काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । आइतबार १२३ अंकले घटेर सोमबार करिब ७३ अंकले बढेको बजार आज पुनः घटेको हो ।
दिनभर तीव्र उतरचढाव देखिएको बजार अन्तिममा ९ अंकले घटेर बन्द भएको हो । सूचकसँगै कारोबार रकममा पनि ह्वात्तै गिरावट आएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ९.०४ अंकले घटेर १९९५.३५ विन्दुमा आइपुगेको छ । यसदिन २०२ कम्पनीको १ करोड २५ लाख ६६ हजार ९६१ कित्ता सेयर ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार ३८३ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका १२ वटा समूहमध्ये जलविद्युत र सामूहिक लगानी कोष बाहेक अन्य सबै समूहको परिसूचक राताम्मे भएका छन् । आज जलविद्युत् समूहको सबैभन्दा धेरै ८३.८९ अंकले घटेको छ भने निर्जीवन बीमा समूह १३१.७५ अंकले घटेको छ ।
आज कारोबार भएका कुल २०२ कम्पनी मध्ये ५२ कम्पनीको मूल्य बढेको छ भने १३९ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज पनि लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यससाता सर्वाधिक कारोबार हुँदै आएको कम्पनीको आज ४६ करोड ७६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । पछिल्ला ३ दिनमा यस कम्पनीको लगातार दैनिक १ अर्बभन्दा बढीको कारोबार भएको थियो ।
कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स ३१ करोड र नेपाल टेलिकम २५ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।
घट्दो बजारमा पनि आज चार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, अपर तामाकोशी, रसुवागढी र साञ्जेन हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
आज युनिलिभर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ६.०२ प्रतिशत गुमाएका छन् ।