इतिहासकै ठूलो आइपीओ ल्याएको पूर्वाधार बैंकमा को-को छन् प्रमोटर सेयर होल्डर ?

काठमाडौं । देशमा ठूला पूर्वाधार आयोजनाहरुमा लगानी गर्ने उद्देश्यका साथ खोलिएको पहिलो बैंक हो नेपाल पूर्वाधार विकास बैंक ।

 

२०७५ माघ २८ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत पाएको बैंक २०७५ फागुन २२ बाट औपचारिक रुपमा संचालनमा आएको हो ।

 

बैंकले यातायात, कृषि, पर्यटन, ऊर्जा, जलविद्युत्, सहरी पूर्वाधार, सूचनाप्रविधि लगायत क्षेत्रमा लगानी गर्छ ।

 

बैंकले हालसम्म एक सोलार परियोजना, ४ वटा हाइड्रोपावर, एक सिमेन्ट उद्योग र एउटा पाँचतारे होटेलसहित ८ परियोजनामा ८ अर्ब ३५ करोड रुपैयाँ लगानी सम्झौता गरिसकेको छ । जसमध्ये १ अर्ब १२ करोड लगानी भइसकेको छ । बैंकले आफ्नो पहिलो लगानी कास्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती जलविद्युत परियोजनामा गरेको छ ।

 

बैंकको अधिकृत पूँजी ३४० अर्ब, जारी पूँजी २० अर्ब र हाल चुक्तापूँजी १२ अर्ब रहेको छ भने आइपीओ विक्रीपछि चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

 

बैंकले चुक्ता पूँजी वृद्धि गर्न हाल नेपाली सेयर बजार इतिहासकै सबैभन्दा ठूलो प्राथमिक साधरण सेयर आइपीओ जारी गरेको छ । बैंकले माघ २ गतेदेखि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ जारी गरेको छ ।

बैंकमा संस्थापक लगानीकर्ताको हिस्सा ६० प्रतिशत (१२ अर्ब) छ भने सर्वसाधरणको हिस्सा ४० प्रतिशत (८ अर्ब) रहेको छ ।बैंकमा नेपाल सरकार (अर्थमन्त्रालय), विभिन्न वाणिज्य बैंक, इन्स्योरेन्स कम्पनी, व्यावसायीक घरानाहरु, इन्भेष्टमेन्ट कम्पनी, उद्योगी लगायत गरी ४० संस्था/व्यक्ति (प्रमोटर) सेयर होल्डरका रुपमा रहेका छन् ।

 

बैंकको प्रमोटर सेयरहोल्डर मध्ये सबैभन्दा धेरै स्वामित्व अर्थ मन्त्रलायको रहेको छ । बैंकका मन्त्रालयको सेयर हिस्सा १० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ लगानी रहेको छ ।

 

बैंकमा विभिन्न वाणिज्य बैंकको १९ प्रतिशत, बीमा कम्पनीहरुको १८ प्रतिशत, कर्पोरेट हाउसहरुको ५ प्रतिशत, विभिन्न व्यक्तिहरुको ७ प्रतिशत लगानी रहेको छ ।

 

बैंकको प्रमोटर सेयर होल्डरका रुपमा एनआइसी एशिया बैंकको १ अर्ब, ग्लोबल आइएमई १ अर्ब ९ करोड, प्रभु बैंक ९८ करोडसहित विभिन्न वाणिज्य बैंकको ३ अर्ब ८० करोड रुपैयाँ लगानी रहेको छ ।

 

यस्तै, बैंकमा संस्थापक लगानीकर्ताको रुपमा नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ७९ करोड, नेपाल पुनर्बीमा कम्पनी ४९ करोड ४२ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ८४ करोड, एशियन लाइफ इन्स्योरेन्स ३५ करोडसहित १ दर्जन बढी बीमा कम्पनीहरुले ३ अर्ब ६० करोड लगानी गरेका छन् । बैंकमा बीमा कम्पनीहरुको कुल सेयर सेयर हिस्सा १८ प्रतिशत रहेको छ ।

 

यस्तै, बैंकमा विशाल ग्रुप १५ करोड, इमर्जिङ नेपाल २५ करोडसहित विभिन्न कर्पोरेट हाउसहरुले १ अर्ब रुपैयाँ लगानी गरेका छन् । यिनको सेयर हिस्सा ५ प्रतिशत रहेको छ ।

 

बैंकका जीननाथ लामिछाने १२ करोड ५० लाख, नितेश अग्रवाल, २४ करोड २५ लाख, चन्द्रप्रसाद ढकाल १२ करोडसहित विभिन्न व्यक्तिहरुले १ अर्ब ४० करोड रुपैयाँ सेयर लगानी छ । बैंकमा व्यक्तिगत प्रमोटर सेयर होल्डरको सेयर हिस्सा ७ प्रतिशत रहेको छ ।

 

कम्पनीको वित्तीय अवस्था

 

बैंकले चालू आवको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १२।४३ प्रतिशतले कमी हो । बैंकले गत आवको पहिलो त्रैमासमा २० करोड ५७ लाख खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १८ करोड १ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।बैंकले २८ अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

 

समीक्षा अवधिमा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ७.०६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ ११३.६२ रुपैयाँ रहेको छ ।

कोरोनाका बीच नयाँ उद्योग खुल्ने क्रम बढ्दै, ६ महिनामा ७२ अर्ब लगानी प्रस्ताव Read Previous

कोरोनाका बीच नयाँ उद्योग खुल्ने क्रम बढ्दै, ६ महिनामा ७२ अर्ब लगानी प्रस्ताव

भारतले पाम आयल निर्यातमा प्रतिबन्ध लगाउँदा ९० प्रतिशत उद्योग धराशायी हुँदै Read Next

भारतले पाम आयल निर्यातमा प्रतिबन्ध लगाउँदा ९० प्रतिशत उद्योग धराशायी हुँदै