प्रभु लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) आजदेखि विक्री खुला  भएको छ ।

 

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो ।

 

निष्काशन हुने कुल ६० लाख कित्तामध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामूहकि लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आइपीओमा पुस २ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर विक्री नभएमा भने पुस १३ गतेसम्म आवदन दिन सकिनेछ ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

 

लगानीकर्ताले  सी–आस्वा सदस्य इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा कार्यालयका साथै मेरोसेयरमार्फत पनि आवेदन दिन सक्नेछन्।

 

कति कित्ताका लागि आवेदन दिनु उपयुक्त

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ५४ लाख कित्ता छुट्याएको छ । सो अनुसार कम्पनीको आइपीओ समानुपातिक रुपमा बाँड्दा ५ लाख ४० हजार १० कित्ताका दरले बाँडफाँट गर्न पुग्दछ। तर, ५ लाख ४० हजार जनाभन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट भाग्यशाली आवेदकले मात्र १० कित्ता पाउने सम्भावना हुन्छ ।

 

पछिल्लो समय खुलेका आइपीओमा करिब ९ लाख हाराहारीमा आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने भएकाले १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

 

यस्तो छ वित्तीय अवस्था

 

कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयर एनपी–आइआर बीबी प्लस’ रेटिङ्ग दिएको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतर रहेको जनाउछ ।

 

हाल १ अर्ब ४० करोड चुक्ता पूँजी रहेको इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुर्याउन आइपीओ जारी गर्न लागेको हो ।

 

इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा १५३.२७ प्रतिशतले बढाएको छ । कम्पनीले असोज मसान्तसम्ममा ३ करोड ९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १ करोड ८६ लाख रुपैयाँले बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा १ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा इन्स्योरेन्सले २५ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १२ करोड ६८ लाख रुपैयाँले बढी हो । इन्स्योरेन्सले गत आवको पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

 

समीक्षा अवधिसम्म कम्पनीले २२ हजार ५९४ वटा बीमालेख जारी गरी २५ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ । यस अवधिमा इन्स्योरेन्सले १७५ वटा दाबी बापत ६१ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ वटा दाबी वापत ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

 

इन्स्योरेन्सको जगेडा कोषमा २३ करोड ९१ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब १९ करोड ४९ लाख रुपैयाँ र महाविपत्ती जगेडामा १ करोड ५४ लाख रुपैयाँ सञ्चित छ ।

 

कोरोना संक्रमणका बाबजूद कम्पनीले राम्रो व्यवसाय विस्तार गरेको देखिएको छ । यस्तो प्रतिकूल अवस्थालाई चुनौतीका साथै अवसरको रुपमा समेत लिएर व्यवसायलाई अघि बढाउने रणनीति रहेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफले नेतृत्वमा बजारमा उछाल, अपर तामाकोशी भने ४.८४ प्रतिशतले घट्यो Read Previous

नेपाल लाइफले नेतृत्वमा बजारमा उछाल, अपर तामाकोशी भने ४.८४ प्रतिशतले घट्यो

नयाँ सवारी लाइसेन्स अझै २ महिना नखुल्ने, यस्तो छ कारण Read Next

नयाँ सवारी लाइसेन्स अझै २ महिना नखुल्ने, यस्तो छ कारण