उपत्यका भर विद्युतीय तार भूमिगत गर्ने तयारी, ५ खण्डको ठेक्का प्रक्रिया पूरा

काठमाडौं । विद्युत् प्राधिकरणले काठमाडौं उपत्यका भरी विद्युतीय तार भूमिगत गर्ने तयारी गरेको छ । ११ वटा वितरण केन्द्र मध्ये २ वटा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका विद्युतीय तार भूमिगतको काम शुरू भइसकेको छ ।

 

भक्तपुर र ललितपुरका २/२ वटा वितरण केन्द्रका विद्युतीय तार भूमिगतका लागि ठेक्का मूल्यांकनको चरणमा रहेको छ । अन्य ५ वटा वितरण केन्द्रहरुका लागि विद्युत् भूमिगत गर्न ठेक्का हस्तान्तरण भइसकेको छ ।

 

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका ठाउँमा तार भूमिगत गर्न कुल पौने ७ अर्ब रूपैयाँ खर्च हुने जनाइएको छ भने अब उपत्यका भित्र पूरै तार भूमिगत गर्न ११ अर्ब रूपैयाँ हाराहारीमा खर्च हुने अनुमान गरिएको छ ।

 

कुलेश्वर, बालाजु, जोरपाटी, कोटेश्वर लगायतका विभिन्न ५ स्थामा विद्युतीय तार भूमिगत गर्न भारतीय कम्पनी लासान एण्ड टर्भो लिमिटेड कम्पनीलाई ठेक्का दिइएको हो ।

 

आयोजनाका प्रमुख मनोज सिलवालका अनुसार चाबहिल–मैजुबाल खण्डमा भने विद्युतीय तार भूमिगत गर्ने काम सम्पन्न भइसकेको छ । चाबहिल–मैजुबाल खण्डको ८०० मिटर सडकमा तार भूमिगत गरिएको थियो ।

 

महाराजगञ्ज–बुढानीलकण्ठ–लैनचौर केन्द्रको जापानीज दूतावाससम्म खनेर पाइप हाल्ने काम भइसकेको छ । तार हाल्ने काम भने अझै पूरा हुन सकेको छैन । महाराजगञ्ज–बुढानीकलकण्ठ झण्डै साढे ७ किलोमिटर लम्बाइ रहेको छ ।

 

हालसम्म ३०/३५ किलोमिटर सर्किट तार हाल्ने काम भइसकेको सिलवालले बताए । उनका अनुसार एकै ठाउँमा धेरै थरी तार हाल्नु पर्ने भएकाले तार धेरै प्रयोग हुने गरेको छ ।

 

यो पटक कोरोनाका कारण कर्मचारी पाउन नसक्दा समेत कामले गति लिन नसकेको उनले बताए । उनले आगामी समयमा उपत्यका भरी गरिने तार भूमिगतमा सडक विभागको सहयोग लिएर गरिने बताए ।

 

‘कोरोनाका कारण भने जस्तै गरी काम हुन सकेको छैन, अबको समयमा उपत्यका भरी तार भूमिगत गराउने पूरै तयारी भइसकेको छ,’ आयोजना प्रमुख सिलवालले चाणक्य पोष्टसँग भने ‘कतै काम शुरू हुन थालेको छ, सक्दो सडक विभागसँग समन्वयन गरेर समयमै तार भूमिगत गराउने योजना छ ।’

 

तार भूमिगत गर्ने यो परियोजना गत वर्ष २०७६ फागुन ५ गतेदेखि शुरूआत गरिएको थियो । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्जका वितरण केन्द्रका विद्युतीय तारहरु भूमिगत गर्न लागिएको हो । नमूना परियोजनाका रूपमा अघि बढाइएको उपत्यकाको अण्डरग्राउण्ड केबलीङको काम पहिलो चरणमा रत्नपार्क, न्युरोड, असन, ठमेल, लाजिम्पाट, महाराजगञ्ज, बानेश्वर, एयरपोर्ट, चाबहिल र बौद्ध सम्मका विद्युतीय तार भूमिगत गरिँदैछ ।

 

प्राधिकरणले ‘होराइजनल ड्रिलिङ’ प्रविधिबाट ठाउँ–ठाउँमा प्वाल पारेर तार भ्ुमिगत गरिरहेको छ । जसका कारण सबै सडक खन्नु परेको छैन । रत्नपार्क र महाराजगञ्जका केन्द्र आसपासको ठाउँमा तार भूमिगत गर्ने काम भारतको केइआइके कम्पनीलाई ठेक्का दिइएको छ ।

 

प्राधिकरणले ३० महिनाभित्र उपत्यकाको ४०० किलोमिटर क्षेत्रका १ लाख घरधुरीमा विद्युतीय तार भूमिगत गरिसक्ने योजना सहित भारतीय कम्पनी केइआई इण्डष्ट्रिजसँग ठेक्का सम्झौता गरेको छ ।

 

विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न एशियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रूपैयाँ ऋण सहयोग गरेको छ । विद्युत् वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देखिने छैन । बिजुलीका तार भूमिगतको काम २०७८ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

कुन कुन ठाउँमा तार भूमिगत गरिँदै

 

बालुवाटार, गोंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत पर्ने क्षेत्रमा २०० किलोमिटर र बागबजार, पुतलीसडक, असन, ठमेल, लगायतका रत्नपार्क बिजुली वितरण क्षेत्रमा भूमिगण गर्ने काम हुने छ ।

 

सिलवालले साना सडकहरुमा तारलाई व्यवस्थित बनाउने काम गरिने र नाङ्गा तारहरुलाई सुरक्षित बनाउने तरिका अपनाउँदै जाने बताए । तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्र अन्तर्गतका करिब ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिने छ ।

 

दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ ।

 

तार अन्डरग्राउण्डमा लगानी

 

महाराजगञ्ज र रत्नपार्कमा तार भूमिगत गर्न छुट्टाछुट्टै ठेक्का गरिएको छ । दुवै ठेक्काका लागि कुल पौने ७ अर्ब रूपैयाँ लगानी रहेको छ । महाराजगञ्जमा सवा ३ अर्ब र रत्नपार्कमा साढे ३ अर्ब खर्च लाग्ने भएको छ ।

 

बिजुलीका तार अन्डरग्राउण्ड प्रणाली महंगो भएकाले त्यसलाई सबै ठाउँमा प्रयोग गर्न सम्भव नहुने उनले बताए । यस्तै अब उपत्यका भित्र पूरै तार भूमिगत गर्न ११ अर्ब रूपैँयाको हाराहारीमा लगानी लाग्ने अनुमान गरिएको छ । हालसम्म विद्युतीय तार भूमिगतका क्रममा २५ प्रतिशतका हाराहारीमा खर्च भइसकेको सिलवालले जानकारी दिए । यो रकम डेढ अर्ब रूपैयाँ हाराहारीमा हुन्छ ।

भारतका ठूला कम्पनी आक्रमक रूपमा ई-कर्मशमा आउँदै, नेपाली व्यवसायीको भने चासो नै देखिएन Read Previous

भारतका ठूला कम्पनी आक्रमक रूपमा ई-कर्मशमा आउँदै, नेपाली व्यवसायीको भने चासो नै देखिएन

‘स्टार्टअप’ व्यवसाय कार्यविधि पारित, २ प्रतिशत ब्याजमै ५० लाखसम्म ऋण पाउने Read Next

‘स्टार्टअप’ व्यवसाय कार्यविधि पारित, २ प्रतिशत ब्याजमै ५० लाखसम्म ऋण पाउने