काठमाडौं । आज (आइतबार) सेयर बजार खुले लगत्तै बजारमा पहिरो गएको छ । केही दिनयता जसरी सेयर बजारको सन्र्दभमा चर्चा चलिरहेको थियो, त्यसलाई हेर्ने हो भने आजको पहिरो अनुमान गर्न सकिने नै थियो ।
केही दिनयता बजार यसरी नै केही दिन घट्नका लागि माहोल तयार भइरहेको थियो । ठूला मिडियाहरुले सेयर बजार अस्वाभावीक रुपमा बढिरहेको भनेर लेख्न थालेका थिए । धितोपत्र बोर्डले लगानीकर्तालाइ सचेत रहेर र कम्पनी हेरेर मात्र लगानी गर्नु भनेर विज्ञप्ती जारी गरेको थियो ।
धितोपत्र बोर्डले सेयर बजार धेरै बढ्यो भनेर विज्ञप्ति निकाले झैं राष्ट्र बैंकले पनि सेयर बजार बढ्यो भनेरै सेयर कर्जामा कडाइ गर्न लागेको हो वा दैनिक कारोबार रकम उच्च भयो र अन्य क्षेत्रमा लगानी गएन भनेर कडाइ गर्न लागेको हो उही जानोस् ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सेयर कर्जा पुनरावलोकन गर्ने बताएको थियो । यी सबै विषयहरुलाई मानिसहरुले आफ्नो अनुकूल अनलाइन मिडिया र सामाजिक सञ्जालहरुमा जसरी प्रचार गर्नु पर्ने थियो त्यसरी गरे ।
परिणामस्वरुप साधारण लगानीकर्ताहरु अस्ति शुक्रबार र हिजो शनिबार कहिले आइतबार आउला, एघार बज्ला र सेयर बेचौं भन्ने मनस्थितिमा पुगेका थिए । त्यसैको नतिजा आज बजार खुलेको करिब १ घण्टामै ७० अंक भन्दा बढीले घटेको छ । मानिसहरु अत्तालिएका छन् ।
नेपालको सेयर बजार लामो समयसम्म बढ्न सकेको थिएन । साढे ४ वर्षअघि १८८१ विन्दुमा पुगेको सेयर बजार त्यसयता निरन्तर घटेर ११०० विन्दसम्म आइपुग्योे । ब्याजदर उच्च थियो, तरलताको अभाव थियो । जसका कारण बजार बियरिस ट्रेण्डमा जानु स्वभावीक नै थियो ।
तर, केही महिनायता विस्तारै बजारले टाउको उठाउन थालेको छ । कोरोना भाइरसको महामारी भन्दा थोरै अघिदेखि बजार चलायमान हुन थालेको थियो । भाइरसको महामारी पछि लगानीको क्षेत्र खुम्चिदै गयो । तरलता अधिक भयो र ब्याज घट्न थाल्यो । परिणामस्वरुप सेयर बजार ४–५ सय अंक सहज ढंगले उक्लियो र पुरानो ‘हाइ’लाई समेत सहज ढंगले पार गर्यो ।
विश्वका कुनै पनि सेयर बजार सधैं बढ्ने वा सधैं घट्ने भन्ने हुँदैन । लामो समय घटेको नेपाली सेयर बजार पनि कुनै न कुनै समय बढ्नै पर्ने थियो । बढ्यो ।
तर, यो बढाइ केही कम्पनीहरुको सन्र्दभमा भने त्यति स्वभावीक देखिएन । आन्तरिक सुशासन राम्रो नभएका, लाभांश दिनै नसक्नेदेखि लिएर हालै सेयर बजारमा सूचीकृत भएका पुनर्बीमा जस्ता कम्पनीका सेयरको वृद्धि केही अस्वाभावीक देखियो ।
यो बीचमा यस्ता कम्पनीहरुको सेयर ‘कर्नरिङ’ गरिएको विषय बलियो ढंगले बाहिर आइरहेकै हो । कम्पनीका आन्तरिक सूचना चुहावट गरेर आफू अनुकूल प्रयोग गर्ने ‘इन्साइडर ट्रेडिङ’ त नेपाली सेयर बजारमा सदाबहार चलिरहेकै छ । यी दुवै कुरा कुनै पनि परिपक्व वित्तीय व्यवस्थामा अपराध मानिन्छ ।
कोरोना महामारीको कारण बन्द भएको बजार खुलेर करिब ११८० सम्म झरेर फेरि झण्डै २१०० को यात्रा तय गर्दा समेत केही कम्पनीमा भएका सेयर कर्नरिङ र व्यापक रुपमा भएको इन्साइडर ट्रेडिङ नियामक निकायको चासोको विषय बनेन । कर्नरिङ र इन्साइडर ट्रेडिङ नियामकको आँखामा अपराध ठहरिएन ।
यसको मतलब नियामक निकायले आफूले सेयर बजारको नियमनमा जे गर्नुपर्ने हो त्यो प्रभावकारी ढंगले गरेको देखिएन । तर, बजार बढेको वा घटेको भने नजिकबाट नियालिरह्यो, लगानीकर्ताले झैं । बजारको घटबढ नियाल्ने त लगानीकर्ताले हो नि ! नियामकले त त्यो घटबढ प्रक्रिया, विधि र कानुनसम्मत भए नभएको पो हेर्नुपर्ने !
तर, नियामक समेत यस्ता सामान्य घटबढ बाटै आत्तियो र विज्ञप्ती निकाल्यो, जसलाई विभिन्न संस्था वा मानिसहरुले आफू अनुकूल प्रयोग गरे ।
नेपाल राज्यका संस्थहरुमा नेतृत्व दिने मानिसहरु आधारभूत र नीतिगत रुपमा आफ्ना संस्थाले गर्नुपर्ने कामहरु प्रभावकारी ढंगले गर्न नसक्ने र व्यक्तिगत भावनामा बहकिने चलन नयाँ होइन ।
पछिल्लो समय सेयर बजारसँग जोडिएको अर्को संस्था हो नेपाल राष्ट्र बैंक । राष्ट्र बैंकले करिब ५ महिना अघि ल्याएको मौद्रिक नीतिमा सेयर बजारलाई थप चलायमान बनाउन भनेर मार्जिन लेन्डिङलाई ७० प्रतिशत पुर्याएको थियो । तर, अहिले कार्यान्वयन भएको केही महिना नबित्दै फेरि सेयर कर्जा पुनरावलोकन गर्ने जनाएको छ । धितोपत्र बोर्डले सेयर बजार धेरै बढ्यो भनेर विज्ञप्ती निकाले झैं राष्ट्र बैंकले पनि सेयर बजार बढ्यो भनेरै सेयर कर्जामा कडाइ गर्न लागेको हो वा दैनिक कारोबार रकम उच्च भयो र अन्य क्षेत्रमा लगानी गएन भनेर कडाइ गर्न लागेको हो उही जानोस् ।
वास्तवमा भन्ने हो भने सेयर बजार त्यति धेरै बढेको पनि होइन । नेप्सेको गणना विधिले गर्दा छोटो समयमै केही धेरै बढेको जस्तो देखिएको मात्र हो । सेयर बजारको ८० प्रतिशत ओगटेको बैंकिङ क्षेत्र अझै राम्रोसँग चलायमान हुन सकेको छैन । अन्य क्षेत्रका कम्पनीहरु पनि केही प्रतिशत मात्र बढेका हुन् । नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, पुर्नबीमा जस्ता केही ठूला कम्पनीहरुको सेयर मूल्य बढेका कारण मात्र नेप्से परिसूचक अलि धेरै बढेको जस्तो देखिएको हो ।
दैनिक अधिक कारोबार भएको विषय पनि त्यति अस्वभाविक होइन । महामारीको समयमा अन्य क्षेत्रमा लगानीको अवसर खुम्चिएको र ब्याजदर सस्तो भएको समयमा पूँजी बजारतर्फ लगानीकर्ताहरु आकर्षित हुनु अझ स्वभावीक हो । मुद्राको आधारभूत विशेषता पनि यही नै हो ।
तर किन हो कुन्नी राष्ट्र बैंकले पनि धितोपत्र बोर्डले झैं बजारको घटबढलाई नजिकबाट नियाल्ने गरेको रहेछ ।
हामीले सामान्य ढंगले बुझ्ने कुरा के हो भने धितोपत्र बोर्डको काम भनेको सेयर बजार नियमन गर्ने र राष्ट्र बैंकको काम भनेको मुलुकको मौद्रिक व्यवस्थापन गर्ने हो । तर, आफ्ना संस्थाको आधारभूत काम भन्दा पनि सेयर बजारको घटबढ पछाडि यी दुवै संस्थाका मानिसहरु किन लागेका होलान् ?
होइन भने नेपालको सेयर बजार १२०० र १६०० सय अंकभन्दा तलमाथि हुनै हुँदैन भनेर नीतिगत व्यवस्था नै किन नगर्ने ?