काठमाडौं । नवीनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान कार्यक्रम शुरू भएको छ । सरकार, वित्तीय संस्था र नीति क्षेत्र बीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान (स्टार्टअप आइडिया कल) कार्यक्रम शुरू गरेका हुन् ।
काठमाडौंमा बुधवार आयोजित समुद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समुद्घाटन गरे । उनले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु हो भन्दै उत्पादन, श्रम, पूँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने बताए । नेपालमै बसेर स्वरोजगार बन्छु भन्नेका लागि यो कार्यक्रम निकै उपयोगी हुने उनको भनाइ छ ।
आयोजकका अनुसार २०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नविनतम प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को वेबसाइट मार्फत नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निःशुल्क तालीम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंक मार्फत बढीमा ३ प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने छ ।
बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालले बागमती प्रदेशभित्र व्यवसाय गर्ने २०० युवाहरुलाई लगानी गरिने बताए । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे ।
नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले त्रिपक्षीय सहकार्यमा निकट भविष्यमा यो कार्यक्रम अन्य प्रदेशमा पनि लैजाने बताए ।
नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधा मा भएका युवाहरुलाई माघ महिनासम्ममा आइडिया पठाउने युवाहरुलाई गरी फागुन र चैत्र महिनामा तालीमप्रदान गरी सहुलियकतपूर्ण कर्जा प्रवाह हुने छ । नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने विश्वास लिइएको छ ।