बिट क्वाइनको मूल्य इतिहासकै उच्च, एकैदिन ८ प्रतिशतले बढेर ३४ हजार डलर पुग्यो

विश्वकै ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ३४ हजार डलर पुगेको छ । केही हप्ता अघि मात्र यो क्रिप्टोकरेन्सीको मूल्यले ऐतिहासिक विन्दु चुमेको थियो ।

 

गत डिसेम्बर महिनामा यसको मूल्य करिब ५० प्रतिशतले बढेर पहिलोपटक २० हजार डलर पुगेको थियो । त्यसको केही हप्तामै फेरि बढेर यसको मूल्यले ३४ हजार डलर चुमेको हो ।आज आइतबार ७.८ प्रतिशतले बढेर सिङ्गापुरमा यसको मूल्य ३४ हजार डलर पुगेको हो ।

 

गत मार्च महिनामा कोरोना भाइरसका कारण २५ प्रतिशत सम्म घटेको यो बिवादास्पद क्रिप्टोकरेन्सीले फेरि महामारीकै बीच उच्च विन्दु चुमेको छ ।

 

सन् २०२१ को पहिलो त्रैमाससम्ममा बिटकोइनको मूल्य ५० हजार डलरसम्म पुग्ने अनुमान विज्ञहरुले गरेका छन् । ठूला संस्थागत लगानीकर्ताहरुले यो हप्तादेखि फेरि यो क्रिप्टोकरेन्सी तर्फ आँखा लगाउन थालेका कारण आगामी दिनमा मूल्य थप बढ्दै जाने अनुमान विज्ञहरुले गरेका हुन् । अहिलेको विदाको समय पछि ठूला लगानीकर्ताहरु यसतर्फ आकर्षित हुने उनीहरुको विश्वास छ ।

 

विश्वका ठूलो लगानी पोर्टफोलियोमा बिटक्वाइनको संख्या बढ्दै जान थालेको ब्लुमबर्गले पनि जनाएको छ । बिटक्वाइनको पक्षमा बोल्नेहरुले यो क्रिप्टोकरेन्सी सम्पत्ति स्टोर गर्ने राम्रो माध्यम भएको बताउँदै आएका छन् । मुद्रास्फितिले नछुने कारण केन्द्रीय बैंकले छाप्ने पैसा भन्दा पनि यो भरपर्दो रहेको उनीहरुको दाबी छ ।

 

ब्लुमबर्ग टेलिभिजनलाई अन्तवार्ता दिँदै स्कट माइनर्ड नाम गरेका एक लगानी कम्पनीका अधिकारीले यसको मूल्य कालान्तरमा ४ लाख डलर पुग्ने बताएका छन् ।

 

तर, कम कारोबार हुने हुनाले यसमा जोखिम पनि उत्तिकै रहेको जानकारहरु बताउँछन् । गत नोभेम्बर महिनामा मात्रै यसको मूल्य १४ प्रतिशतले घटेको थियो ।

ड्राइभिङ लाइसेन्सको ट्रायल पुनः शुरु Read Previous

ड्राइभिङ लाइसेन्सको ट्रायल पुनः शुरु

सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड, यी कम्पनीका लगानीकर्ता भए मालामाला Read Next

सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड, यी कम्पनीका लगानीकर्ता भए मालामाला