नांगिएको छवि ढाक्न फेरि अर्को ‘भुत्ते’ राष्ट्रवादको तुरुप
चाणक्य
प्रकाशित : 4:11 pm, मंगलबार, पुस २८, २०७७

काठमाडौं । देशमा हिजोदेखि फेरि राष्ट्रवादी माहौल तातेको छ । कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरेर जनप्रतिनिधि संस्था मासेपछि मानिसहरू अलिक निराश देखिएका थिए । राजनीतिक अस्थिरताले फेरि नेपाललाई गाँज्ने होकी भनेर उनीहरू अत्तालिएका थिए ।

 

तर, हिजो देखि एकाएक उनीहरूको अनुहारमा खुसीका किरणहरू देखिन थालेका छन् । हौसिएका औंलाहरू सामाजिक सञ्जालमा रमाइलो मान्दै चलमलाउन थालेका छन् । प्रधानमन्त्रीले एक भारतीय सञ्चार माध्यमलाई ‘बेजोड’ अन्तर्वार्ता दिएका कारण मानिसहरू रमाएका छन् ।

 

आफ्नो देशलाई स्वभाविक रूपमा माया गर्नु राष्ट्रभक्ति हो भने अरुसँग तुलना गरेर अरुभन्दा विशिष्ट हुँ भन्नु राष्ट्रवाद हो । राष्ट्रभक्तिको मूल भावना प्रेम हो भने राष्ट्रवादको मूल भावना घृणा हो ।

 

आफ्नो घरमा आगो झोसेर छिमेकीसँग नक्कली ढंगले पाखुरा सुकर्ने घरमूली प्रति मानिसहरू नतमस्तक भएका छन् । एकपटक फेरि मानिसहरू भित्र गढेर रहेको राष्ट्रवाद बाहिर निकाल्न र आफू पक्षमा थोरबहुत माहौल बनाउन प्रधानमन्त्री ओली सफल देखिएका छन् ।

 

नेपाली राष्ट्रवाद

 

राष्ट्रवाद नेपाली राजनीतिको सधैं धारिलो हतियारको रूपमा रहँदै आएको छ । मानिसहरूको भावनामा निकै गहिरोसँग गढेर बसेको यो भावना राजनीति गर्ने टाठाबाठा नेता र राजा महाराजाले समेत यो हतियारले अन्ततः सामान्य जनताकै घाँटी रेट्दै आएको इतिहास हाम्रै सामु छ । तर, पनि किन हो सामान्य मानिसहरु यसको हेक्का नै राख्दैनन् ।

 

नेपालीहरूमा किन हो हो नेपाल प्रति अति नै धेरै गर्व छ । उनीहरूलाई लाग्ने गरेको छ कि नेपाल संसारकै सबैभन्दा विशिष्ठ देश हो । नेपाल जत्तिको गर्विलो इतिहार र सुन्दर भूगोल भएको देश विश्वमै छैन भन्ने सामान्य मानिहसरुको बलियो मत छ ।

 

वास्तवमा भन्ने हो भने अधिक गर्व र हिनताबोध बीच धेरै मसिनो धर्को मात्र हुन्छ । यी दुई भावनाहरू एक आपसमा गाभिइरहन्छन् । हरेक दृष्टिकोणले विश्वका अधिकांश देशहरू भन्दा पछाडि पर्दाको हिनताबोधलाइ अधिक गर्वमा रुपान्तरण गरेर आफ्नो रोटी सेक्न चतुर नेताहरू सधैं सफल रहँदै आएका छन् ।

 

वास्तवमा भन्ने हो भने जे कुरामा आफूले गरेको होइन वा ने विषयमा आफ्नो नियन्त्रण हुँदैन त्यसमा न गर्व गर्न जरुरी छ, न हिनताबोध पाल्न नै । त्यसैले नेपाली भएर जन्मनुमा न गर्व गर्न आवश्यक छ न हिनताबोध पाल्न नै । कुनै पनी मानिस आफ्नो रोजाइले कुनै देशमा जन्मिने त होइन नि !

 

अब आफू जन्मेको भूगोल प्रति मानिसहरूलाई माया त स्वभाविक रूपमै हुन्छ । आमाको काखमा भाषामा सिकेको भाषा सहज लाग्छ । आफू हुर्केको साँस्कृतिक धरातल रमाइलो लाग्छ । यो त आफ्नो माटो प्रतिको स्वभाविक प्रेम हो । यसमा कसरी राजनीति गर्न मिल्छ ?

 

जसरी अमेरिकीलाई अमेरिकाको माया लाग्छ, भारतीयलाई भारत सहज लाग्छ त्यसरी नै नेपालमा जन्मिनेलाई नेपालको माया लाग्छ । सहज लाग्छ । यसमा तुलनाको कुरा कहाँ छ ? कसैले तिम्रो आमाभन्दा मेरी आमा राम्रो भनेर झगडा गरेको सुन्नुभएको छ ?

 

आफ्नो देशलाई स्वभाविक रूपमा माया गर्नु राष्ट्रभक्ति हो भने अरुसँग तुलना गरेर अरुभन्दा विशिष्ट हुँ भन्नु राष्ट्रवाद हो । राष्ट्रभक्तिको मूल भावना प्रेम हो भने राष्ट्रवादको मूल भावना घृणा हो ।

 

राष्ट्रवादमा षड्यन्त्र हुन्छ । पछिल्लो समय नेपाली राजनीतिमा भू–राजनीतिक चासो ह्वात्तै बढेको छ । हिजो भारतसँग चर्का कुरा गरेका प्रधानमन्त्रीले केही समयअघि भारतीय जासुसी संस्थाका प्रमुखसँग बालुवाटारमै लामो कुरा गरेका थिए । त्यसपछि उनले संसद विघटन गरे । संविधान जारी गर्ने समयमा नेपालको राजनीतिमा आफ्नो ‘ओनरसीप’ नपाएर छटपटाएको भारत फेरि यहाँको राजनीतिमा ओनरसीप खोज्न लागिपरेको संकेतहरू देखिन थालेका छन् ।

 

यसै मेसोमा प्रधानमन्त्रीले भारतीय जासुसहरूलाई, ‘सरजी दो–चार मिडियावालोंको भेजदिजिए । हम पब्लिक कन्जम्पसनके लिए कुछ बोलेंगें । आप माइन्ड मत करिए । इससे हमारे पक्षमें माहौल बनेगा’ भनेर ट्टेफुटेको हिन्दीमा भनेनन् होला भनेर भन्न सक्ने कुनै आधार छैन । राष्ट्रवादी राजनीतिको अन्तर्यमा षड्यन्त्रका यस्तै तानाबानाहरू बुनिन्छन् ।

 

अब प्रधानमन्त्री अहिले पछिल्लो समय भारतीय सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता दिएर राष्ट्रभक्तिको राजनीति गर्दै छन् वा राष्ट्रवाद को ? यो प्रश्नको जवाफ खाज्ने जिम्मा पाठकवर्ग कै हो ।

Advertisement Section