेदनमध्ये १ लाख ३९ हजार ६०० भाग्यमानीले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउने छन् भने बाँकी १० लाख ७१ हजार ५१५ जनाको हात रित्तो हुनेछ।
कम्पनीले पुस २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको थियो ।
यसमध्ये ४ प्रतिशत (६१ हजार ३६४ कित्ता) कर्मचारी, ५ प्रतिशत (७६ हजार ७०५ कित्ता) सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधरणका लागि खुला गरिएको थियो ।