काठमाडौं । लोकतन्त्रको पक्ष र विपक्षमा सहरमा चर्चा चलिरहेको छ । कसैले यसका नाममा आन्दोलन गर्दै छन् भने कसैले यसैका नाममा आन्दोलन दबाउने कसरत पनि गर्दै होलान् ।
बुद्धिजीवी, बौद्धिक, सचेत नागरिक इत्यादी पनि लोकतन्त्र र यसको प्रक्रियाका बारेमा दन्त बझान गर्न मै व्यस्त छन् ।
तर, यसैका बीच तमाम राजनीतिज्ञ र बौद्धिकहरुको लोकतान्त्रीक बहसलाई कुरीकुरी गर्दै एक गरिब किसानले आफ्नो जीवनलीला समाप्त पारेका छन् ।
उखुको भुक्तानी दिने सन्र्दभमा सरकार र उद्योगीहरुले आनाकानी गर्ने र यो मुटु छेड्ने चिसोमा हप्तौंदेखि आन्दोलनरत उनको दुःखद निधनले नेपाल राज्यको लोकतन्त्र र यसका सन्र्दभमा गरिने तमाम बहसहरु कति सतही र हास्यास्पद छन् भनेर एकपटक फेरि पुष्टि भएको छ ।
उखुको भुक्तानी तत्काल नपाउने गरी उधारो सम्झौता भएको खबर पाएपछि सर्लाहीका नरेन्द्र यादाव (भगजी) अकास्मत छट्पटिन थालेका थिए । पहिलो दिनदेखि आन्दोलनमा सक्रिय रहेको उनलाई हेल्पिङ ह्याण्ड अस्पताल लगिएको थियो । अस्पतालले उनलाई ‘ब्रेन ह्याम्रेज’ भएको बताएको थियो ।
मृत्युको बहाना जे भएपनि पापी राज्य र लोभी व्यापारीहरुले चारैतिरबाट च्यापेपछि उनको प्राण पखेरु उडेको तथ्य बुझ्न कुनै पनि विषयको ‘शास्त्री’ हुनै पर्दैन ।
उनलाई हेल्पिङ ह्याण्डबाट थापाथलि रिफर गरिएको थियो । थापाथलीका डाक्टरले उनलाई मृत्यु भएको घोषणा गरेका थिए ।
सर्लाही धनपुर नगरपालिका छटौँल घर भएका उनले २४ लाख हाराहारीमा भुक्तानी पाउन बाँकी रहेको थियो । १७ लाख रुपैयाँ बैंकबाट ऋण लिएका उनको ब्याज बढेको बढै थियो ।
गोठाटार स्थित कृष्ण प्रणामी मन्दिरमा बसेर दैनिक आन्दोलनका लागि माइतिघर मण्डला आउने गरेका उनको उखु रकम भुक्तानी नपाई निधन भएको हो ।
जनता समाजवादी पार्टीका विद्यार्थी नेता मनिष मिश्राका अनुसार हिजो भएको सम्झौताका कारण किसानको मृत्यु भएको हुँदा उक्त सम्झौता आजै खारेज गरिने छ । उनले २१ दिनभित्र भुक्तानी पाउने भनिएको उक्त उधारोसम्झौता खारेज गरी तत्काल भुक्तानी गराउन माग राखिने बताए ।
अस्पतालबाट सिधै माइतिघर मण्डला तर्फ लाग्दै गरेका उनले उखु किसानको रकम भुक्तानी नभएसम्म आन्दोनमा कुनै कसर नछोड्ने बताए ।
‘किसानमारा सम्झौता खारेज गरिन्छ । अब जसरी भए पनि पैसा दिनु पर्छ । सधै किसानलाई झुलाएर राखेर हुन्न,’ विद्यार्थी नेता मिश्राले चाणक्यपोष्टसँग भने ‘ पोहोर साल पनि किसानलाई भुक्तानी दिन्छौं भन्दै झुलाए अब पैसा नपाएसम्म यहीँ मर्छौं तर, भुक्तानी नलिई फिर्ता जादैनौं ।’उनले किसानको विपरित सम्झौता भएको भन्दै तत्काल सम्झौता खारेज गर्न माग गरिएको बताए ।
यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म उखु किसानको मृत्यु बारे आफु कुनै जानकारी नभएको जनाएको छ । मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले आज मन्त्रालयमा उखु किसानको विषयमा छलफल रहेको भन्दै यस विषयमा कुनै जानकारी नभएको बताए ।