काठमाडौं । पछिल्लो समय निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ ।
बुधबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिकासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।
बजार खुलेदेखि नै उकालो लागेको बजारले २१९४ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि बुधबार नेप्से इतिहासकै उच्च २१७८ विन्दुमा पुगेको थियो ।
नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर साढे २९ खर्ब नजिक पुगेको छ । नेप्सेका अनुसार आज बजार पूँजीकरण २९ खर्ब ५५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै धेरै हो ।
आज सेयर बजार मापक सूचक नेप्से १५.९१अंकले बढेर २१९४.४८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २१७ रुपैयाँ बराबरको १ करोड १७ लाख ६७ हजार ४९२ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये ११ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने अन्य समूह मात्र ओरालो लागेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १४४.८६ अंकले बढेको छ ।
कारोबारमा आएका २०२ कम्पनीमध्ये १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्यमा गिरावट आएको छ । २६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज लगानीकर्ता प्रभु बैंकको सेयर झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ३१ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा पनर्बीमा कम्पनी २७ करोड र चिलिमे हाइड्रोपावर २४ करोडसहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मलिट प्रपोज फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, नारायणी विकास बैंक र प्रभु लाइफ इन्स्योरेन्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा आज एभरेष्ट बैंकका प्रमोटर सबैभन्दा धेरै ३.८१ प्रतिशत गुमाएका छन् ।