महानगरको ६ महिनाको प्रगति : २३ किमी सडक कालोपत्र, २ आकाशे पुल निर्माण

काठमाडौं । काडमाडौं महानगरपालिकाले आर्थिक वर्षको पहिलो ६ महिनामा ६९ पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको जनाएको छ ।

 

यस अवधिमा कामपाको अघिकार क्षेत्रभित्र पर्ने २३ किलोमिटर सडक कालेपत्र र ३४ हजार १६५ वर्गमिटर सडक मर्मत गरिएको छ । चार वडा भवन, दुई अन्य भवन र दुई आकाशे पुल निर्माण सम्पन्न गरिएको कामपाले जनाएको छ ।

 

त्यसैगरी ३ किलोमिटर सडक ढलान गरिएको छ । ९७२ मिटर ढल राख्ने र ८६० मिटर ब्लक छाप्ने काम सकिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । कामपाभित्र करिब १ हजार ४५० किलोमिटर पक्की सडक छ ।

 

कामपाले ८ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्छ । कामपाभित्र ८ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

 

२०१ चालू अवस्थामा र १६५ गएको वर्षबाट दायित्व सरेर आएका गरी ३६६ मध्ये २२५ कार्यान्वयन चरणमा छन् भने ७२ वटा शुरु हुन बाँकी रहेको कामपाले जानकारी दिएको छ । यता सामाजिक विकासतर्फ १ अर्ब ६२ करोडको योजना छन् ।

 

सामाजिक सुरक्षासम्बन्धी कामपाले लिएका २३ नीतिका आधारमा विभागले आन्तरिक स्रोतबाट गर्ने गरी ७७, नेपाल सरकारबाट प्राप्त सःशर्त अनुदानबाट २४ र प्रधानमन्त्री रोगजार कार्यक्रमबाट आठ गरी १०९ कार्यक्रम तय गरेको छ । तीमध्ये ६६ कार्यक्रम शुरु गरिसकिएका र ३२ कार्यक्रम कार्यान्वयनको चरणमा छन् ।

 

त्यसैगरी आयतर्फ अहिलेसम्म ३ अर्ब १० करोड राजश्व सङ्कलन भएको छ । गएको वर्ष यस अवधिमा ४ अर्ब २२ करोड सङ्कलन भएको थियो । लक्ष्यका आधारमा गएको वर्षको पहिलो ६ महिनामा ३५ प्रतिशत राजश्व प्राप्त भएको थियो भने यस वर्ष २९ प्रतिशत प्राप्त भएको छ ।

 

सङ्कलित रकममध्ये १ अर्ब ७५ करोड अनलाइन प्रणालीबाट प्राप्त भएको हो । कामपाका मुख्य कर शीर्षकहरुमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन करलगायत छन् ।

 

कामपाले चालू आवमा १४ अर्ब २६ करोड ६५ लाख बजेट विनियोजन गरेको थियो । कामपा भौतिक पूर्वाधार विभागका लागि चालू आवको विनियोजित बजेट ३ अर्ब १ करोड ६१ लाख ६ हजार छ ।

खाने तेलको मूल्य अस्वभाविक बढाउने दुई उद्योगलाई कारबाही Read Previous

खाने तेलको मूल्य अस्वभाविक बढाउने दुई उद्योगलाई कारबाही

सरकारलाई सर्वोच्चको झड्का, तत्काल कृषिमा विदेशी लगानी खुला नगर्नू Read Next

सरकारलाई सर्वोच्चको झड्का, तत्काल कृषिमा विदेशी लगानी खुला नगर्नू