मंसिर २९ गतेदेखि आइपीओ ल्याउन लागेको प्रभु लाइफको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

 

निष्काशन हुने कुल ६० लाख कित्तामध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामूहकि लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आइपीओमा पुस २ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर विक्री नभएमा भने पुस १३ गतेसम्म आवदन दिन सकिनेछ ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

 

हाल १ अर्ब ४० करोड चुक्ता पूँजी रहेको इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुर्याउन आइपीओ जारी गर्न लागेको हो ।

 

वित्तीय विवरणको कुरा गर्दा नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफलाई ४ को रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत वित्तीय अवस्था औसत भन्दा कम रहेको संकेत गर्दछ ।

 

काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको प्रभु लाइफ सन् २०१७ देखि सञ्चालनमा आएको हो । कम्पनीको प्रमोटरमा बैंकहरु, मचेन्ट बैंकहरु, लगानी व्यवस्थापन कम्पनीहरु, बीमा कम्पनीहरु र केही व्यक्तिगत लगानीकर्ताहरु समेत रहेका छन् ।

 

अहिलेसम्म कम्पनीका १ सय हाराहारी शाखा कार्यालयहरु रहेका छन् भने झण्डै ७ हजार एजेन्टहरु समेत छन् । कम्पनीका करिब २० कर्पोरेट एजेन्टहरु समेत रहेका छन् ।

 

यस्तो छ वित्तीय अवस्था 

 

इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा १५३.२७ प्रतिशतले बढाएको छ । कम्पनीले असोज मसान्तसम्ममा ३ करोड ९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १ करोड ८६ लाख रुपैयाँले बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा १ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा इन्स्योरेन्सले २५ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १२ करोड ६८ लाख रुपैयाँले बढी हो । इन्स्योरेन्सले गत आवको पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

 

समीक्षा अवधिसम्म कम्पनीले २२ हजार ५९४ वटा बीमालेख जारी गरी २५ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ । यस अवधिमा इन्स्योरेन्सले १७५ वटा दाबी बापत ६१ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ वटा दाबी वापत ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

 

हाल १ अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २३ करोड ९१ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब १९ करोड ४९ लाख रुपैयाँ र महाविपत्ती जगेडामा १ करोड ५४ लाख रुपैयाँ सञ्चित छ ।

 

कोरोना संक्रमणका बाबजूद कम्पनीले राम्रो व्यवसाय विस्तार गरेको देखिएको छ । यस्तो प्रतिकूल अवस्थालाई चुनौतीका साथै अवसरको रुपमा समेत लिएर व्यवसायलाई अघि बढाउने रणनीति रहेको कम्पनीले जनाएको छ ।

पेट्रोल पम्प भाडामा लगाउन नपाइने Read Previous

पेट्रोल पम्प भाडामा लगाउन नपाइने

देशभर सडक निर्माण सुस्त, लक्ष्यको ६० प्रतिशत मात्र कालोपत्र Read Next

देशभर सडक निर्माण सुस्त, लक्ष्यको ६० प्रतिशत मात्र कालोपत्र