चन्द्रागिरी हिल्सको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त
चाणक्य पोष्ट
प्रकाशित : 8:44 am, शुक्रबार, पुस २४, २०७७

काठमाडौं । चन्द्रागिरी हिल्सले आजदेखि सर्वसाधरणका लागि प्राथमिक सेयर (आइपीओ) विक्री खुला गरेको छ ।

 

हिल्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ विक्री खुला गरेको हो ।

 

निष्काशित कुल आइपीओ मध्ये ६१ हजार ३६४ कित्ता (४ प्रतिशत) कम्पनीका कर्मचारी र ७६ हजार ७०५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषकहरुका लागि छ्ट्याइएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा पुस २८ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा सर्वसाधरणले विक्री प्रबन्धक ग्लोलबल आइएमई क्यापिटल, धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले पहिलो चरणमा मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा जारी गरेको थियो ।

 

कम्पनीको आइपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

 

कति कित्ता भर्नु उपयुक्त

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई १३ लाख ९६ हजार २२ कित्ता छुट्याएको छ । सो अनुसार कम्पनीको आइपीओ समानुपातिक रुपमा बाँड्दा १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले बाँड्न पुग्दछ। तर, १ लाख ३९ हजार जनाभन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट भाग्यशाली आवेदकले मात्र १० कित्ता पाउने सम्भावना हुन्छ ।

 

पछिल्लो समय खुलेका आइपीओमा करिब १० लाख भन्दा बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा यस आइपीओमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने भएकाले १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

 

यस्तो छ कम्पनीको वित्तीय अवस्था

 

कम्पनीले अहिले चुक्ता पूँजीको १२ प्रतिशत बराबबर आइपीओ निष्काशन गर्न लागेको हो । आइपीओपछि कम्पनीको कुल चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

वित्तीय विवरण अनुसार कम्पनीको नेटवर्थ आर्थिक वर्ष २०७३/७४, ०७४/७५, ७५/७६ र ७६/७७ मा क्रमश ९४.५२, ९६.६३, ९६.६९ र ८४.८८ रहेको छ । यसैगरी चालू आर्थिक वर्षमा नेटवर्थ ९०.६९ र आगामी २ आर्थिक वर्षमा १०९.२४ र १२२.०७ पुग्ने प्रक्षेपण कम्पनीले गरको छ ।

 

यसैगरी, चालू आर्थिक वर्षमा ४ रुपैयाँ प्रतिसेयर आम्दानी पुग्ने प्रक्षेपण गरेको यो कम्पनीले त्यसपछिका आगामी २ आर्थिक वर्षमा २३.५४ रुपैयाँ र ३२.८४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

 

यस्तै हालसम्म सञ्चित मुनाफा ऋणात्मक रहेको यो कम्पनीले आर्थिक वर्ष ०७८/७९ मा १४ करोड १७ लाख रुपैयाँ र त्यसपछिको आर्थिक वर्षमा ३३ करोड ८३ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

 

कम्पनीले चालू आर्थिक वर्षमा ६ करोड १३ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ भने आगामी २ आर्थिक वर्षमा क्रमशः ३६ करोड ११ लाख र ५० करोड ३७ लाख रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ ।

 

चन्द्रागिरी हिल्सले काठमाडौंको चन्द्रागिरीमा केबलकार सञ्चालन गरिरहेको छ भने त्यहाँ होटल, रिसोर्ट लगायतका संरचनाहरु निर्माण गररिरहेको छ ।

Advertisement Section