अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजगढमा धमाधम जग्गा अधिग्रहण गरिँदै, ४४ करोड मुआब्जा वितरण

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारीमा रहेको छ । सो तयारीका क्रममा हाल जमिन अधिग्रहण र नदी नियन्त्रणको काम भइरहेको छ ।

 

हालसम्म निजगढ विमानस्थल निर्माणका क्रममा ६५ बिघा जमिन अधिग्रहण गरिएको छ । सो अधिग्रहणका क्रमा ४४ करोड रुपैयाँ बढी खर्च भइसकेको आयोजना इन्चार्ज विजय यादवले बताए ।

 

निजगढ विमानस्थल अन्तर्गत ११० बीगा जमिन अधिग्रहण गर्नु पर्ने छ । सो मध्ये हाल ६० प्रतिशतका हाराहारीमा जमिन अधिग्रहणको काम सकिएको छ भने बाँकी जमिन आगामी दिनमा अधिग्रहण गर्दै जाने आयोजनाले जनाएको छ ।

 

उनका अनुसार हाल नदि नियन्त्रण र अधिग्रहणका काम तीव्र गतिमा भइरहेको छ । विगतका समयमा कोभिडका कारण मालपोतहरू बन्द हुँदा अधिग्रहणको कामले गति लिन सकेको थिएन । लकडाउन पछि सहज वातावरण सृजना भएको र हाल अधिग्रहणको कामले तीव्र गति लिएको उनले बताए ।

 

‘लकडाउनकाम अधिग्रहणको काम हुन सकेको थिएन, मालपोत कार्यालयहरू बन्द थिएन, अहिले सक्दो छिटो सक्ने गरी काम गरिरहेका छौं,’ उनले चाणक्य पोष्टसँग भने ।

 

निजगढ विमानस्थल अन्तर्गत ११० बीगा जमिन अधिग्रहण गर्नु पर्ने छ । सो मध्ये हाल ६० प्रतिशतका हाराहारीमा जमिन अधिग्रहणको काम सकिएको उनले बताए । आगामी समयमा बाँकी रहेको जमिनहरू पनि अधिग्रहण गर्दै जाने उनको भनाइ छ ।

 

उनले केही जग्गा धनिहरूले मुआब्जाको रकम अपुग भएको भनेर जमिन दिन नमाने बताए । उनीहरूलाई समेत सम्झाएर काम अघि बढाउनु पर्ने भएकाले केही समय लाग्न सक्ने उनले बताए ।

 

रुख कटानका लागि अझै आएन आदेश

 

निजगढ विमानस्थल अन्तर्गत रुख कटानको काम अझै शुरू हुन सकेको छैन । रुख कटानका लागि कुनै निर्देशन नआएसम्म काम शुरू नहुने उनले बताए । रुख कटानको कामपछि मात्र भौतिक प्रगति देखिने भएकाले हालसम्म त्यो काम शुरू नहुँदा धेरै काम देखिन नसकेको बताए ।‘रुख कटानको काम कुनै अघि बढेको छैन, निर्देशन नआएसम्म हामीले शुरू गर्न मिल्दैन,’ यादवले भने ।

 

अर्कोतर्फ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख कटान नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । पहिलो चरणमा १ हजार ९०० हेक्टरभित्र पर्ने रुखहरूको संख्या किटान गरेर वन मन्त्रालयले भनेपछि रुख कटान शुरू गरिने आयोजनाले जनाएको छ ।

 

निजगढ विमानस्थल निर्माणमा ईआईएका अनुसार २५ लाख रुख कटान गर्नुपर्ने देखिन्छ । त्यो हेर्दा यदि २५ लाख रुख काटिएमा एउटा रुख बराबर २५ रुख रोप्नु पर्ने छ । निजगढ विमानस्थल निर्माणका क्रममा अदालतले स्वीकृति दिए रुखकटान पनि चाँडै शुरू गरिने उनले बताए ।

 

रुख कटानको जिम्मेवारी नेपाली सेनाले लिइसकेको भए पनि अदालतमा मुद्दा परेकाले काम हुन सकेको छैन । विमानस्थल क्षेत्रको बस्ती स्थानान्तरणको समस्या जस्ताको तस्तै छ । गत मंसिरमा नागरिक उड्डयन मन्त्रीको कार्यभार सम्हाल्ने क्रममा योगेश भट्टराईले शिलान्यास गर्ने घोषणा गरेका यो आयोजना सोही कारणले गर्दा अहिलेसम्म कागजमै सीमित छ । यो आयोजनामा कटान हुने रुखको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

 

पहिलो चरणमा करिब डेढ खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा एकातर्फ लगानी जुट्न सकेको छैन । निजगढ विमानस्थल रुख कटानपछि मात्र काम शुरू हुने आयोजना हो ।

 

आयोजना अन्तर्गत पर्ने पसाहा र बकैया खोलामा तटबन्ध बनाउने काम भइरहेको छ । पसाहा खोलामा ३० प्रतिशत र बकैयामा ४० प्रतिशत काम सकिएको छ ।

 

२०५१ सालबाट चर्चामा आएको यस आयोजनाले सरकारको कागजी प्राथमिकता पाएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं विमानस्थलमा एअर ट्राफिक चाप बढ्दै जाने तथ्यलाई ध्यानमा राखेर छैठौं योजना (आव २०३६/३७) ले नै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना समेटेको थियो ।

 

त्यसपछिका योजनाहरूले न वैकल्पिक दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना अगाडि बढाउन सके न त योजनाबाट हटाउन । किनकि, नेपालमा यो आवश्यक थियो ।

 

२०५२/५३ मा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ छनोट भयो । त्यसबेला विभिन्न आठ स्थानको सम्भाव्यता अध्ययन गरेर निजगढ छानिएको थियो । यसको विस्तृत सम्भाव्यता अध्ययन २०६६/६७ मा कोरियाली कम्पनी ल्याण्डमार्क वर्ल्डवाइडले सम्पन्न गरेको थियो ।

 

त्यसपछि २०७१ सालमा प्रस्तावित विमानस्थलको चार किल्ला तोक्ने र २०७५ मा वातावरणीय प्रभाव मूल्याङ्कनको काम भयो । अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम पनि सकिएको छैन ।

सेयर बजार कमब्याक, कारोबार रकम भने दिनदिनै घट्दै Read Previous

सेयर बजार कमब्याक, कारोबार रकम भने दिनदिनै घट्दै

अब पेट्रोल पनि पाइपलाइनबाटै ल्याइने, प्रतिघण्टा ४ लाख लिटर आपूर्ति हुने Read Next

अब पेट्रोल पनि पाइपलाइनबाटै ल्याइने, प्रतिघण्टा ४ लाख लिटर आपूर्ति हुने