विदेशी टेक्निसियन नआउँदा गौतमबुद्ध विमानस्थलको उपकरण जडानको काम रोकियो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार निर्माण लगभग सकिए पनि उपकरण जडानमा ढिलाइ हुँदा तोकिएकै समयमा संचालन हुनेमा अन्योलता देखिएको छ ।

 

हालसम्म पूर्वाधार निर्माणको काम ९३ प्रतिशत सम्पन्न भइसके पनि विकानस्थल सञ्चालनका लागि आवश्यक पर्ने मुख्य उपकरण जडान हुन नसक्दा अन्योलता देखिएको हो ।

 

विमानस्थलको अधिकांश भौतिक संरचना निर्माण पूरा भए पनि उपकरण जडान र फिनसिङको काम अझै बाँकी छ । विदेशी प्राविधिक नआउँदा उपकरण जडान प्रभावित भएको छ । जसकारण आगामी जनवरदेखि सञ्चालनमा आउने भनिएको विमानस्थल तोकिएकै समयमा सञ्चालन हुनेमा अन्योलता देखिएको छ ।

 

विमानस्थल निर्माणका उपकरणहरू जडानको जिम्मेवारी पाएको थाइल्याण्डको एरोथाई कम्पनीले प्राविधिक जनशक्ति नपठाउँदा उपकरण जडानमा ढिलाइ भएको हो । कोभिड १९ को कारण थाइल्याण्ड सरकारबाट लगाइएको यात्रा प्रतिबन्धको कारण देखाई कम्पनीले आफ्ना प्राविधिक जनशक्ति नपठाउँदा साइटमा आइसकेको उपकरण जडान कार्य हुन सकेको छैन ।

 

विमानस्थलका निर्माण कार्य सम्पन्न भई हस्तान्तरण हुनसाथ विमानस्थल संचालनका लागि गर्नुपर्ने विमानस्थल प्रमाणीकरण, यन्त्र उपकरणको क्यलिब्रेसन गरी यथाशीघ्र संचालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।

 

उनले जनशक्ति पूरा भए सम्पन्न हुन १ महिना मात्र लाग्ने बताए । उडानका प्रकृयाहरू धेरै भएकाले निर्माण सम्पन्न भएको ३ महिनामा उडान शुरू गर्न सकिने उनले बताए । ‘उपकरण पठाउने कम्पनीले जडानका लागि जनशक्ति पठाएको छैन, उनीहरू नआएसम्म हामीले जडान गर्न सकिँदैन, सामान सबै आइसक्यो, उनीहरू आएको १ महिनामा निर्माण सम्पन्न हुन्छ,’ पोखरेलले चाणक्य पोष्टसँग भने ।

 

गत आर्थिक वर्ष २०७६/७७ मा विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको थियो । चालू आर्थिक वर्षको ६ महिनामा विमानस्थल निर्माण ९३ प्रतिशत मात्र पूरा भएको हो । यसरी हेर्दा चालू आवमा थप २ प्रतिशत मात्र भौतिक प्रगति भएको देखिन्छ ।

 

२०१७ को जनवरीसम्ममा २५ प्रतिशत मात्र कार्य सम्पन्न भएको यस आयोजनाले पछिल्लो समय ९३ प्रतिशत कार्य सम्पन्न गरेको हो ।

 

विमानस्थल निर्माणमा गतिरोध उत्पन्न भए पछि विगतमा एशियाली विकास बैंकले लगानीबाट हात झिकेको थियो । त्यसपछि पुन गति लिन थालेको विमानस्थल निर्माणमा एशियाली विकास बैंकले फेरी आयोजनामा सहभागीता देखाएको छ ।

 

प्राधिकरणका अनुसार चिनीया कम्पनी नर्थवेस्ट सिभिल एसिएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले विमानस्थलको भौतिक संचना निर्माणको काम सकेको छ । टर्मिनल, प्रशासनिक भवन, अग्नी निवारण तथा कन्ट्रोल टावरको काम सकिएको हो ।

 

हाल धावनमार्ग, टर्मिनल भवनसहितका संरचना बनेर यन्त्र तथा उपकरण जडानको काम भइरहेको छ । विमानस्थलमा उपकरण ल्याउने र जडान गर्ने जिम्मा एरोनटीकल रेडियो अफ थाइल्याण्डले पाएको छ । जडानका लागि थाइ र चिनियाँ दक्ष कामदार आवश्यक पर्छ ।

 

चिनियाँ जनशक्तिहरू च्याक्सीन लगाएर आउने प्रकृयामा रहेका छन् । थाइल्याण्डका जनशक्ति भने आउनै बाँकी रहेको छ । ३ हजार मिटर लामो धावनमार्ग, ट्याक्सी वे र एप्रोनको सिभिलतर्फको काम सकिएर विद्युतीको काम भइरहेको छ ।

 

जनकपुर-जयनगर रेल सेवाको भाडा तोकियो, एसी बोगीमा चढ्दा कति रुपैयाँ तिर्नुपर्छ Read Previous

जनकपुर-जयनगर रेल सेवाको भाडा तोकियो, एसी बोगीमा चढ्दा कति रुपैयाँ तिर्नुपर्छ

टेस्लाको सेयर भाउ ह्वात्तै बढेपछि एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति Read Next

टेस्लाको सेयर भाउ ह्वात्तै बढेपछि एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति