काठमाडौं । तोकिएकै समयमा निर्माण पूरा नभएपछि धरहरा पुनः निर्माणको म्याद थप गरिएको छ ।
धरहराको पुनःनिर्माण २०७७ साल कात्तिक मसान्तसम्ममा सक्ने लक्ष्य राखेको भए पनि कोरोना, कामदार अभाव लगायत कारणले समयमै सम्पन्न नभएपछि ८ महिना समय थप गरिएको हो ।
२ वर्ष भित्र ३ अर्ब ४८ करोडको लागतमा निर्माण गर्ने गरी चीनको जीआइआइटीसी र नेपालको रमन कन्स्ट्रक्सनले २०७५ असोजमा संयुक्त रूपमा काम शुरु गरेका थिए । तर, समयमा काम नसकिएपछि २०७८ असार १६ गतेसम्मका लागि म्याद थपिएको हो ।
धरहराको पुनःनिर्माण २०७७ साल कात्तिक मसान्तसम्ममा सक्ने लक्ष्य राखेको भए पनि कोरोना, कामदार अभाव लगायत कारणले समयमै सम्पन्न नभएपछि २०७८ असारसम्म पूरा गर्ने गरी म्याद थप गरिएको हो ।
कोरोनाका कारण अपेक्षित गति लिन नसके निरन्तर काम भइरहेको आयोजना प्रमुख ध्रुव पौडेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म २२ तले धरहराको १९ औं तलाको ढलान पूरा भइसकेको छ ।
ढलानको काम पूरा भए पनि प्लाष्टरका कामहरु हुने क्रममा रहेका छन् । अन्डर ग्राउण्डमा पार्किङका बनाउने काम भइरहेको छ । हालसम्म धरहरा निर्माणका क्रममा डेढ अर्ब रुपैयाँ बढी बजेट खर्च भइसकेको आयोजना प्रमुख पौडेलले बताए । उनले धरहरा पुनः निर्माण सक्दो समयमै पूरा गर्ने गरी काम भइरहेको बताए ।
‘धरहरा पुन निर्माण तीव्र गतिमा भइरहेको छ गत वर्ष कोभिडका कारण काम गर्न सकिएको थिएन तर, अब समयमै पूरा गर्ने कोसिसमा छौं ।’ उनले चाणक्य पोष्टसँग भने ।
अब भने पहिलाकै झै चुनढुङ्गाबाट मौलिक संरचनामा नभइ आधुनिक शैलीमा निर्माण हुन लागेको पूरातत्वविद् मानन्धरले जानकारी दिए । बाहिर हेर्दा जुद्ध समशेरले बनाएको जस्तो देखिएपनि पहिलेको भन्दा निकै भिन्न र आधुनिक हुने उनले जानकारी दिए । २२ तल्ले धरहरामा ३ तला अन्डरग्राउण्डमा पार्किङ बन्दै छ । चढ्न झर्नका लागि ‘लिफ्ट’ राखिएको छ ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते धरहरा पुनःर्निर्माण शिलान्यास गरेका थिए । साविकको धरहरा रहेको स्थान सुन्धारामा करिब ४२ रोपनी क्षेत्रफलमा अहिले धरहरा निर्माण भइरहेको छ ।
पुनःनिर्माण प्राधिकरणले १२ वैशाखमा भत्किएको धरहराको भग्नावशेषलाई सिसाले छोपेर म्युजिएमको रूपमा प्रयोग गर्नेगरी संचालनमा ल्याउने जनाएको छ । हाल बन्दै गरेको धरहरा पहिलाको भन्दा १० मिटर पर रहेको छ ।
भूकम्पपछिका चार वर्ष विवादमै रहेको धरहरा प्रधानमन्त्री ओलीले ‘मै बनाउँ छु, मेरो धरहरा’ भन्ने नारा अभियान समेत चलाएका थिए । अभियानको गति त्यति प्रभावकारी हुन नसकेपछि पुननिर्माण प्राविधिकरणलाई जिम्मा दिएको थियो ।
पुनःनिर्माण प्राविधिकरणले जिम्मा पाएपछि निर्माण तीव्रताका साथ अघि बढेको छ । वि.सं.१८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपूरा सुन्दरीदेवीको सम्झना स्वरुप बनाएको उक्त धरहरा त्यसको १०८ वर्षपछि वि.स. १९९० को भूकम्पले भत्किएको थियो । पूनः तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्पले ढलेको दुई वर्षमै मौलिक स्वरूपमा धरहराको पुनःनिर्माण गराएका थिए ।