काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेपछि नबिल बैंकको सेयर किन्नेको ओइरो लागेको छ ।
कोरोनाका काराण बैंकको मुनाफा घटे पनि बैंकले सेयरधनीलाई विगतका वर्षहरुको जति नै लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता आकर्षित भएका हुन् ।
बैंकले सोमबार गत आर्थिक वर्षको नाफाबाट ३३.५ प्रतिशत बोनस र करप्रयोजन सहित १.७६ प्रतिशत गरी कुल ३५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकहरुमध्ये नबिल सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ ।

बम्पर लाभांश घोषणा गरेको बैंकको सेयर किन्न लगानीकर्ताको ओइरो लागेको छ । दुई बजेसम्म ८ लाख ८८ कित्ताभन्दा बढी खरीदका लागि माग भए पनि विक्री कर्ता भने शून्य रहेको छन् ।
बजार खुल्न साथ बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको छ । आज बैंकको सेयर मूल्य प्रतिकित्ता १२३ रुपैयाँ बढेर १३५४ रुपैयाँ पुगेको छ । सर्किट मूल्यमा पनि करिब पौने ७ लाख कित्ता सेयर खरिदका लागि माग भए पनि १ कित्ता पनि विक्रीमा छैन ।