कोरोना महामारीले सन् २०२० मा विश्व अर्थतन्त्रलाई ठूलो प्रभाव पार्यो । लामो समयसम्म विश्वका धेरै र ठूला अर्थतन्त्रहरुमा समेत लागु गरिएको लकडाउनले विश्व अर्थतन्त्र महिनौंसम्म ठप्प भयो । यसले अर्थतन्त्रका विभिन्न पाटाहरुमा व्यापक प्रभाव पार्यो ।
सन् २०२० मा विश्व अर्थतन्त्र करिब ५.२ प्रतिशतको गिरावट आउने अनुमान गरिएको छ । विश्वमा दशकौं पछिको यो सबैभन्दा ठूलो आर्थिक मन्दी हो । दिर्घकालमा पनि यसको प्रभाव लामो समयसम्म पर्ने विभिन्न अनुसन्धानहरुले देखाएका छन् । घट्दो लगानी, मानव पुँजीको गिरावट, विश्व व्यापारमा आएको गिरावट र आपुर्ती श्रंखला तोडिएका कारण विश्व अर्थतन्त्र पूर्ण रुपमा तङ्ग्रिन अझै केही वर्ष लाग्ने प्रक्षेपण गरिएको छ ।
पर्यटन, हवाई जस्ता क्षेत्र नाफामा जानका लागि अझै ५ वर्ष लाग्न सक्ने व्यवसायीहरु बताउँछन् ।
तर, अर्थतन्त्रमा गहिरो प्रभाव पारेको भएपनि विश्वका प्रमुख सेयर बजारहरु भने आफ्नै लयमा फर्किसकेका छन् । कतिपय सेयर बजारहरुले त एतिहासिक विन्दु नै चुमेका छन् ।
अर्थतन्त्रका अन्य अवयवहरु भन्दा सेयर बजार पछिल्लो समय भ्याक्सिन निर्माण र उत्पादनको प्रक्रियाले गति लिएपछि लयमा फर्किन थालेका हुन् ।
नेपाली सेयर बजार विगत ४ वर्षयता वियरिस ट्रेण्डमा थियो । तर, महामारीकै बिच नेप्से परिसूचकले एतिहासिक उच्च विन्दु १८८१ लाइ पार गरिसकेको छ । महामारी अघि नेपाली सेयर बजार १७०० को हाराहारीमा पुगिसकेको थियो । तर लकडाउनयता बजार खुलेपछि बजार फेरी १२०० अंक हाराहारी मै झरेको थियो । त्यसपछि बढेको बजारले भने पछाडी फर्केर हेरेन र २१०० अंक पार गर्यो । अहिले केही दिनयता भने नेपाली सेयर बजार सानो करेक्सनको मुडमा रहेको देखिएको छ ।
यसैगरी भारतको सबैभन्दा ठूलो स्टक एक्सचेन्सले महामारी कै बिच एतिहासिक विन्दु पार गरेको छ । महामारी शुरु भएपछि नेपालमा झैं भारतीय सेयर बजारमा पनि ठूलो गिरावट आएको थियो । झण्डै ४० प्रतिशतले घटेर २५ हजार आसपास आएको भारतीय सेयर बजार अहिले ४५ हजार भन्दा पनि माथी रहेको छ । यो भारतीय सेयर बजारको अहिलेसम्मकै उच्चतक विन्दु हो ।
अमेरिकी सेयर बजारमा पनि फ्रेब्रुअरी महिनामा ठूलो गिरावट आएको थियो । मध्य फ्रेब्रअरीताका उच्चतम विन्दुमा कारोबार भइरहेको अमेरिकी सेयर बजारमा त्यपछि व्यापक गिरावट आएको थियो । तर, अगस्ट महिनायता भने सेयर बजार आफ्नै लयमा फर्किसकेको छ । अहिले अमेरिकी सेयर बजार ३५ सय अंक भन्दा बढिमा कारोबार भइरहेको छ ।
चिनीयाँ सेयर बजारमा तुलनात्मक रुपमा कम उतार चढाव देखिएको छ । महामारी शुरु भएपछि घटेको सेयर बजारमा मार्च महिनायता सुधार देखिएको थियो । त्यसपछि बजार केही सुस्तायो । भाइरस नियन्त्रण गरे पश्चात बढ्न थालेको सेयर बजार जुलाइ महिनासम्म आइपुग्दा फेरी सुस्तायो । अहिले करिब ३५ सय हाराहारीमा कारोबार भइरहेको यो सेयर बजार ‘साइड वाइज मुभमेन्ट’मा रहेको छ ।
यसरी हेर्दा महामारीले विश्व अर्थतन्त्रलाइ थिलथिलो पारेको भएपनि सेयर बजारहरुमा भने सुधार देखिएको छ । सेयर बजारमा गरिने लगानी नै भविष्यमुखि लगानी भएका कारण यसले अहिलेको प्रतिकुल अवस्थाका वावजुद मानिसहरु भविष्यप्रति भने आशावादी रहेको संकेत गर्दछ ।