काठमाडौं। करिब ८ दिनसम्म लगातार बढेको बजारमा आज ५.५७ अंकको झिनो करेक्सन आएको छ । तर सानो करेक्सन आएको दिन पनि नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा भने उछाल आएको छ । आज नेपाल लाइफको सेयर ९.०९ प्रतिशतले बढ्दा प्रति कित्ता २२४ अंकले बढेको छ । आज कारोबार रकममा पनि नेपाल लाइफले सबैलाइ उछिनेको छ । कुल कारोबार ७ अर्ब ४६ करोड भएकोमा नेपाल लाइफको मात्र झण्डै ९२ करोड रुपैयाँको कारोबार भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले आगामी साधारण सभामा ‘सेयर स्प्लीट’ गर्ने प्रस्ताव लैजाने बताएसँगै लगानीकर्ताहरु यो कम्पनीको सेयरमा आकर्षित भएका हुन् । कम्पनीले सम्बन्धित निकायबाट स्वीकृती प्राप्त गरेपश्चात प्रति सेयर फेस भ्याल्यु १०० रुपैयाँबाट ५० रुपैयाँ कायम गर्ने र सेयर संख्या दोब्बर पार्ने प्रस्ताव साधारण सभामा लैजाने उल्लेख गरेको छ ।
यसको मतलब तपाईंसँग यस कम्पनीको १०० कित्ता सेयर छ भने सेयर स्प्लीट पश्चात तपाईंसँग २०० कित्ता सेयर हुनेछ । तर कम्पनीको सेयर मूल्य पनि सोहि अनुसार आधा घट्नेछ । यसले तपाईंको नेट वर्थमा तात्विक फरक भने पर्दैन । तात्विक फरक नपार्ने भएपनि सेयर स्प्लीटको समाचार बाहिर आएसँगै लगानीकर्ताहरु यो कम्पनीको सेयरमा झुम्मिएका छन् । मानिसहरुमा यसले केही मनोबैज्ञानिक प्रभाव पारेको देखिन्छ ।
सेयर स्प्लीटलाई सकारात्मक ‘सेन्टीमेन्ट’कै आधारमा चर्चा गर्ने चलन विश्वभरी नै छ । यो क्रियाकलापले कम्पनीको सेयरमा बुलिस ट्रेण्ड ल्याउने गरेको पनि उदाहरणहरु प्रशस्तै छन् । यो उदाहरण आजै नेपाल लाइफको सेयरमा चरितार्थ भयो पनि
मान्नुस तपाईंसँग १०० रुपैयाँको नोट छ र कसैले तपाईंलाई त्यसको साटो ५० रुपैयाँको दुईवटा नोट दिन्छु भन्यो । यसले तपाईंको कुल सम्पक्तिमा के फरक पार्छ ? केही पनि पार्दैन । १०० रुपैंयाको नोटको साटो दुईवटा ५० रुपैयाँको नोट लिनु कुनै पनि हिसाबले फाइदाजनक कारोबार होइन ।
तर सेयर स्प्लीटको सन्र्दभमा चाँही कुरा अलि फरक पर्ने रहेछ । मानिसहरुमा केही मनोबैज्ञानिक प्रभाव परे जस्तो देखिएको छ । मानिसहरु सेयर किन्न झुम्मिएका छन् । अन्तराष्ट्रिय बजारमा पनि सेयर स्प्लीट गर्ने चलन छ । त्यहाँ पनि लगानीकर्ताहर कुनै न कुनै रुपले यसप्रति आकर्षित हुने गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
सेयर स्प्लीट गर्नुका कारण
कम्पनीहरुले विभिन्न कारणले आफ्नो सेयर स्प्लीट गर्ने गर्छन् । कम्पनीको सेयर बढेर धेरै उच्च विन्दुमा पुगेको अनुभुति भएपछि साना लगानीकर्ताको पहुँचमा पनि कम्पनीको सेयर होस भनेर कम्पनीहरुले सेयर स्प्लीट गर्ने गर्छन् । नेपाल लाइफ इन्स्योरेन्सको सेयर प्रति कित्ता २५०० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको थियो । सेयर स्प्लीटको गर्ने समाचार बाहिरिए पछि भने आज प्रतिकित्ता २२४ रुपैयाँले सेयर मूल्य बढेको छ ।
सेयर स्प्लीटले सेयरको नेटवर्थमा आधारभुत परिर्वतन केही नहुने भए पनि मानिसहरुको सेयर प्रतिको दृष्टिकोणमा फरक पर्ने जानकारहरु बताउँछन् । सेयर स्प्लीट भएसँगै आफुसँग भएको सेयर संख्या बढ्ने भएका कारण सेयरको मूल्य बढ्दा कारोबारको लागि धेरै सेयर संख्या समेत उपलब्ध हुने हुन्छ ।
सेयर स्प्लीट गर्नुको अर्को कारण भनेको सेयरको तरलता बढाउनु पनि हो । यसले सूचिकृत सेयरको संख्या बढाउँछ ।
यी कारणहरु वित्त शास्त्रको आधारभुत दुष्टिकोणले हेर्दा भने असान्र्दभिक नै लाग्छन् । तर कम्पनीका क्रियाकलाप र आम लगानीकर्ताहरुको व्यवहारलाई कसरी समग्र रुपमा वित्त शास्त्रले शास्त्रीय ढंगले समेट्न सक्दैन भन्ने गतिलो उदाहरण पनि हो यो ।
सेयर स्प्लीटले लगानीकर्तालाई के फाइदा हुन्छ ?
यस सन्र्दभमा विश्वव्यापी रुपमै धेरै बहसहरु भएका छन् । यसले लगानीकर्ताहरुलाई फाइदा हुन्छ की घाटा भन्ने विषयमा प्रशस्तै चर्चाहरु नभएका पनि होइनन् । तर त्यस्तो ठोस निश्कर्ष नै भने आएको छैन ।
सेयर स्प्लीट गरेको कम्पनी राम्रो छ, त्यसैले सेयर मूल्य उच्च छ । यो कम्पनीमा लगानी गर्दा राम्रै होला भनेर कम्पनीका बारेमा आधारभुत बिश्लेषण गर्न भने यसले नसघाउने होइन । यो आम लगानीकर्ताको लागि फाइदाकै कुरा होला । तर, यो कुरा पनि उतिकै सत्य हो की यसले कम्पनीलाई आधारभुत रुपमा भने कही पनि फरक पार्दैन ।
यसका वावजुद सेयर स्प्लीटलाई सकारात्मक ‘सेन्टीमेन्ट’कै आधारमा चर्चा गर्ने चलन विश्वभरी नै छ । यो क्रियाकलापले कम्पनीको सेयरमा बुलिस ट्रेण्ड ल्याउने गरेको पनि उदाहरणहरु प्रशस्तै छन् । यो उदाहरण आजै नेपाल लाइफको सेयरमा चरितार्थ भयो पनि ।