ग्लोबल आइएमई बैंकको १६ प्रतिशत लाभांश पारित, अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित
चाणक्य पोष्ट
प्रकाशित : 4:25 pm, बुधबार, पुस २९, २०७७

काठमाडाडैं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्ताव गरेको १६ प्रतिशत लाभांश पारित भएको छ ।

 

बुधबार सम्पन्न बैंकको १४ औँ वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश वितरण गरेको हो ।

 

बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

 

साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताए ।

 

उनले बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको बताए ।

 

अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

 

आजै सम्पन्न साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ ।

 

अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहेका छन् ।

 

नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन् ।

Advertisement Section