काठमाडौं । सेयर बजार लयमा फर्किएको छ । आइतबार संसद विघटन भएसँगै इतिहासकै दोस्रो धेरै ९७ अंकले घटेको बजारमा आज दोहोरो अंकले कमब्याक गरेको हो ।
आज पनि बजारमा तीव्र उतरचढाव देखिएको थियो । बजारखुल्न साथ करिब ६० अंकले घटेको बजार करिब ३० अंकले बढेर बन्द भएको छ ।
आज सूचकमा बढोत्तरी आए पनि कारोबार रकममा भने ठूलो सिगरावट आएको छ । आइतबारको तुलनामा आज कारोबार रकम करिब सवा २ अर्बले घटेको छ ।
सेयर बजार मापक सूचक नेप्से ३०.३३ अंकले बढेर १९६५.९६ बिन्दुमा पुगेको छ । यसदिन २०२ कम्पनीको ६ अर्ब ६९ लाख ८८ हजार ७४ हजार ३५३ रुपैयाँ बराबरको १ करोड २३ लाख ८२ हजार ४८२ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक हरियो भएका छन् भने ३ समूहको परिसूचक ओरालो लागेका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २०२.५२ अंकले बढेको छ भने व्यापार समूहको परिसूचक ३७.३३ अंकले घटेको छ ।
कारोबारमा आएका २०२ कम्पनीमध्ये जम्मा १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५१ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यसको सबैभन्दा धेरै ७२ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ५७ करोड र एनआइसी एशिया बैंक ८८ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।
बढ्दो बजारमा आज एनआइसी एशिया बैंकको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
दोहोरो अंकले बढेको बजारमा आज नारायणी विकास बैंकको सेयरमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।