३ साता भित्रै मनोहरा कोरिडोरको ट्रयाक खुल्ने, घट्ला त कोटेश्वरको जाम

काठमाडौं।भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ शुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः शुरु भएको छ । पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको जडीबुटी पुलसम्म भक्तपुरतर्फको करिडोर निर्माण शुरु भएको आयोजनाका मनोज भेटवालले जानकारी दिए ।

 

भक्तपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट हुँदा सांसद शुरु भएको करिडोर निर्माण उनको सरुवा भएसँगै रोकिएको थियो । अहिले नयाँ प्रमुख जिल्ला अधिकारी आएसँगै कामले गति लिन लागेको बताइएको छ ।

 

भक्तपुरका संघिय सांसद, प्रमुख जिल्ला अधिकारी, मध्यपुरथिमि नगरपालिकाका प्रमुख, मध्यपुरथिमि–१ र २ का वडाध्यक्ष, काठमाडौँ–३२ का वडाध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, निर्माण व्यवसायीसहित सरोकारवालाको छलफलबाट आएका बाधा हटाउँदै विकासका कामलाई तीव्रता दिने सहमतिसँगै करिडोर निर्माण पुनः सञ्चालन भएको हो ।

 

यो करिडोर निर्माण सम्पन्नसँगै प्रहरीको समन्वयमा भक्तपुरबाट ललितपुरतर्फ जाने सवारी साधनलाई लोकन्थली जडीबुटी पुलबाट आँखा अस्पताल हुँदै बालकुमारी पठाउने र गौशाला, चावहिल जाने सवारी साधनलाई मनोहरा करिडोरबाट पठाउने गरी व्यवस्थापन गर्दा सडकजाम कम हुने बताइएको छ

 

छलफलमा भएको निर्णयानुसार विसं २०२१ को नक्सामा जहाँ खोला बगेको छ, त्यहीँबाट खोला बगाएर करिडोर निर्माण सञ्चालन भएको हो । यसअघि पञ्चायतकालमा तत्कालीन भूमिसुधारमन्त्री नानीमैया हुँदा विसं २०२१ को नापीमा खोला बगेको ४५ रोपनी क्षेत्रफल व्यक्तिको नाममा दर्ता गरी पटक–पटक किनबेच भई हाल चार जनाको नाममा रहेको उक्त ठाउँमा साविक नक्साअनुसार नै खोलाको बहाव पठाइएको छ ।

 

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका संघिय सांसद महेश बस्नेतले भने, ‘रोकिएको करिडोर निर्माण शुरु भएको चार दिनमा मनोहरा नदी उकास गरी व्यक्तिले कब्जा गरेको ४५ रोपनी जग्गामा खोला बगाइयो, अब २० दिनमा अरनिको राजमार्ग जडीबुटी पुलबाट पेप्सीकोला मनोहरा पुलसम्म सडक खोल्ने लक्ष्यका साथ मनोहरा करिडोरको काम तीव्रगतिमा गराइरहेका छौं ।’

 

विसं २०६३ मा नै स्वीकृत भएको मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत नै करिडोरसमेत निर्माण गर्ने तय भए पनि शुरु हुन सकेको थिएन ।

 

मनोहरा करिडोरमा ३० मिटर खोलाको बहाव रहने, ११ मिटर सडक बन्ने र नौ मिटरको फुटपाथसहितको हरियाली उद्यान रहने गरी निर्माण शुरु भएको बताइएको छ । अबको तिन साता भित्रै ट्रयाक खुलाउने गरी २४ सै घण्टा डोजर लगाएर काम भइरहेको बताइएको छ ।

 

‘जडीबुटीबाट आँखा अस्पताल हुँदै भक्तपुर, काठमाडौं र ललितपुर जोड्ने हनुमन्तेखोलाको पुलसम्म करिडोर निर्माण सम्पन्न भइसकेको छ, अब पेप्सीकोला पुलबाट जडीबुटी पुलसम्मको मनोहरा करिडोर निर्माण सम्पन्न भएसँगै जडीबुटी–कोटेश्वरको जाम घट्छ भन्ने विश्वास लिएका छौं’, सांसद बस्नेतले भने ।

 

यो करिडोर निर्माण सम्पन्नसँगै प्रहरीको समन्वयमा भक्तपुरबाट ललितपुरतर्फ जाने सवारी साधनलाई लोकन्थली जडीबुटी पुलबाट आँखा अस्पताल हुँदै बालकुमारी पठाउने र गौशाला, चावहिल जाने सवारी साधनलाई मनोहरा करिडोरबाट पठाउने गरी व्यवस्थापन गर्दा सडकजाम कम हुने बताइएको छ ।

पेट्रोल र डिजेलको मूल्य बढ्दा खाना पकाउने ग्यासको मूल्य यथावत Read Previous

पेट्रोल र डिजेलको मूल्य बढ्दा खाना पकाउने ग्यासको मूल्य यथावत

अमेरिकामा नयाँ राष्ट्रपतिलाई पद र जिम्मेवारी कसरी हस्तान्तरण हुन्छ Read Next

अमेरिकामा नयाँ राष्ट्रपतिलाई पद र जिम्मेवारी कसरी हस्तान्तरण हुन्छ