काठमाडौं । बंगलादेशबाट खरिद गर्न लागेको रासायनिक युरिया मल अबको २ महिनामा आउने भएको छ ।
हाल मल आयात भुक्तानी सम्झौता (लेटर फर क्रेडिट एलसी) प्रकृयाको चरणमा रहेको छ । एलसी ड्राफ्टको बनाएर बंगालदेशलाई पठाइएको कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोखरेलले बताए ।
उनले एलसी भएको २ महिना भित्र ठेकेदार कम्पनीले यूरिया मल आयात गरिसक्ने दाबी गरे । बंगलादेशबाट खरिद गरेको ५० हजार टन युरिया मल ३ चरणमा आयात हुने छ । सो मललाई २० मेट्रिकटन र १५/१५ मेट्रिकटन गरी ३ चरणमा विभाजन गरी आयात गरिन लागेको हो । ३ चरणमा आयात गरिने भए पनि उक्त मल २ महिना भित्र आयात भइसक्ने पोखरेलले बताए ।
‘आयातको प्रकृया भइरहेको छ, अहिले एलसीको प्रकृयामा छौं, एलसी भएको २ महिनामा मल आइसक्छ,’ पोखरेलले चाणक्य पोष्टसँग भने ।
सो मल बंगलादेशबाट खरिदका क्रममा प्रतिमेट्रिकटन ३४१.४३ डलर पर्ने छ । उक्त मल कलकता बन्दगहा र रोहनपुर हुँदै आयात गरिने छ ।
यसअघि सापटी ल्याउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । विगतमा कृषि सामग्रीले ग्लोबल टेन्डरबाट सो परिमाणको मल खरिद गर्ने योजना रहेको थियो ।
पूर्व कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले उक्त यूरिया मल ल्याउन पहल गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीकृति लिएर बंगलादेशसँग सरकारीस्तरबाटै पैँचोमा मल ल्याउन पहल भएको थियो ।
बंगलादेशले वार्षिक २५ लाख टन युरिया खपत गर्ने र त्यसमध्ये १५ लाख टन आफैँ उत्पादन गर्ने भएकाले नेपाललाई ५० हजार टन युरिया दिन तयार भएको थियो ।
प्रधानमन्त्री ओलीले १६ भदौमा बंगलादेशकी समकक्षी सेख हसिनासँग टेलिफोन संवाद गरेका थिए । सो संवादमा ५० हजार टन युरिया तत्कालका लागि सापटी दिन प्रधानमन्त्री ओलीले गरेको आग्रह बंगलादेशकी प्रधानमन्त्री हसिनाले स्वीकार गरेकी थिइन् । त्यसपछि दुवै देशका कृषि मन्त्रालयका अधिकारीहरू मल आयातको मोडालिटी तयार गर्न जुटेका थिए ।
नेपालले ५० हजार टन मल चितगाउँ पोर्टबाट उठाउने र आठ महिनाभित्र पैँचोमा तिर्ने प्रारम्भिक छलफल भएको थियो । सोही छलफलका आधारमा १ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट ५० हजार टन युरिया सापटी ल्याउन सैद्धान्तिक स्वीकृति दिएको थियो ।
बीचमा बंगलादेशले यूरिया मल सापटी नदिई सीधै किनेर लान नेपाल सरकारलाई प्रस्ताव गरेको थियो । सो अनुसार कृषि तथा पशुपक्षी मन्त्रालयले यूरिया मल ल्याउने तयारी गरिरहेको छ ।