काठमाडौं । हालै सम्पन्न उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाले आगामी कार्यकालको लागि पदाधिकारीहरु निर्वाचित गरेको छ ।
शेखर गोल्छा विधान अनुसार स्वतः वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष नियुक्त भएका छन् । अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेगरी वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । उनले वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानलाई पराजित गरे ।
अबको परिवर्तित औद्योगीक संरचनामा नेपाललाई कहाँ र कसरी उभ्याउने भनेर राष्ट्रिय स्तरमा बहस चलाउने, दिशानिर्देश गर्ने र त्यसको नेतृत्व लिने तर्फ महासंघका नयाँ पदाधिकारीहरु सचेत छन् त ?
सोही चुनावको सन्दर्भमा पूर्वअर्थमन्त्री समेत रहिसकेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एउटा ट्वीट गरेका छन् । उनले लेखेका छन् :
‘नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा पछि स्वतः अध्यक्ष बन्ने वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित चन्द्र ढकाल लगायत सबै विजयी उम्मेदवारहरूलाई हार्दिक बधाई तथा शुभकामना ! भर्खर राष्ट्रिय औद्योगीकरणको युगमा प्रवेश गरेको नेपालमा निजी क्षेत्रले आफ्नै खुट्टामा उभिने शक्ति प्राप्त गरोस् !’
यो छोटो ट्वीटमा अबको महासंघको नेतृत्वले निकै गम्भीरताका साथ ध्यान दिनुपर्ने दुईवटा विषय अटाएका छन् । पहिलो, नेपाल भर्खर राष्ट्रिय औद्योगीकरणको युगमा प्रवेश गरेको भन्ने विषय । र, दोस्रो, निजी क्षेत्रले आफ्नै खुट्टामा उभिने शक्ति प्राप्त गरोस् भन्ने कामना ।
यी दुई विषयमा केही छलफल गरौं ।
औद्योगीक संरचनामा आएको परिर्वतनको विषय
पूर्व प्रधानमन्त्री भट्टराईले मुलुक राष्ट्रिय औद्योगीकरणको युगमा प्रवेश गरेको भनेर नेपालको आर्थिक संरचनामा पनि केही परिर्वतन आउन लागेको तर्फ संकेत गरेका हुन सक्छन् । उसो त नेपालको मात्र नभएर विश्वकै आर्थिक संरचनामा केही व्यापक परिर्वतन आएको छ, विगत एक दशकमा । अहिलेको कोरोना महामारी त्यो परिर्वतनको गति र आयतनलाई अझ तीव्र र फराकिलो पारिदिएको छ ।
यसलाई विश्वको चौथो औद्योगीक क्रान्तिको रुपमा पनि अर्थ्याउन थालिएको छ । उत्पादन र औद्योगीक प्रक्रियामा प्रयोग हुन थालेको ‘अटोमेशन’ र स्मार्ट टेक्नोलोजीको प्रयोगलाई चौथो औद्योगिक क्रान्तिको नाम दिइएको हो । र, अहिलेको औद्योगीकरणको युग भनेकै अटोमेशन र स्मार्ट प्रविधिको युग भएको छ ।
विश्वका ठूला कम्पनीहरुको सूची हेर्दा पनि यसको संकेत पाइन्छ । कुनै समय तेल प्रशोधन गर्ने कम्पनी र बैंकहरु विश्वका ठूला कम्पनीहरुको सूचीको नेतृत्वकर्ता थिए भने अहिले आएर प्रविधि सम्बद्ध कम्पनीहरु र नयाँ स्टार्ट अपहरु समेतले उक्त सूचीलाई नेतृत्व दिन थालेका छन् ।
भारतको ठूलो कम्पनी रिलायन्सको पछिल्लो व्यवसायीक क्रियाकलापहरु हेर्ने हो भने परिर्वतन हुँदै गरेको आर्थिक र व्यवसायीक संरचनाको संकेत पाइन्छ । केही अघिसम्म कपडा उत्पादन, तेल प्रशोधन इत्यादि व्यवसाय गरिरहेको यो कम्पनीले अहिले आफ्नो लगानीको सबैभन्दा ठूलो हिस्सा प्रविधिजन्य कम्पनी जियोतर्फ मोडेको छ ।
केही सय वर्षअघि भएको औद्योगिक क्रन्तिको जगमा आजको युरोप र अमेरिका निर्माण भएका हुन् । त्यो समय औद्योगिक उत्पादनको लागि प्रमुख कच्चा पदार्थ भनेको पूँजी थियो । त्यो क्रन्तिको फाइदा एशियाली, अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकहरुले लिन पाएनन् । नेपाल जस्तो अति पीछडिएको र निरंकुश शासनमा जकडिएको देशले त झन् त्यो औद्योगिक क्रान्तिको लाभांश पाउने कुरै भएन ।
तर, अहिले चौथो औद्योगिक क्रान्तिमा विश्व आइपुग्दा परिदृश्य अलि फेरिएको छ । कुनै समय पूँजी प्रमुख कच्चा पदार्थ रहेकोमा अहिले ‘आइडिया’ र प्रविधि प्रमुख कच्चा पदार्थ भएका छन् ।
अब आइडिया र प्रविधि त पूँजी जस्तो कसैको अधिनमा बस्दैन नि !
त्यसैले नेपाल जस्तो गरिब र कमजोर देशले पनि अबको आइडिया र प्रविधिको आधारमा भइरहेको औद्योगीक क्रान्तिबाट कसरी लाभांश लिन सक्छ भनेर सोच्ने बेला आएको छ । आफ्नो प्रतिस्पर्धात्मक क्षमता पर्गेल्ने समय पनि आएको छ । नेपाल जस्तो देशको दैलोमा आइडिया र प्रविधिको माध्यमबाट छलाङ लगाउने असीमित अवसर आएको छ ।
ट्वीटमा पूर्व प्रधानमन्त्री भट्टराइले ‘भर्खर औद्योगीकरणको युगमा प्रवेश गरेको नेपाल’ भनेर यसै बृहत परिदृश्य र परिवर्तित संरचना तर्फ संकेत गर्न खोजेको देखिन्छ । र, यसको प्रमुख सरोकारवाला संस्था भएको नाताले अबको परिवर्तित औद्योगीक संरचनामा नेपाललाई कहाँ र कसरी उभ्याउने भनेर राष्ट्रिय स्तरमा बहस चलाउने, दिशानिर्देश गर्ने र त्यसको नेतृत्व लिने तर्फ महासंघका नयाँ पदाधिकारीहरु सचेत छन् त ?
अहिले स्थानीय निकायको चुनाव भइसकेको छ । नयाँ संविधान बनिसकेको छ । तर, परिर्वतित यो अवस्थामा समेत महासंघले आफूलाई सान्दर्भिक बनाउन र मुलुकको शक्तिशाली सरोकारवाला संस्था बन्नको लागि व्यापक रुपमा बहस गर्न सकेको छैन ।
दुःखको कुरा, उम्मेदवारहरुको घोषणापत्र हेर्दा भने उनीहरुको यसतर्फ सचेत ढंगले सोचेको र अबको विश्वमा नेपालको अर्थतन्त्र, उद्योग र व्यवसायलाई कहाँ उभ्याउने भनेर भिजन निर्माण गरेको भने अहिलेसम्म देख्न सकिएको छैन ।
आफ्नै खुट्टामा उभिने विषय
भट्टराईले महासंघलाई आफ्नै खुट्टामा उभिन सक्ने शक्ति प्राप्त होस् भनेर शुभकामना पनि दिएका छन् । यसको मतलब के हो भने भट्टराईको विचारमा महासंघ अझै आफ्नो खुट्टामा उभिन सकेको छैन ।
कुनै पनि संस्था आफ्नै खुट्टामा उभिनका लागि समाजमा संस्थाको सान्दर्भिकता हुनुपर्यो । संस्थाले समाजमा आउने व्यापक परिर्वतनहरुका बीच आफ्नो विचारलाई प्रष्ट पार्नुपर्यो र संगठनलाई पनि चुस्त बनाउनुपर्यो ।
महासंघ पञ्चायतकालमा स्थापना भएको संस्था हो । त्यो राजनीतिक व्यवस्थामा सबैभन्दा शक्तिशाली संस्था भनेको राजतन्त्र थियो भने समाजका अन्य संस्थाहरु राजसंस्थालाई राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा बलियो पार्नका लागि मात्र केन्द्रित थिए । त्यस विपरीत विचार राख्ने संस्थाहरुको पञ्चायतकालमा अस्तित्व नै संभव थिएन ।
त्यसकारण अन्य सबै संस्था झै महासंघ पनि पञ्चायतकालमा आफ्नै खुट्टामा उभिन सक्ने कुरै भएन ।
बहुदल आएपछि महासंघ राष्ट्रिय डबलीमा देखिन थाल्यो । यसका नेतृत्वकर्ताहरु पनि अखबारका पानाहरुमा आउन थाले । सरकार र त्यसका नेतृत्वकर्ताहरुले पनि ‘निजी क्षेत्र सरकारबाट के सुन्न चाहन्छ ?’ भनेर सोध्न थाले ।
तर, राजनीतिक रुपमा मात्र सामन्तवादको अन्त्य भएको र समाजमा भने मोटामोटि उही रुपमा विद्यमान रहेको हुनाले त्यो समयमा पनि निजी क्षेत्र बलियो रुपमा आफ्नै खुट्टामा उभिन सकेन ।
त्यसपछिको द्धन्द्धकाल र अहिलेको समयमा त महासंघले आफ्नो थोरबहुत साख समेत बाँकी राख्न सकेन । लामोसमयसम्म स्थानिय निकायको चुनाव नभएका हुनाले महासंघ जिल्ला जिल्लाका राजनीतिक कार्यकर्ताको राजनीति गर्ने डबली भइदियो । त्यसले महासंघ वैचारिक रुपमा च्युत भयो भने गलत मानिसहरुको प्रवेशले सांगठनिक रुपमा पनि कमजोर भयो ।
अहिले स्थानीय निकायको चुनाव भइसकेको छ । नयाँ संविधान बनिसकेको छ । तर, परिर्वतित यो अवस्थामा समेत महासंघले आफूलाई सान्दर्भिक बनाउन र मुलुकको शक्तिशाली सरोकारवाला संस्था बन्नको लागि व्यापक रुपमा बहस गर्न सकेको छैन ।
नेपालको संविधानमा समाजवादउन्मुख व्यवस्था भनिएको छ । समाजवाद भनेको अर्थ–राजनीतिक अवधारणा हो । तर, नेपालको समाजवाद भनेको कस्तो हो भनेर राजनीतिक दलहरुले राम्रोसँग व्याख्या गर्न सकेका छैनन् ।
यसैलाई मौकाको रुपमा लिई निजी क्षेत्रको समेत बलियो सहभागिता हुनेखालको समाजवादको व्याख्या गर्न त परै जाओस् त्यो खाले बहस गरेर आफ्नो हैसियत स्थापित गर्न सकिन्छ भनेर यो संस्था र यसको नेतृत्वककर्ताहरुले सुईंको समेत नपाएको देखिन्छ ।
अहिले नवनिर्वाचित पदाधिकारीहरुको घोषणा पत्र हेर्दा उनीहरुले उठाएका मुद्दाहरु एकदमै प्राविधिक खाले देखिएका छन् । तर, नेपाल जटिल र संक्रमणले जेलिएको देश हो । यहाँ विषयहरुको प्राविधिक हल गर्ने बेला अझै भइसकेको छैन । समस्याहरुलाई बृहत राजनीतिक र सामाजिकरुपमा नपर्गेली सुखै छैन ।
वैचारिक बहस गर्न रुचाउने पूर्व प्रधानमन्त्रीले आफ्नै खुट्टामा उभिनको लागि दिएको शुभकामना सायद यसै विषयसँग सम्बन्धित छ ।
अब ट्वीट मार्फत बधाई खाने नवनिर्वाचित पदाधिकारीहरुले त्यो ट्वीटलाई सामान्य बधाई सन्देशको रुपमा मात्र ग्रहण गरे कि उनले संकेत गरेका गम्भिर विषयहरुको पनि भेउ पाए, त्यो त उनीहरुले नै बुझुन् ।