सेयर बजारमा किन आउँदै छ दिनदिनै गिरावट

काठमाडौं । सेयर बजारमा ठूलो गिरावट आएको छ । हिजो ९ अंकले घटेको बजारमा आज उच्च अंकले घटेको छ ।

 

आइतबार एकैदिन १२३ अंकले घटेको बजार सोमबार करिब ७३ अंकले कमब्याक गरे पनि त्यसयता लगातार गिरावट आएको हो । यो साताको चार कारोबार दिनमा मात्रै समग्रमा नेप्से करिब १०० अंकले घटिसकेको छ ।

 

गत साता राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सेयर धितो कर्जामा कडाइ गर्ने जनाएसँगै लगानीकर्ताको मनोबल गिर्दा बजारले ओरालो यात्रा तय गरेको लगानीकर्ता बताउँछन् ।

 

तिहारपछि लगातार बढेको बजारमा यससाता ठूलो गिरावट आएको हो । सूचकसँगै कारोबार रकम पनि दैनिक घट्दै गएको छ । गतसाता औसतमा दैनिक ८ अर्बको कारोबार हुँदै आएकोमा यस साता घटेर ५ अर्ब हाराहारीमा आइपुगेको छ ।

 

बजारमा ठूला लगानीकर्ता प्रफिट बुक गरेर बाहिरिएसँगै बजारमा कारोबार पनि ह्वात्तै घटेको आकलन गरिएको छ । यद्यपि दैनिक ५ अर्ब कारोबार हुनुले अझै बजार लयमै रहेको अनुमान गर्न सकिन्छ ।

 

सेयर बजार मापक सूचक नेप्से ३९.६० अंकले घटेर १९५५.७५ विन्दुमा आइपुगेको छ । यसदिन २०१ कम्पनीको १ करोड ८ लाख २१ हजार ९७२ कित्ता सेयर ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९१ रुपैयाँमा कारोबार भएको छ ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये जलविद्युत बाहेक अन्य सबै समूहको परिसूचक राताम्मे भएका छन् । आज जलविद्युत् समूहको परिसूचक २२.८९ अंकले बढेको छ भने जीवन बीमा समूह २७०.४६ अंकले घटेको छ ।

 

आज कारोबार भएका कुल २०१ कम्पनी मध्ये ३९ कम्पनीको मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

आज पनि लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यससाता सर्वाधिक कारोबार हुँदै आएको कम्पनीको आज ४२ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

 

कारोबार रकमकै आधारमा अपर तामाकोशी २५ करोड र अरुण काबेली २३ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

 

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक र साञ्जेन हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

हाइड्रोपावर समूह बढे पनि आज अरुण भ्याली हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ५.५६ प्रतिशत गुमाएका छन् ।

तोकिएकै समयमा पूरा नभएपछि धरहरा पुनःनिर्माणको म्याद थप Read Previous

तोकिएकै समयमा पूरा नभएपछि धरहरा पुनःनिर्माणको म्याद थप

बासमती धानमा नेपालले दाबी पेश गर्ने Read Next

बासमती धानमा नेपालले दाबी पेश गर्ने