काठमाडौं । चन्द्रागिरी हिल्सको प्राथमिक साधरण सेयर (आइपीओ) मा आवदेन दिने आज अन्तिम दिन रहेको छ ।
हिल्सले पुस २४ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमा आवेदन दिने अन्तिम दिन हो ।
निष्काशित कुल आइपीओ मध्ये ६१ हजार ३६४ कित्ता (४ प्रतिशत) कम्पनीका कर्मचारी र ७६ हजार ७०५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषकहरुका लागि छ्ट्याइएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा सर्वसाधरणले विक्री प्रबन्धक ग्लोलबल आइएमई क्यापिटल, धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा जारी गरेको थियो ।
अहिलेसम्म कतिले भरे ?
कम्पनीको आइपीओमा हालसम्म मागभन्दा १५ गुणा बढी आवेदन परेको छ ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबारसम्म कम्पनीको आइपीओमा १० लाख ६७ हजार ८९३ जनाले २ करोड १० लाख ५२ हजार ३२० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएको सेयरभन्दा १५.०८ गुणा बढी हो ।
कति कित्ता भर्नु उपयुक्त
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।
कम्पनीले सर्वसाधरणलाई १३ लाख ९६ हजार २२ कित्ता छुट्याएको छ । सो अनुसार कम्पनीको आइपीओ समानुपातिक रुपमा बाँड्दा १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले बाँड्न पुग्दछ। तर, अहिलेसम्म साढे १० लाख बढीले आवेदन दिइसकेकाले गोलाप्रथाबाट भाग्यशाली आवेदकले मात्र १० कित्ता पाउने देखिएको छ ।
सो आधारमा यस आइपीओमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने भएकाले १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।