माघ २ गतेदेखि हालसम्मकै ठूलो आइपीओ आउने, यस्तो छ कम्पनीको वित्तीय अवस्था

काठमाडौं । नेपाली सेयर बजारमा अहिलेसम्मको सबैभन्दा ठूलो प्राथमिक साधरण सेयर (आइपीओ) माघ २ गतेदेखि विक्रीमा आउने भएको छ ।

 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर आइपीओ निष्काशन गर्न लागेको हो ।

 

निष्काशन हुने कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

 

बैंकको आइपीओमा माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै सेयर विक्री नभएमा ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन पाइनेछ ।

 

बैंकले सेयर निष्काशनको लागि नागरिक लगानी कोषलाई अन्डरराइटर र एनआइबीएल एस क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 

बैंकको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी–आइआर बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको र वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउँछ ।

 

धितोपत्र नियमावली अनुसार सबै आवेदकलाई समानुपातिक रुपमा सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । पछिल्लो समय खुलेका आइपीओमा १० लाखभन्दा बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा बैंकको आइपीओमा आवेदन गर्नेले कम्तीमा ७० कित्ता सेयर पाउने देखिन्छ ।

 

कम्पनीको वित्तीय अवस्था

 

बैंकको अधिकृत पूँजी ३४० अर्ब, जारी पूँजी २० अर्ब र हाल चुक्ता पुँजी १२ अर्ब रहेको छ भने आइपीओ विक्रीपछि चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । बैंकको संस्थापक र साधारण सेयर संरचना अनुपात ६०ः४० प्रतिशत हुनेछ ।

 

बैंकले चालू आवको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १२।४३ प्रतिशतले कमी हो । बैंकले गत आवको पहिलो त्रैमासमा २० करोड ५७ लाख खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १८ करोड १ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।बैंकले २८ अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

 

समीक्षा अवधिमा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ ११५ रुपैयाँ रहेको छ ।

 

बैंकको व्यवसाय

 

नेपालमा रहेका मध्ये सबैभन्दा धेरै पूँजी भएको यो बैंक ठूला पूर्वाधारहरुमा लगानी गर्ने उद्देश्यका साथ खोलिएको हो । बैंकले यातायात, कृषि, पर्यटन, ऊर्जा, सहरी पूर्वाधार, सूचनाप्रविधि क्षेत्रमा लगानी गर्छ ।

 

बैंकले हालसम्म एक सोलार परियोजना, ४ वटा हाइड्रोपावर, एक सिमेन्ट उद्योग र एउटा पाँचतारे होटेलसहित ८ परियोजनामा ८ अर्ब ३५ करोड रुपैयाँ लगानी सम्झौता गरिसकेको छ । जसमध्ये १ अर्ब १२ करोड लगानी भइसकेको छ ।

 

बैंकले आफ्नो पहिलो लगानी कास्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती जलविद्युत परियोजनामा गरेको छ ।

 

यसैगरी कुमारी बैंक र पूर्वाधार विकास बैंकले २२ मेगावाटको सेतीखोला हाइड्रो पावर कम्पनीमा पनि संयुक्त रुपमा ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरिसकेका छन् । यसमा कुमारी बैंकले २ अर्ब र पूर्वाधार विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरिसकेका छन् ।

देशभरका ३० हजार सहकारीमा ७३ लाख आबद्ध, कुन प्रदेशमा कति ? Read Previous

देशभरका ३० हजार सहकारीमा ७३ लाख आबद्ध, कुन प्रदेशमा कति ?

नेपालले किन्ने भनेको कोरोनाको खोप निर्यातमा  पनि भारतले प्रतिबन्ध लगाएकै हो त ? Read Next

नेपालले किन्ने भनेको कोरोनाको खोप निर्यातमा पनि भारतले प्रतिबन्ध लगाएकै हो त ?