काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजार बुलिस ट्रेन्डमा गइरहेको छ । बजारले सूचक र कारोबार रकम दुवैमा दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ भने लगानीकर्ता नेप्से अझै नयाँ उचाइमा पुग्नेमा आशावादी रहेका छन् ।
कोरोनाका कारण अन्य क्षेत्रमा कर्जा लगानी हुन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता कायम भएको छ । जसले गत वर्ष करिब १८ प्रतिशतसम्म पुगेको बैंकको ब्याजदर अहिले एकल अंक (१० प्रतिशत भन्दा कम) मा झरेको छ । यसको सकरात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।
बैंक ब्याजदर सस्तो भएपछि लगानीकर्ताले बैंकबाट ऋण लिएर धमाधम सेयरमा लगानी गर्न थालेका छन् । यो नै सेयर बजारले नयाँ उचाई कायम गर्नुको मुख्य कारण रहेको लगानीकर्ताको बुझाइ छ । पछिल्लो एक महिनामा मात्रै बजार सूचक करिब ३५० अंकले बढीसकेको छ ।
यस्तै, पछिल्लो समय सेयर बजार प्रविधिमैत्री बन्दै जानु, बजारमा नयाँ लगानीकर्ताको उल्लेख्य प्रवेश हुनु, नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम गत वर्षको नाफाबाट लाभांश घोषणा गर्नु लगायत कारणले बजारमा उछाल आएको बताइएको छ ।
बजारले नयाँ उडान लिएसँगै लगानीकर्ताहरु विभिन्न क्षेत्रका कम्पनीहरुमा पालैपालो आकर्षि हुने गरेका छन् । यसअघि जलविद्युत कम्पनी, बैंकिङ, बीमा कम्पनी, उत्पादनमूलक, व्यापार लगायत क्षेत्रका कम्पनीहरु सेयरमा बुल आए पनि माइक्रो फाइनान्स क्षेत्रका कम्पनीको भाउ भने खासै बढ्न सकेको थिएन ।
तर, यस हप्तादेखि माइक्रोफाइनान्स समूहमा पनि बुल आएको लगानीकर्ताले बताउन थालेका छन् । माइक्रोफाइनान्स बुल आउनका केही कारण रहेका छन् ।
नेपाल राष्ट्र बैंकले सम्भव भए यही साता र नभए अर्को साता मौद्रिक नीतिको समीक्षा गर्ने जनाएको छ । मौद्रिक नीति समीक्षा मार्फत माइक्रोफाइनान्स कम्पनीको पूँजी वृद्धि योजना ल्याउन लागिएको आँकलन गरिएकाले यस क्षेत्र प्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको एक ब्रोकरका सञ्चालकले भने ।
‘राष्ट्र बैंकले मौद्रिक नीति मार्फत राष्ट्रिय स्तरको माइक्रोफाइनान्सको पूँजी १ अर्ब पुर्याउने हल्ला चलेको छ,’ उनले भने, ‘यसले गर्दा अधिकांश कम्पनीले पूँजी वृद्धि गर्दा लाभांका साथै हकप्रद पनि दिने भएकाले माइक्रोफान्नास कम्पनीप्रति आकर्षित भएको अनुमान गर्न सकिन्छ ।’
राष्ट्र बैंकले यस अघि मौद्रिक नीति मार्फत लघुवित्त कम्पनीहरुलाई हकप्रद निष्काशनमा रोक लगाएको थियो । तर, अहिले मर्जरमा जाने कम्पनीहरुले भने पूँजी वृद्धिका लागि हकप्रद ल्याउन पाउने व्यवस्था गर्न लागिएको जनाइएको छ । बुल बजारमा हकप्रद पाउने आशामा लगानीकर्ता माइक्रोफाइनान्सतर्फ आकर्षित भएको बताइन्छ ।
यद्यपि राष्ट्र बैंकले आफ्नो नीति सार्वजनिक नगर्दा समेत हल्लाकै भरमा लागेर सेयर किन्दा भने लगानीकर्ता सावधानी हुनुपर्ने देखिन्छ ।
तुलनात्मक रुपमा अन्य क्षेत्रका कम्पनीको तुलनामा कम संख्यामा सेयर हुनु र विगतमा पनि अन्य क्षेत्रका कम्पनीलेभन्दा राम्रो लाभांश दिँदै आएकाले लगानीकर्ता विस्तार यसक्षेत्र तर्फ आकर्षित भएको लगानीकर्ताहरु बताउँछन् ।अघिल्लो बुलमा पनि माइक्रोफाइनान्स कम्पनीकै सेयरहरुको मूल्य सर्वाधिक महँगो भएका थिए । यसपटकको बुलमा पनि त्यस्तै हुने लगानीकर्ताको आकलन छ ।
यस्तै, कोरोनाका बाबजूद लघुवित्त कम्पनीहरुले अपेक्षित व्यवसाय विस्तार गरेकाले आगामी दिनमा यस क्षेत्रका कम्पनीले राम्रै आम्दानी गर्ने आशामा लगानीकर्ता लघुवित्तको सेयर किन्न लालायित भएको बुझिन्छ ।
अधिकांश लघुवित्तहरुले बैंकबाट ऋण लिएर कर्जा लगानी गर्ने गर्छन् । अहिले बैंकको ब्याजदर सस्तो भएकाले सस्तो ब्याजमा ऋण लिएर लगानीगर्दा राम्रै नाफा कमाउने गरेको बताइन्छ । यद्यपि, राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरीसीमा तोकिदिएको छ ।
एउटा क्षेत्रमा प्रफिट बुक गरेपछि अर्को क्षेत्रमा डाइभर्ट हुने लगानीकर्ताको विशेषता नै हो । यसअघि जलविद्युत, बीमा, व्यापार, उत्पादनमूलक लगायत क्षेत्रका कम्पनीको सेयरमा गरिएको लगानीबाट प्रफिट बुक गरेका लगानीकर्ता अहिले माइक्रोफाइनानसमा डाइभर्ट हुन थालेको लगानीकर्ता बताउँछन् । यसले गर्दा माइक्रोफाइनान्स कम्पनीको सेयरको भाउ बढ्न थालेको हो ।
आज कारोबारमा आएको अधिकांश कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । यसले पनि माइक्रोफानान्स समूहमा बुल आउन लागेको आकलन गर्न सकिन्छ ।