काठमाडौं । पछिल्लो समय सेयर बजारमा निरन्तर वृद्धि आएसँगै खर्बपति नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण पनि उल्लख्य रुपमा बढेको छ ।
बजारमा उछाल आउँदा कम्पनीहरुको सेयर मूल्य निरन्तर बढ्दा १ खर्ब बजार पूँजीकरण हुने कम्पनीको संख्या ५ पुगेको छ । बुधबार एनआइसी एशियाको सेयर मूल्य करिब ३ प्रतिशतले बढेसँगै यो पनि खर्बपति क्लबमा प्रवेश गरेको छ । योसँगै एनआसी एशिया खर्ब बढी पूँजीकरण हुने दोस्रो बैंक पनि बनेको छ ।
कात्तिकसम्म नेपाली सेयर बजारमा १ खर्ब बढी बजार पूँजीकरण हुने कम्पनीको संख्या एउटा मात्र रहेको थियो भने पछिल्लो २ महिनामै त्यो संख्या बढेर ५ पुगेको छ ।
कात्तिकसम्म नेपाल टेलिकमको मात्र बजार पूँजीकरण १ खर्ब बढी रहेकोमा पछिल्लो समय नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र एनआइसी एशिया बैंक खर्बपति क्लबमा प्रवेश गरेका हुन् ।
यस्तै, केही कम्पनीको पूँजीकरण १ खर्ब नजिक पुग्न लागेको छ भने सेयर मूल्य निरन्तर बढे आगामी दिनमा अरु कम्पनी पनि खर्बपति क्लबमा प्रवेश गर्ने सम्भावना देखिन्छ ।
नेप्सेमा सूचीकृत सवा २ सय कम्पनीमध्ये खर्बपति क्लबमा रहेका यी ५ कम्पनीले मात्रै कुल बजारको एक चौथाई हिस्सा ओगटछन् । हाल नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल पूँजीकरण २७ खर्ब ७५ अर्ब २७ करोड रहेकोमा यी ५ कम्पनीको मात्र ६ खर्ब ८३ अर्ब रहेको छ । कुल बजार पूँजीकरणको २५ प्रतिशत हो ।
यी हुन् सेयर बजारका ५ खर्बपति कम्पनी
नेपाल दूरसञ्चार कम्पनी
नेपाल टेलिकम नेप्सेमा सूचीकृत कम्पनी मध्ये बजार पूँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी हो । बुधबारसम्म यसको बजार पूँजीकरण १ खर्ब ७७ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यो कुल बजार पूँजीकरणको ६.३८ प्रतिशत हो ।
नेप्सेमा टेलिकमको १५ करोड कित्ता सेयर सूचीकृत छ । कम्पनीको बुधबार प्रतिकित्ता ११८२ रुपैयाँमा कारोबार भएको थियो ।
नबिल बैंक
पूँजीकरणका आधारमा नबिल बैंक सेयर बजारको दोस्रो ठूलो कम्पनी हो भने बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो ।
नेप्सेमा नबिल बैंकको १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता सूचीकृत छ । जसको बजार पूँजीकरण १ खर्ब ४८ अर्ब ४१ रुपैयाँ रहेको छ । यो कुल बजार हिस्साको ५।३४ प्रतिशत हो । नबिल बैंकको सेयर बुधबार प्रतिकित्ता ११०१ रुपैयाँमा कारोबार भएको थियो ।
बैंकले गत वर्षको नाफाबाट ३५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । विगतमा पनि आकर्षक लाभांश दिँदै आएको कम्पनीले कोरोनाका बाबजूद सेयरधनीलाई बम्पर लाभांश दिँदै आफ्नो विरासत कायम राखेको हो ।
नेपाल पुनर्बीमा कम्पनी
नेपालको एक मात्र पुनर्बीमा कम्पनीको रुपमा रहेको नेपाल पुनर्बीमा कम्पनी पूँजीकरणका आधारमा सेयर बजारको तेस्रो ठूलो कम्पनी हो भने बीमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो ।
नेप्सेमा पुनर्बीमाको १० करोड कित्ता सूचीकृत छ । जसको बजार पूँजीकरण १ खर्ब ३३ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यो कुल बजार हिस्साको ४.४२ प्रतिशत हो । पुनर्बीमाको सेयर बुधबार प्रतिकित्ता १३३९ रुपैयाँमा कारोबार भएको थियो ।
१० अर्ब चुक्ता पूँजी रहेको कम्पनीमा सर्वसाधरणको हिस्सा १६ प्रतिशत रहेको छ भने सरकार, बीमा कम्पनी र बैंक तथा वित्तीय संस्थाको हिस्सा ८४ प्रतिशत रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स
पूँजीकरणका आधारमा नेपाल लाइफ इन्स्योरेन्स सेयर बजारको चौथो ठूलो कम्पनी हो भने बीमा क्षेत्रको दोस्रो ठूलो कम्पनी हो ।
नेप्सेमा नेपाल लाइफको ५ करोड ४९ लाख ६१ हजार ६०८ कित्ता सूचीकृत छ । जसको बजार पूँजीकरण १ खर्ब २३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । यो कुल बजार हिस्साको ४.४४ प्रतिशत हो । नेपाल लाइफको सेयर बुधबार प्रतिकित्ता २२४७ रुपैयाँमा कारोबार भएको थियो ।
इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश घोषणा गरेको छ । जीवन बीमा क्षेत्रमा अधिकांश सूचकमा कम्पनी अब्बल रहँदै आएको छ ।
एनआइसी एशिया बैंक
पूँजीकरणका आधारमा एनआइसी एशिया सेयर बजारको पाँचौं ठूलो कम्पनी हो भने बैंकिङ क्षेत्रको दोस्रो ठूलो कम्पनी हो ।
नेप्सेमा एनआइसीको ११ करोड ५६ लाख ४० हजार ५६ कित्ता सूचीकृत छ । जसको बजार पूँजीकरण १ खर्ब ६० करोड रुपैयाँ रहेको छ । यो कुल बजार हिस्साको ३.६२ प्रतिशत हो । बुधबार एनआइसीको सेयर प्रतिकित्ता ८७० रुपैयाँमा कारोबार भएको थियो ।
बैंकले गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गरेको छ । पछिल्लो समय आक्रमक रुपमा व्यवसाय विस्तार गर्दै आएको बैंक आगामी केही वर्षमै देशको नम्बर एक बैंक बन्ने होडमा रहेको छ ।