काठमाडौं । एनआइसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
सो सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर (१ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ) र कर प्रयोजनार्थ १ प्रतिशत नगद ( ९ करोड ७२ लाख रुपैयाँ) गरी कुल २० प्रतिशत लाभांश् पारित गरेको छ ।
१९ प्रतिशत बोनस सेयर वितरण पछि बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँ पुगेको छ ।
यस्तै, साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।
बैंकले हाल देशभरका ३३० शाखा कार्यालय, ४७० एटीएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।