काठमाडौं । पप्पु कन्स्ट्रक्शनले अलपत्र पारेको तीनकुनेस्थित वाग्मती पुल (आर्क ब्रिज) नयाँ ठेक्कामार्फत निर्माण हुने भएको छ । यसका लागि सरकारले तयारी अन्तिमचरणमा पुर्याएको छ ।
निर्माण व्यवसायीको लापरवाही कारण सो पुल ६ वर्षदेखि अलपत्र बनेको छ । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्यगरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
आयोजनाले विसं २०७१ मा नै यो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । बिजुली बजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसके पनि यो पुल भने अझै बन्ने टुंगो लाग्न सकेको छैन ।
अबको केही दिनमा नै सूचना प्रकाशित गरिने आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । उनका अनुसार सो पुल ‘डिजाइन एण्ड बिल्ड’ (निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी भएको सम्झौता) का आधारमा निर्माण शुरु भएको थियो । पहिले कम्पनीले तयार गरेको ढाँचामा नै निर्माण गरिने उनले जानकारी दिए।
उनले भने, ‘पहिलेको कम्पनीले निर्माण गरेको संरचनामध्ये एउटा जग मात्रै स्वीकार गर्न सकिने छ ।’ यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य गरेकाले नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजना प्रमुख अधिकारीले बताए। सरकारले यसअघि नै कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ ।
कार्यसम्पादन जमानतमार्फत राखिने ५ प्रतिशत रकम सरकारको खातामा फिर्ता ल्याइएको उनले बताए । मोबाइलाइजेसन काम गर्न आवश्यक रकम पेश्की पहिले कम्पनीलाई उपलब्ध गराएकोमा त्यो पनि फिर्ता भइसकेको छ ।
नयाँ ठेक्का सम्झौतामा गएपछि पनि निर्माणको लागि साढे दुईदेखि ३ वर्ष लाग्ने आयोजनाले जनाएको छ । यसअघि पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
आयोजनाले विसं २०७१ मा नै सो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । मुख्य सडकका दायाँबायाँ दुई/दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
बिजुली बजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसके पनि यो पुल निर्माण अघि बढ्नसकेको थिएन । २१ करोड ३३ हजार रुपैयाँ बजेटमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का भएको थियो ।
नेपालमा पहिलो पटक नयाँ प्रविधि प्रविधिबाट सो पुल निर्माण गरिने गरी सम्झौता भएको थियो । अरू सामान्य पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ ।