टेस्लाको सेयर भाउ ह्वात्तै बढेपछि एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

बिहीबार टेस्लाको सेयरमा अचानक ठूलो वृद्धि भएसँगै कम्पनीका मालिक एलन मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा धेरै पुग्दा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

 

स्पेस एक्स र टेस्ला कम्पनीका प्रमुख मस्कले पहिलोपटक धनाढ्यको सूचीमा ३ वर्षदेखि लगातार शीर्ष स्थानमा रहँदै आएका अमेजोनका जेफ बेजोसलाई पछि पारेका हुन् ।

 

उनको विद्युतीय कार कम्पनी टेस्लाको मूल्यमा यो वर्ष लगातार वृद्धि भइरहेको छ । जसको बजार भाउ बुधबार अहिलेसम्मकै उच्च ७०० अर्ब डलर बराबर पुगेको हो । यसले टेस्लालाई अन्य ठूला कार कम्पनीहरु, टोयोटा, फक्सवागन, हुन्डाइ, जीएम, फोर्डलाई मिलाउँदा पनि तिनीहरुभन्दा मूल्यवान् कम्पनी बनाइदिएको छ ।

 

यस्तोमा यो खबरको अनौठो प्रतिक्रिया दिएकाबारे पनि अहिले मस्कको चर्चा भइरहेको छ । व्यक्तिगत सम्पत्तिबारे उनको विचार यस प्रकार रहेको छ, ‘मेरो आधाभन्दा बढी सम्पत्ति पृथ्वीका समस्याहरु समाधान गर्नका लागि समर्पित छ र बाँकी आधाचाहिँ यदि, पृथ्वीसँग कुनै ठूलो तारा ठोक्किएर डाइनोसोर जसरी नै हाम्रो विनाशको दिन आयो भने या तेस्रो विश्वयुद्ध भएको खण्डमा हामी आफैँ विनाशतर्फ लाग्यौँ भने त्यस्तो परिस्थितिमा मानव जीवन जारी राख्न, मंगल ग्रहमा आत्मनिर्भर सहर सुनिश्चित गर्न मद्दत गर्नका लागि प्रयोग हुनेछ ।’

 

यता, बेजोसको सम्पत्तिमा पनि यो एक वर्षमा धेरै ठूलो वृद्धि देखिएको छ । कोरोना महामारीको अवधिभरि अमेजोनले अनलाइन स्टोर र कम्प्युटिङ सेवाको उच्च मागबाट अत्याधिक लाभ कमाएको छ । तर, उनले यसअघि पूर्वपत्नीलाई डिभोर्सका क्रममा कम्पनीको चार प्रतिशत सेयर दिनुपरेको थियो । जसले नै मस्कलाई उनलाई हराउने मौका दिएको बताइन्छ । बीबीसी

विदेशी टेक्निसियन नआउँदा गौतमबुद्ध विमानस्थलको उपकरण जडानको काम रोकियो Read Previous

विदेशी टेक्निसियन नआउँदा गौतमबुद्ध विमानस्थलको उपकरण जडानको काम रोकियो

२० वर्षमा पनि पूर्णरूपमा संचालनमा आएन भैरहवा सेज Read Next

२० वर्षमा पनि पूर्णरूपमा संचालनमा आएन भैरहवा सेज