कोशी करिडोरमा ७ पुल निर्माण सम्पन्न हुँदै

काठमाडौं । निर्माणाधीन कोशी करिडोरमा चालू आर्थिक वर्षभित्र थप सात पुल निर्माण सम्पन्न हुने भएको छ । हाल नौ पुल निर्माणाधीन रहेकामा सात सम्पन्न हुने देखिएको हो ।

 

राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण करिडोरमा अहिलेसम्म जम्मा २२ पुल चाहिने देखिएको कोशी करिडोर, खाँदबारी–किमाथाङ्का सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए। अहिलेसम्म एउटा पुल मात्रै सम्पन्न भएर सञ्चालनमा छ ।

 

खाँदबारीबाट ५० किमी अगाडि अरुणखोलामा झण्डै ३ वर्ष पहिले पुल बनेको थियो । उनका अनुसार मौसम र समयानुकूल भए चालू आवभित्रै सात पुल सम्पन्न गर्न सकिन्छ । फाकसिन्दाबाट अगाडि रहेको पुल निर्माणको अन्तिम चरणमा पुगेको र अबको दुई साताभित्रै सकिने देखिएको उनको भनाइ छ । ‘करिडोरको अरुणखोलामा एउटा पुल सम्पन्न भइसकेको छ भने अरु ससाना खोलामा पुल निर्माणाधीन छन् ,’ उनले भने ।

 

करिडोरअन्तर्गत नै पाँच पुल डिजाइनको स्वीकृत क्रममा रहेको प्रमुख श्रेष्ठले जानकारी दिए। डिजाइन स्वीकृत भएमा चालू आवभित्रै ठेक्का निकाल्न सकिने उनको भनाइ छ । त्यो ठाउँमा सामग्री नभएकाले डीपीआर गरेर पछि निर्माण गर्ने भन्ने पनि छलफल भइरहेको छ । उनले भने, ‘निर्माण सामग्री नै नपाउने र पाउँदा पनि गुणस्तरीय पाउन गाह्रो छ ।’

 

जम्मा १६२ किमी लम्बाइको सडकमा १४८ किमीमा ट्र्याक खुलिसकेको छ । सो करिडोर अन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ ।

 

गत वर्ष फागुनमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो । सेनाले निर्माणको काम माघ महिनादेखि शुरु गर्ने गरी अघि बढाएको जनाएको छ । अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्न लागिएको योजनाले जनाएको छ ।

 

अर्थ मन्त्रालयले कालोपत्रका लागि २ अर्ब ६० करोड स्वीकृत गरिसकेकाले ठेक्कामा जान लागिएको हो ।

बैंकलाई ब्रोकर लाइसेन्स दिन सिबिफिनको माग, यस्ता छन् अर्थमन्त्रीलाई १८ बुँदे सुझाव Read Previous

बैंकलाई ब्रोकर लाइसेन्स दिन सिबिफिनको माग, यस्ता छन् अर्थमन्त्रीलाई १८ बुँदे सुझाव

साढे ३ वर्ष पछि कतार माथिको प्रतिबन्ध हटाउँदै साउदी अरब Read Next

साढे ३ वर्ष पछि कतार माथिको प्रतिबन्ध हटाउँदै साउदी अरब